सबै प्रकारका भेदभाव बिर्सेर विकसित हरियाणा निर्माणको सङ्कल्प गरौँ: मुख्यमन्त्री सैनी
हरियाणा के मुख्यमंत्री नायब सैनी


चण्डीगढ, 0१ नोभेम्बर (हि.स.)। हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनीले राज्यको स्थापना दिवसका अवसरमा प्रदेशवासीलाई शुभकामना दिँदै आपसी भेदभाव बिर्सेर विकसित हरियाणा निर्माणको सङ्कल्प लिन आह्वान गरेका छन्।

१ नोभेम्बर, १९६६ मा पञ्जाबबाट अलग भएर स्थापना भएको हरियाणाले आइतबार आफ्नो स्थापनाको ६० वर्ष पूरा गरेको छ। यससँगै राज्य हीरक जयन्ती वर्षमा प्रवेश गरेको छ।

यस अवसरमा प्रदेशवासीका नाममा जारी भिडियो सन्देशमा मुख्यमन्त्री सैनीले हरियाणाको स्थापनाका लागि सङ्घर्ष गर्ने तथा आधुनिक राज्य निर्माणमा योगदान पुर्याउने व्यक्तित्वहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्।

उनले १९६६ मा स्थापना हुँदा हरियाणा अत्यन्त पछौटे राज्य रहेको स्मरण गर्दै यसलाई आधुनिक तथा विकसित राज्य बनाउन किसान, मेहनती मजदुर, उद्योगपति, व्यापारी र खेलाडीहरूको महत्त्वपूर्ण योगदान रहेको बताए। विगत ६० वर्षको उपलब्धिलाई फर्केर हेर्दा सानो भूभाग भएको राज्यले हासिल गरेका सफलताप्रति गर्व लाग्ने उनको भनाइ थियो।

मुख्यमन्त्रीले हरियाणा अहिले भारतका तीव्र गतिमा विकास भइरहेका राज्यहरूमध्ये एक बनेको उल्लेख गर्दै यहाँका उपलब्धिको चर्चा देशभित्र मात्र नभई विदेशमा समेत भइरहेको बताए।

उनका अनुसार, हीरक जयन्ती आत्ममूल्याङ्कन गर्ने र उज्ज्वल भविष्यको योजना तयार गर्ने अवसर हो। प्रधानमन्त्री नरेन्द्र मोदीको २०४७ सम्म विकसित भारत निर्माण गर्ने परिकल्पना साकार पार्न हरियाणाले अझ बढी योगदान पुर्याउनु राज्यको लक्ष्य रहेको उनले बताए।

अन्त्यमा मुख्यमन्त्री सैनीले हीरक जयन्तीका अवसरमा सबै प्रकारका भेदभावभन्दा माथि उठेर विकसित तथा समृद्ध हरियाणा निर्माणका लागि एकजुट हुन प्रदेशवासीलाई आग्रह गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande