
नयाँ दिल्ली, 0१ नोभेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न नेताहरूले आइतबार आन्ध्र प्रदेश, अण्डमान तथा निकोबार द्वीप समूह, चण्डीगढ, छत्तीसगढ, दिल्ली, हरियाणा, कर्नाटक, केरल, लक्षद्वीप, मध्य प्रदेश, पुडुचेरी, पञ्जाब र तमिलनाडुका जनतालाई राज्य तथा केन्द्रशासित प्रदेश स्थापना दिवसको हार्दिक शुभकामना दिएका छन्।
राष्ट्रपति मुर्मुले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत शुभकामना व्यक्त गर्दै यी राज्य तथा केन्द्रशासित प्रदेशहरूले आफ्नो समृद्ध सांस्कृतिक सम्पदा र विविध परम्पराका माध्यमबाट भारतको प्रगतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन्। उनले सम्बन्धित राज्य तथा केन्द्रशासित प्रदेशका जनताको समृद्धि र कल्याणको कामना गरेकी छन्।
उपराष्ट्रपति राधाकृष्णनले प्रत्येक राज्य आफ्नो विशिष्ट सांस्कृतिक सम्पदा, जीवन्त परम्परा तथा देशको प्रगतिमा पुर्याएको अमूल्य योगदानका कारण समृद्ध रहेको बताएका छन्। यी राज्यहरू विकास, समृद्धि र समावेशी प्रगतिको मार्गमा निरन्तर अघि बढ्दै ‘विकसित भारत’ को परिकल्पना साकार पार्न योगदान पुर्याउने विश्वास उनले व्यक्त गरेका छन्।
प्रधानमन्त्री मोदीले तमिलनाडुका मेहनती र उद्यमशील जनताले भारतको प्रगतिमा उत्कृष्ट योगदान पुर्याएको बताएका छन्। उत्पादन, मोटरगाडी, कपडा, विद्युतीय उपकरण, अन्तरिक्ष प्रविधि, स्वास्थ्य सेवा तथा नयाँ उद्योगका क्षेत्रमा राज्यले नवप्रवर्तन, सीप र औद्योगिक उत्कृष्टतामार्फत आफ्नो विशिष्ट पहिचान स्थापित गरेको उनले उल्लेख गरेका छन्। तमिलनाडुका जनता आफ्नो सांस्कृतिक पहिचान र परम्पराप्रति गर्व गर्ने बताउँदै उनले तमिल संस्कृतिले भारतको सभ्यतागत यात्रालाई विभिन्न रूपमा समृद्ध बनाएको बताएका छन्। स्थापना दिवसले राज्यका प्रत्येक नागरिकका लागि आगामी दिनमा खुसी, सफलता र नयाँ अवसर ल्याउने कामना पनि उनले गरेका छन्।
हरियाणाबारे शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले गौरवशाली इतिहास, अदम्य साहस र समृद्ध संस्कृतिले सुसज्जित यस राज्यलाई देशको गौरव बताएका छन्। यहाँका लोकपरम्परा र जीवन्त ग्रामीण संस्कृतिले भारतको सांस्कृतिक सम्पदालाई सधैँ समृद्ध बनाएको उनको भनाइ छ। कृषि, खेलकुद, रक्षा सेवा, उद्योग, शिक्षा तथा नयाँ उद्यमका क्षेत्रमा हरियाणाका जनताले आफ्नो मेहनत र दृढ सङ्कल्प प्रमाणित गरेको उल्लेख गर्दै उनले यहाँका खेलाडीले राष्ट्रिय झण्डाको गौरव बढाइरहेको र किसानले देशको खाद्य सुरक्षालाई मजबुत बनाइरहेको बताएका छन्।
रक्षामन्त्री राजनाथ सिंहले समृद्ध सभ्यतागत सम्पदा, जीवन्त संस्कृति र परम्पराले सम्पन्न आन्ध्र प्रदेश तथा त्यहाँका जनताले भारतको प्रगतिमा महत्त्वपूर्ण योगदान पुर्याएको बताएका छन्। जनताको मेहनत, उद्यमशीलता र आकाङ्क्षाले राज्यको विकास यात्रालाई निरन्तर आकार दिइरहेको उल्लेख गर्दै उनले आन्ध्र प्रदेश विकास, समृद्धि र सबै नागरिकका लागि नयाँ अवसरको मार्गमा अघि बढिरहने विश्वास व्यक्त गरेका छन्।
केन्द्रिय गृहमन्त्री तथा सहकारितामन्त्री अमित शाहले मनमोहक प्राकृतिक सौन्दर्य र अपार मानवीय क्षमताले सम्पन्न केरलले भारतको गौरव बढाएको बताएका छन्। राज्य निरन्तर प्रगति र समृद्धिको दिशामा अघि बढिरहोस् भन्ने कामना उनले गरेका छन्। साथै, आन्ध्र प्रदेशका प्रतिभाशाली जनताको मेहनत, सीप र समर्पणका कारण राज्य समृद्धितर्फ अघि बढ्नुका साथै देशको विकासमा पनि महत्त्वपूर्ण योगदान पुर्याउन सफल भएको उनले उल्लेख गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी