
नयाँ दिल्ली, 0१ नोभेम्बर (हि.स.)। चाँदनी चोकका भाजपा सांसद तथा कन्फेडरेसन अफ अल इन्डिया ट्रेडर्स (क्याट) का राष्ट्रिय महासचिव प्रवीण खण्डेलवालले कांग्रेस नेता राहुल गान्धीको बयानप्रति कड़ा प्रतिक्रिया व्यक्त गरेका छन्। राहुल गान्धीले विपक्षी गठबन्धनको र्यालीमा सहभागी हुन आउने मानिसहरूले दिल्लीका बजारमा किनमेल समेत गर्ने र यसबाट व्यापारीहरूलाई नोक्सान नहुने बताएका थिए।
आइतवार जारी गरिएको एक भीडियोमा खण्डेलवालले यस्तो बयान दिएर राहुल गान्धीले दिल्लीका व्यापारीहरूको खिल्ली उड़ाएको आरोप लगाए। दिल्लीका बजारलाई उपभोक्ता र ग्राहक आवश्यक रहेको, राजनीतिक भीड़ नभएको उनको भनाइ थियो। राहुलको टिप्पणी दिल्लीको व्यापारी समुदायमाथि गरिएको क्रूर मजाक सरह रहेको उनले बताए।
व्यापारीहरूको जीविकोपार्जन कुनै राजनीतिक प्रयोगशाला नभएको उल्लेख गर्दै उनले पहिले बजारको कारोबार प्रभावित पार्ने र त्यसपछि र्यालीमा सहभागी भीड़ले किनमेल गरेर नोक्सानीको क्षतिपूर्ति गर्ने तर्क गर्नु उचित नभएको बताए। र्यालीमा सहभागी व्यक्ति राजनीतिक उद्देश्यले आउने भएकाले उनीहरू किनमेल गर्न आउने होइनन् भन्ने उनको भनाइ थियो।
खण्डेलवालले दिल्लीका व्यापारीहरूको हितलाई राजनीतिक बयानबाजीसँग जोड्न नहुने पनि बताए। बजारको वास्तविक आवश्यकता ग्राहकहरूको नियमित आवागमन र व्यापारिक गतिविधिको सहज सञ्चालन रहेको उनले उल्लेख गरे।
हिन्दुस्थान समाचार / भवानी थामी