
गाजियाबाद, 0१ नोभेम्बर (हि.स.)। समाजवादी पार्टीका नेता तथा उत्तर प्रदेश सरकारका पूर्व क्याबिनेट मन्त्री आजम खानलाई प्रवर्तन निदेशनालय (ईडी) ले आइतवार गाजियाबाद स्थित विशेष धनशोधन निवारण एक्ट (पीएमएलए) अदालतमा पेश गरेको छ। उनको पेशीलाई ध्यानमा राख्दै अदालत परिसरमा कड़ा सुरक्षा व्यवस्था गरिएको थियो।
पत्रकारहरूले यस विषयमा केही भन्न चाहनुहुन्छ कि भनेर सोध्दा आजम खानले निराशा र असहाय भावमा ‘अब के बोल्नु छ र’ भन्ने प्रतिक्रिया दिए। यसबीच समाजवादी पार्टीका केही नेताहरू पनि अदालत परिसर पुगेका थिए।
दुईवटा प्यान कार्ड सम्बन्धी मुद्दामा इलाहाबाद उच्च अदालतबाट जमानत पाएपछि शनिवार साँझ रामपुर जेलबाट रिहा भएका आजम खानलाई ईडीले तत्कालै हिरासतमा लिएको थियो। आइतवार उनलाई पीएमएलए अदालतमा पेश गरिएको हो। यो मुद्दा मौलाना मोहम्मद अली जौहर विश्वविद्यालय तथा त्यससँग सम्बन्धित जौहर ट्रस्टमा भएको कथित आर्थिक अनियमितता र धनशोधनको अनुसन्धानसँग सम्बन्धित छ।
ईडीले यसअघि नै विश्वविद्यालयको करोड़ौं रुपियाँ मूल्य बराबरको सम्पत्ति जफत गरिसकेको छ। अहिले सोधपुछका लागि आजम खानलाई आफ्नो हिरासतमा राख्न अनुमति दिन अदालत समक्ष माग गरिएको छ। हाल ईडीको हिरासत माग सम्बन्धी निवेदनमाथि सुनवाइ भइरहेको छ। अदालतले माग अस्वीकार गरेमा आजम खानलाई गाजियाबाद स्थित डासना जेलमा न्यायिक हिरासतमा पठाउन सकिनेछ।
यस घटनाक्रमप्रति समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले कड़ा प्रतिक्रिया व्यक्त गरेका छन्। उनले सत्तापक्षले राजनीतिक प्रतिशोधको भावनाले कारबाही गरेको आरोप लगाएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी