
गान्तोक, 0१ नोभेम्बर (हि.स.)। लगातार दुई दिनसम्म परेको वर्षापछि आइतबार बिहान सिक्किममा घमाइलो मौसम देखिएपछि स्थानीयवासीले राहतको अनुभूति गरेका छन्। बिहानैदेखि आकाश खुलेर घाम लाग्दा चिसो शीतकालीन बिहानीको आभास भएको छ। तिहार अर्थात् उज्यालोको पर्वको स्वागतसँगै मौसममा आएको सुधारले मानिसहरूमा नयाँ उत्साह थपेको छ।
चक्रवात ‘अर्णव’ को प्रभावका कारण लगातार दुई दिनसम्म भएको वर्षाले सिक्किमका विभिन्न क्षेत्रलाई प्रभावित बनाएको थियो। वर्षाका कारण जनजीवन प्रभावित हुनुका साथै विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूको आयोजनामा समेत बाधा पुगेको थियो।
गान्तोकस्थित रिज पार्कमा आयोजित दोस्रो सिक्किम कला तथा साहित्य महोत्सव पनि वर्षाबाट प्रभावित भयो। त्यसैगरी, ३१ अक्टोबरमा गान्तोकको पाल्जोर स्टेडियममा आयोजना हुने तय भएको चर्चित नेपाली सांगीतिक समूह 'नेपथ्य' को प्रस्तुति पनि प्रतिकूल मौसमका कारण स्थगित गरी १ नोभेम्बरका लागि सारिएको थियो।
आज बिहानैदेखि मौसम खुलेर घाम लागेपछि नेपथ्यको सांगीतिक प्रस्तुतिको प्रतीक्षामा रहेका दर्शकहरूमा उत्साह बढेको छ। साँझ हुने भनिएको यस बहुप्रतीक्षित कार्यक्रममा सहभागी हुन स्थानीयवासी तथा बाहिरबाट आएका सङ्गीतप्रेमीहरू उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन्।
दुई दिनको निरन्तर वर्षापछि खुलेको मौसमले दीपावलीको उल्लासलाई थप रौनक दिएको छ भने गान्तोकमा आज साँझ हुने नेपथ्यको प्रस्तुति सांगीतिक माहोलको अर्को आकर्षण बन्ने अपेक्षा गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल