
गान्तोक, 01 नोभेम्बर (हि.स.)। सिक्किम गुरुङ युथको ब्यानरमा राजधानी लगायत राज्यका विभिन्न ठाउॅंमा विविध कार्यक्रमहरू आयोजना भइरहेका छन्। यसै क्रममा आज राजधानीमा मिस तमुस्योका लागि अडिसन सम्पन्न भयो।
कार्यक्रमबारे जानकारी दिँदै संस्थाकी अध्यक्ष सरिता गुरुङले मिस तमुस्यो प्रतियोगिताका लागि गेजिङ र नाम्ची अडिसन सम्पन्न भइसकेको र आज गान्तोकमा अडिसन सम्पन्न भएको बताइन्। उनका अनुसार, अक्टोबर २९ मा गेजिङ र ३० अक्टोबरमा नाम्चीमा अडिसन सम्पन्न भएको थियो। तीनवटै स्थानबाट क्रमशः ६, १२ र २० गरी कुल ३८ जना प्रतियोगीले सहभागिता जनाइरहेका छन्। अडिसन पूरा भएपछि छनोट भएका प्रतियोगीहरू मेगा राउन्डमा प्रवेश गर्नेछन्।
यसैबीच, आजदेखि रिन्चेनपोङको श्रीबदममा खैँजडी र कौडासम्बन्धी कार्यशाला शुरु गरिएको उनले बताइन्। अध्यक्ष गुरुङले भोलिदेखि देन्ताममा टुङ्ना वादनसम्बन्धी कार्यशाला सञ्चालन शुरू जानकारी दिइन्। यसै क्रममा भेडी गोठबारे छुबा, याङगाङमा कार्यक्रम आयोजना गरिनेछ। साथै, यसै सातादेखि राजधानीमा भाषासम्बन्धी १५ दिने कार्यशाला पनि शुरु गरिने अध्यक्ष गुरुङले जानकारी दिएकी छन्।
उनले यी सबै कार्यक्रमको समापन आगामी २२ नोभेम्बर, २०२६ मा गान्तोकस्थित रिज पार्कमा गर्ने तय गरिएको भए पनि केही कारणवश स्थान परिवर्तन गरी मनन केन्द्रमा आयोजना गरिने भएको अवगत गराइन्।
मिस तमुस्योमा मुख्य अतिथिका रूपमा उपस्थित सिक्किम सरकारका सेवानिवृत्त सचिव एसके गुरुङले पहिलेको तुलनामा अहिले मानिसहरू आफ्ना जाति, भाषा र संस्कृतिबारे धेरै जागरुक बन्न थालेकोमा खुशी व्यक्त गरे। उनले गुरुङ समुदाय बाहुल क्षेत्रमा गुरुङ शिक्षकहरू पनि नियुक्त भइरहेका छन् भनी बताए। उनले निकट भविष्यमा महाविद्यालय र विश्वविद्यालय स्तरमा पनि गुरुङ भाषाको पठनपाठन शुरू हुने विश्वास व्यक्त गरे।
उनले आह्वान गर्दै भने, 'हामीले गुरुङ जातिलाई आफ्नो ह्रदयमा राख्नुपर्छ, तर नेपालीत्वलाई भुल्नु हुॅंदैन।' उनले नेपालीत्वको भावनाले हामी सबै जातगोष्ठिलाई एकताको सूत्रमा बॉंधेर राख्ने काम गर्छ भनी बताए।
हिन्दुस्थान समाचार / बिशाल