
नाम्ची, ०1 नोभेम्बर (हि.स.)। सिक्किम साहसिक पर्यटन महोत्सव 2026 आइतवार औपचारिक रूपमा शुरु भएको छ। यस अवसरमा सिक्किमबाट सात सदस्यीय बञ्जी जम्पिङ टोलीलाई नेपालमा बञ्जी जम्पिङसम्बन्धी अनुभव ग्रहण गर्न तथा तालिमका लागि पठाइएको छ। पर्यटन तथा नागरिक उड्डयन विभागको यो पहल स्थानीय विज्ञता अभिवृद्धि गर्ने र साहसिक पर्यटनको क्षेत्रमा क्षमता विकास गर्ने उद्देश्यले अघि सारिएको हो।
यससँगै एक सातासम्म चल्ने महोत्सवको शुरुआत भएको छ, जसको मुख्य उद्देश्य साहसिक पर्यटनको प्रवर्द्धन गर्नु र यस क्षेत्रमा नयाँ अवसरहरूको खोजी गर्नु रहेको छ। उक्त टोलीलाई विधायक तथा विद्युत्विभागका सल्लाहकार सञ्जीत खरेलले झण्डा हल्लाएर बिदाइ गरे र टोलीका सदस्यहरूलाई शुभकामना दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै विधायक तथा सल्लाहकार सञ्जीत खरेलले नामथाङ-रातेपानीमा सिक्किमको पहिलो साहसिक पर्यटन महोत्सव आयोजना गरेकोमा मुख्यमन्त्री तथा पर्यटन र नागरिक उड्डयन विभागप्रति आभार व्यक्त गरे। उनले यसलाई यस क्षेत्र र राज्यकै लागि एक कोसेढुङ्गाको रूपमा वर्णन गरे।
उनले यस क्षेत्रमा सड़क सुधारलगायतका विकासमूलक पहलहरूबारे चर्चा गर्नुका साथै यस क्षेत्रका लागि भविष्यका पर्यटन योजनाहरूबारे पनि प्रकाश पारे।
साहसिक पर्यटनका लागि यस क्षेत्रमा रहेको प्रचुर सम्भावनालाई जोड़ दिँदै उनले र्याफ्टिङ, जोर्बिङ, प्यारासेलिङ, मोटोक्रस रेशिङ र जङ्गल एड्भेञ्चरजस्ता गतिविधिहरूले विभिन्न सरकारी विभागहरूको सहयोगमा स्थानीय युवा तथा समग्र समुदायका लागि नयाँ अवसरहरू सिर्जना गरिरहेको बताए।
मुख्य अतिथि तथा अन्य विशिष्ट अतिथिले कार्यक्रम स्थलमा राखिएका विभिन्न पसलको अवलोकन गर्नुका साथै ‘जायन्ट भलिबल’ र ‘मोटोक्रस रेसिङ’ जस्ता गतिविधिहरूको पनि औपचारिक शुरुआत गरे।
मुख्य अतिथिका साथमा विधायक तथा पर्यटन एवं नागरिक उड्डयन विभागका सल्लाहकार सुदेशकुमार सुब्बा, एसटीडीसीका अध्यक्ष लुकेन्द्र रसाइली, पर्यटन तथा नागरिक उड्डयन विभागका आयुक्त तथा सचिव राज यादव, पर्यटन तथा नागरिक उड्डयन विभागका प्रधान मुख्य अभियन्ता तथा सचिव नीरज प्रधान र पर्यटन तथा नागरिक उड्डयन विभागका अन्य पदाधिकारी तथा अधिकारीहरूको उपस्थिति रहेको थियो। सिक्किम साहसिक पर्यटन महोत्सव 2026’ 1 देखि 7 नोभेम्बरसम्म नाम्ची जिल्लाको नामथाङस्थित लिन्खिम टारमा आयोजना हुँदैछ। एक सातासम्म चल्ने यस महोत्सवमा विभिन्न साहसिक पर्यटन गतिविधि र प्रदर्शनहरू समावेश गरिएका छन्।
सप्ताहव्यापी यस कार्यक्रममा हट एयर बेलुन, रिभर र्याफ्टिङ, प्याराग्लाइडिङ, प्यारासेलिङ, जोर्बिङ र एटीभी राइडिङजस्ता गतिविधिहरू समावेश छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल