
पाकिम, 01 नोभेम्बर (हि.स.)। सिक्किम साहसिक पर्यटन महोत्सव २०२६ अन्तर्गत ‘प्रकृतिसँगै दौडौँ, हिमालयसँगै दौडौँ’ नाराका साथ आज नाथाङ भ्यालीमा नाथाङ भ्यालीका जीवन्त गाउँ म्याराथन आयोजना गरियो।
पर्यटन विभागले स्पोर्टिभको सहकार्यमा आयोजना गरेको यस म्याराथनको उद्देश्य साहसिक पर्यटन प्रवर्द्धन गर्नुका साथै खेलभावनालाई प्रोत्साहन गर्नु रहेको थियो। यसले सहभागीहरूलाई हिमाली प्राकृतिक पर्यावरण र चुनौतीपूर्ण उच्च भूभागमा आफ्नो शारीरिक क्षमता तथा सहनशीलता परीक्षण गर्ने अवसर प्रदान गरेको थियो।
म्याराथनमा २१ किलोमिटर, १० किलोमिटर र ५ किलोमिटर गरी तीन विधा समावेश थिए। दौडको प्रारम्भ तथा समापन नाथाङ गाउँको खेलमैदानमा गरिएको थियो। प्रतियोगितामा देशका विभिन्न स्थानबाट आएका धावकहरूले सहभागिता जनाएका थिए।
दौडका लागि कुपुपतर्फ १०.५ किलोमिटरको लूप मार्ग निर्धारण गरिएको थियो, जसमा उकालो र ओरालो दुवै खण्ड समावेश थिए। समुद्री सतहबाट करिब ३ हजार ७७८ मिटरको उचाइबाट शुरु भएको मार्ग अधिकतम ४ हजार ९७ मिटरको उचाइसम्म पुगेको थियो। यस क्रममा कुल उचाइमा करिब ४८० मिटरको वृद्धि रहेको थियो।
२१ किलोमिटर विधाका सहभागीहरूले १०.५ किलोमिटरको मार्ग दुईपटक पूरा गरेका थिए भने १० र ५ किलोमिटर विधाका धावकहरूले निर्धारित मार्गअनुसार क्रमशः ५ र २.५ किलोमिटर दूरी तय गरेका थिए।
सहभागीहरूको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै मार्गका २.५, ५, ७, ९ र १०.५ किलोमिटर दूरीमा पानी तथा जलपान केन्द्र स्थापना गरिएको थियो। भारत तिब्बत सीमा पुलिस बलको ६३औँ बटालियनले आवश्यक जलपान तथा सहयोग उपलब्ध गराएको थियो। साथै, सम्पूर्ण मार्गमा चिकित्सकीय सहायता सुनिश्चित गरिएको थियो भने कार्यक्रमस्थलमा चिकित्सकीय टोली र निर्धारित स्थानहरूमा प्राथमिक उपचारको व्यवस्था गरिएको थियो।
म्याराथनको समापनसँगै पुरस्कार वितरण समारोह आयोजना गरियो। कार्यक्रममा विभिन्न विधाका विजेता तथा सहभागीहरूलाई सम्मान गरिएको थियो। समारोहमा पर्यटन विभागका अधिकारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा धावकहरूको उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / बिशाल