
काजीरङ्गा (असम), १४ नोभेम्बर (हि.स.)। असमको काजीरङ्गामा भएको भीषण सडक दुर्घटनामा मृतकको सङ्ख्या बढेर २६ पुगेको छ। शनिबार बिहान उपचारका क्रममा जोरहाट मेडिकल कलेज तथा अस्पताल (जेएमसीएच) मा एक युवतीको मृत्यु भएपछि मृतकको सङ्ख्या बढेको हो। मृतक युवतीको पहिचान लक्ष्मी माझीका रूपमा भएको छ।
दुर्घटनामा ज्यान गुमाउने २६ जनामध्ये २३ जनाको पहिचान भइसकेको छ। पहिचान हुनेहरूमा दीपाञ्जली रङफार्पि, ज्योति माझी, अनुराग गोवाला, दामिनी घटोवाल, बेबी कर्मकार, दर्पना माझी, सुभाष दास, चालक अब्दुल मजिद, पूर्णिमा गोवाला, अब्दुल रसीद अली, फैजुल इस्लाम, फरहाना यास्मिन, सुनील भूमिज, हाइजुल इस्लाम, रञ्जिता घटोवाल, मोहम्मद रफिक, गङ्गा गोवाला, मोहम्मद अली, फारुक अहमद, गोलापी बेगम, मीना मिराज, दीपक गुरुङ र शनिबार बिहान मृत्यु भएकी लक्ष्मी माझी रहेका छन्।
शुक्रबार असमको काजीरङ्गा राष्ट्रिय निकुञ्जनजिकै मिनी बस र कन्टेनर ट्रक एकापसमा ठोक्किँदा उक्त भीषण दुर्घटना भएको थियो। दुर्घटनामा २६ जनाको मृत्यु भएको छ भने घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ।
दुर्घटनामा शुक्रबार घटनास्थल र गोलाघाट जिल्लाको कहरा अस्पतालमा २३ जनाको मृत्यु भएको थियो। त्यसैगरी, जेएमसीएचमा शुक्रबार रातिसम्म दुई जना र शनिबार बिहान एक युवतीको मृत्यु भएको हो।
जेएमसीएचमा सात जना गम्भीर घाइतेको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको बताइएको छ। यद्यपि, अस्पतालमा उपचाररत घाइतेहरूको कुल सङ्ख्याबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन। अपुष्ट स्रोतका अनुसार, जेएमसीएचमा करिब २० जना घाइते भर्ना भएका थिए।
शनिबार बिहान असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले गोलाघाटको रङ्गाजनस्थित दुर्घटनास्थलको भ्रमण गर्ने कार्यक्रम रहेको छ। मुख्यमन्त्रीले सबै घाइतेको उच्चस्तरीय उपचार सुनिश्चित गर्न आवश्यक कदम चाल्न निर्देशन दिएका छन्।
दुर्घटनामा मृत्यु भएका करिब २३ जनाको शव गोलाघाट जिल्ला अस्पतालमा राखिएको छ। उनीहरूको शनिबार पोस्टमार्टम गरिनेछ। पोस्टमार्टमका लागि गुवाहाटीबाट चिकित्सकहरूको टोलीसमेत गोलाघाट पुगेको बताइएको छ। यस दर्दनाक घटनाले सम्पूर्ण राज्यमा शोकको वातावरण सिर्जना गरेको छ।
यसैबीच, विभिन्न राजनीतिक दल तथा सङ्घसंस्थाहरूले राष्ट्रिय राजमार्गको मर्मतसम्भारमा ध्यान नदिएको भन्दै राष्ट्रिय राजमार्ग प्रशासनको आलोचना गरेका छन्। राजमार्ग विभागले ठाउँठाउँमा शुल्क सङ्कलन गरिरहेको भए पनि सडक मर्मतका लागि आवश्यक कदम नचालेको स्थानीयहरूको आरोप छ।
हिन्दुस्थान समाचार / भवानी थामी