लोकसभा अध्यक्ष ओम बिरला १७ नोभेम्बरमा बेङ्गलुरुमा राष्ट्रमण्डल महिला सांसदहरूको क्षेत्रीय सम्मेलन उद्घाटन गर्ने
लोकसभा अध्यक्ष ओम बिरला


नयाँ दिल्ली, १५ नोभेम्बर (हि.स.)। लोकसभा अध्यक्ष ओम बिरलाले १७ नोभेम्बरमा बेङ्गलुरुमा राष्ट्रमण्डल महिला सांसदहरूको भारत क्षेत्रीय सम्मेलनको उद्घाटन गर्नेछन्। दुईदिने यस सम्मेलनमा महिला जनप्रतिनिधिहरूको डिजिटल सहभागिता, साइबर सुरक्षा, विधायी क्षमता अभिवृद्धि तथा नयाँ महिला सांसदहरूलाई मार्गदर्शन गर्ने सम्बन्धी महत्त्वपूर्ण विषयहरूमा विचार-विमर्श हुनेछ। सम्मेलनको समापन १८ नोभेम्बरमा कर्नाटककी राज्यपाल डा. सुधा यादवको सम्बोधनसँगै हुनेछ।

लोकसभा सचिवालयद्वारा आयोजना गरिने यो सम्मेलन कर्नाटक विधानसभा परिसरस्थित विधान सौधमा हुनेछ। सम्मेलनको विषय ‘बलियो आधार, अझ् सशक्त आवाज : समावेशी साइबर संसार र नयाँ महिला विधायकहरूका लागि मार्गदर्शनका उपायहरू’ राखिएको छ। उद्घाटन सत्रमा कर्नाटकका मुख्यमन्त्री डीके शिवकुमारले मुख्य सम्बोधन गर्नेछन्। राज्यसभाका उपसभापति हरिवंश, कर्नाटकका उपमुख्यमन्त्री डा. जी. परमेश्वर, कर्नाटक विधानसभा अध्यक्ष जीएस पाटिल तथा राष्ट्रमण्डल महिला सांसदहरूको भारत क्षेत्रकी अध्यक्ष दग्गुबाती पुरन्देश्वरीले पनि आफ्ना विचार प्रस्तुत गर्नेछन्।

कर्नाटक विधान परिषदका सभापति सलीम अहमदले स्वागत मन्तव्य दिनेछन् भने उपसभापति डा. उमाश्रीले धन्यवाद प्रस्ताव प्रस्तुत गर्नेछिन्। सम्मेलनमा संसदका साथै विभिन्न राज्य तथा केन्द्रशासित प्रदेशका विधानसभाका महिला सदस्यहरू र अन्य विशिष्ट व्यक्तिहरू सहभागी हुनेछन्।

सम्मेलनका क्रममा दुई वटा पूर्ण सत्र आयोजना गरिनेछन्। पहिलो सत्र १७ नोभेम्बरमा ‘महिलाको डिजिटल सशक्तीकरण : सुरक्षित साइबर संसार र विवेकपूर्ण विकल्प’ विषयमा हुनेछ। यसमा डिजिटल माध्यमहरूमा महिलाहरूको सुरक्षित, प्रभावकारी तथा सचेत सहभागिता सुनिश्चित गर्ने उपायहरूबारे छलफल गरिनेछ।

दोस्रो पूर्ण सत्र १८ नोभेम्बरमा ‘महिला विधायकहरूको क्षमता अभिवृद्धि र मार्गदर्शन’ विषयमा आयोजना हुनेछ। यसमा महिला जनप्रतिनिधिहरूको विधायी क्षमता सुदृढ़ बनाउने तथा विशेषगरी नयाँ महिला विधायकहरूलाई मार्गदर्शन र सहयोग उपलब्ध गराउने उपायहरूबारे विचार-विमर्श गरिनेछ। यस बाहेक संयुक्त राष्ट्रसंघीय महिला निकाय (यूएन वुमन) भारतको तर्फबाट १७ नोभेम्बरमा रजोनिवृत्ति विषयमा विशेष सत्र आयोजना गरिनेछ। यसमा महिलाको स्वास्थ्य, कल्याण र मर्यादासँग सम्बन्धित विभिन्न पक्षहरूबारे छलफल हुनेछ।

सम्मेलनको समापन १८ नोभेम्बरमा कर्नाटककी राज्यपाल डा. सुधा यादवको सम्बोधनसँगै हुनेछ। समापन सत्रमा कर्नाटकका मुख्यमन्त्री, राज्यसभाका उपसभापति तथा कर्नाटक विधान परिषदका सभापतिले पनि सम्बोधन गर्नेछन्। यसैगरी, राष्ट्रमण्डल महिला सांसदहरूको भारत क्षेत्रकी अध्यक्षले सम्मेलनका निष्कर्षबारे आफ्नो मन्तव्य प्रस्तुत गर्नेछिन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande