बङ्गालको खाड़ीमा चक्रवाती आँधीको खतरा, आन्ध्र प्रदेशदेखि ओडिशासम्म भारी वर्षाको चेतावनी
प्रतीकात्मक


- उत्तर भारतमा चिसो बढ्ने, दिल्ली - एनसीआरमा कुहिरोको प्रभाव तीव्र हुने

- तमिलनाडु, पुडुचेरी, झारखण्ड र छत्तीसगढ़मा पनि भारी वर्षाको चेतावनी

नयाँ दिल्ली, १५ नोभेम्बर (हि.स.)। देशको मौसममा एकैसाथ विभिन्न ठूला परिवर्तनहरू देखिन थालेका छन्। उत्तर भारतमा चिसो र कुहिरोको प्रभाव बढ्न थालेको छ भने बङ्गालको खाड़ीमा विकसित भइरहेको मौसमी प्रणाली चक्रवाती आँधीमा परिणत हुने दिशामा अघि बढ़िरहेको छ। यस कारण दक्षिण र पूर्वी भारतका धेरै राज्यहरूमा भारीदेखि अत्यधिक भारी वर्षा हुने सम्भावना छ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले विभिन्न राज्यहरूका लागि वर्षा, तीव्र हावा तथा आँधीबेहरीलाई लिएर चेतावनी जारी गरेको छ। आईएमडी अनुसार, दक्षिण-पूर्वी बङ्गालको खाड़ीमाथि बनेको स्पष्ट न्यून चापीय क्षेत्र अहिले गहिरो न्यून चापीय क्षेत्र हुँदै चापीय क्षेत्रमा परिणत भएको छ। यो सोमवार दक्षिण तथा त्यससँग जोड़िएको पश्चिम-मध्य बङ्गालको खाड़ीमाथि चक्रवाती आँधीमा परिणत हुने सम्भावना छ। त्यसपछि मङ्गलवार पश्चिम-मध्य बङ्गालको खाड़ीमाथि पुगेर यसले गम्भीर चक्रवाती आँधीको रूप लिने अनुमान गरिएको छ। यो मौसमी प्रणाली निरन्तर उत्तर-पश्चिम दिशातर्फ अघि बढ्दै आन्ध्र प्रदेशको तटतर्फ जाने सम्भावना व्यक्त गरिएको छ।

यस मौसमी प्रणालीको प्रभावका कारण तटीय क्षेत्रमा प्रतिघण्टा ५० देखि ७० किलोमिटरको गतिमा तीव्र हावा चल्नसक्छ। समुद्रको अवस्था प्रतिकूल रहने तथा तटीय क्षेत्रमा तीव्र हावासँगै भारी वर्षा हुने सम्भावनालाई ध्यानमा राख्दै सम्बन्धित राज्यहरूमा सतर्कता अपनाउन आवश्यक छ।

राष्ट्रिय राजधानी दिल्ली र वरपरका क्षेत्रमा बिहान तथा रातिको समय चिसो महसुस हुन थालेको छ। मौसम विभागको पूर्वानुमान अनुसार, १६ र १७ नोभेम्बरमा बिहान अधिकांश क्षेत्रमा हल्का तुवाँलो तथा केही स्थानमा मध्यम कुहिरो लाग्न सक्छ। यस अवधि अधिकतम तापक्रम २५ देखि २८ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १३ देखि १६ डिग्री सेल्सियसबीच रहने अनुमान छ।

१८ नोभेम्बरमा कुहिरोको प्रभाव अझ् बढ्नसक्छ। यस अवधि केही क्षेत्रमा मध्यम कुहिरो लाग्ने सम्भावना छ। न्यूनतम तापक्रम घटेर १२ देखि १४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। यसले बिहान र रातिको समय चिसोको प्रभाव अझ् बढ़ाउन सक्छ।

चक्रवाती आँधीको सम्भावित प्रभावलाई ध्यानमा राख्दै दक्षिण भारतका धेरै राज्यहरूमा वर्षाको चेतावनी जारी गरिएको छ। तटीय आन्ध्र प्रदेश र यनममा १९ र २० नोभेम्बरमा भारी वर्षा हुने सम्भावना छ। केही स्थानमा अत्यधिक भारी वर्षा पनि हुनसक्छ।

तमिलनाडु, पुडुचेरी र कराईकलमा १८ र १९ नोभेम्बरमा धेरै क्षेत्रमा भारीदेखि अत्यधिक भारी वर्षा हुने अनुमान छ। यस अवधि प्रतिघण्टा ४० देखि ६० किलोमिटरको गतिमा तीव्र हावा चल्नसक्छ। अण्डमान तथा निकोबार द्वीप समूहमा १६ देखि १९ नोभेम्बरबीच व्यापक रूपमा वर्षा हुनुका साथै तीव्र हावा चल्ने सम्भावना छ।

पूर्वी भारतका राज्यहरूमा पनि चक्रवाती आँधीको प्रभाव देखिन सक्छ। ओडिशामा १९ देखि २१ नोभेम्बरबीच अत्यधिक भारी वर्षाको चेतावनी जारी गरिएको छ। राज्यका तटीय क्षेत्रमा प्रतिघण्टा ५० देखि ७० किलोमिटरको गतिमा तीव्र हावा चल्नुका साथै आँधीबेहरी आउने सम्भावना छ।

पश्चिम बङ्गालका गङ्गाको मैदानी क्षेत्रमा १९ र २० नोभेम्बरमा भारी वर्षा हुनसक्छ। झारखण्डमा भने २० र २१ नोभेम्बरमा केही स्थानमा भारी वर्षा हुने अनुमान छ।

पूर्वोत्तर भारतका मिजोरम र त्रिपुरामा १९ नोभेम्बरका दिन भारी वर्षाको चेतावनी दिइएको छ। यस बाहेक नागाल्याण्ड, मणिपुर र असमका केही स्थानमा हल्कादेखि मध्यम वर्षासँगै आँधीबेहरी आउने सम्भावना छ।

मध्य भारतका राज्यहरूमा पनि मौसमको अवस्था परिवर्तन हुनसक्छ। १९ देखि २१ नोभेम्बरबीच छत्तीसगढ़, मध्य प्रदेश र विदर्भका केही भागमा वर्षा हुने सम्भावना छ। छत्तीसगढ़मा २० र २१ नोभेम्बरमा केही स्थानमा भारी वर्षा हुनसक्छ।

मौसम विभागको पूर्वानुमान अनुसार, बङ्गालको खाड़ीमा विकसित भइरहेको चक्रवाती प्रणालीले आगामी केही दिनमा दक्षिण तथा पूर्वी भारतको मौसमलाई व्यापक रूपमा प्रभावित गर्नसक्छ। यस्तो अवस्थामा तटीय क्षेत्रका साथै भारी वर्षाको सम्भावना रहेका राज्यका बासिन्दाहरूलाई सतर्क रहन सल्लाह दिइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande