गोवामा नोभेम्बर २० देखि २४ सम्म वेव्स फिल्म बजारको २०औँ संस्करण आयोजना हुने
गोवामा नोभेम्बर २० देखि २४ सम्म वेव्स फिल्म बजारको २०औँ संस्करण आयोजना हुने


नयाँ दिल्ली, १५ नोभेम्बर (हि.स.)। भारतीय सिनेमालाई अन्तरराष्ट्रिय बजारसँग जोड्ने तथा फिल्म निर्माताहरूलाई निर्माण, वित्तपोषण र वितरणका नयाँ अवसर उपलब्ध गराउने उद्देश्यले वेव्स फिल्म बजारको २०औँ संस्करण नोभेम्बर २० देखि २४ सम्म गोवामा आयोजना हुने भएको छ। यसको आयोजना ५७औँ भारतीय अन्तरराष्ट्रिय फिल्म महोत्सव (आईएफएफआई) सँगै ताज सिडाडे डी गोवा होराइजनमा गरिनेछ।

राष्ट्रिय फिल्म विकास निगम (एनएफडीसी) द्वारा सन् २००७ मा दक्षिण एसियाली कथाहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले शुरु गरिएको फिल्म बजारले अहिले अन्तरराष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गरिसकेको छ। यो फिल्म निर्माता, निर्माता, लगानीकर्ता, वितरक, बिक्री प्रतिनिधि तथा फिल्म महोत्सवका छनोटकर्ताहरूलाई एउटै मञ्चमा ल्याउने महत्त्वपूर्ण माध्यम बनेको छ। अहिले वेव्स फिल्म बजारका नामबाट सञ्चालित यस मञ्चले दक्षिण एशियाली सिनेमालाई अन्तरराष्ट्रिय बजार तथा दर्शकमाझ पुर्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।

वेव्स फिल्म बजारका प्रमुख पहलहरूमा सह-निर्माण बजार, एनएफडीसी पटकथा लेखक प्रयोगशाला तथा निर्माणाधीन फिल्म प्रयोगशाला समावेश छन्। सह-निर्माण बजार अन्तर्गत छनोट गरिएका फिचर फिल्म तथा वृत्तचित्रहरूलाई अन्तरराष्ट्रिय निर्माता, वित्तपोषण उपलब्ध गराउने संस्था तथा लगानीकर्ताहरूसँग जोड़िने अवसर प्रदान गरिन्छ। त्यस्तै, पटकथा लेखक प्रयोगशाला मार्फत उदीयमान लेखन प्रतिभाहरूलाई प्रोत्साहन गरिन्छ। निर्माणाधीन फिल्म प्रयोगशालामा फिल्म निर्माताहरूले आफ्ना परियोजनालाई अझ् उत्कृष्ट बनाउन विशेषज्ञहरूबाट मार्गदर्शन प्राप्त गर्छन्।

यस बाहेक भ्युइङ रुम, बजार स्क्रिनिङ तथा निर्माता प्रयोगशाला मार्फत फिल्म उद्योगसँग सम्बन्धित व्यक्तिहरूलाई आपसी सम्पर्क विस्तार, परियोजना विकास तथा सम्भावित खरिदकर्ता र वितरकहरूसम्म पहुँच स्थापित गर्ने अवसर उपलब्ध गराइन्छ। ज्ञान शृङ्खला अन्तर्गत उद्योग क्षेत्रका विशेषज्ञहरूले वितरण, व्यावसायिक मोडल, उदीयमान प्रवृत्ति तथा अन्तरराष्ट्रिय सहकार्य जस्ता विषयमा छलफल गर्नेछन्। आयोजनामा विभिन्न देश तथा राज्यका पेभिलियन, प्रविधि प्रदर्शनी तथा बजार स्टलहरू पनि राखिनेछन्।

फिल्म बजारले विगतका वर्षहरूमा धेरै चर्चित फिल्महरूलाई अन्तरराष्ट्रिय पहिचान दिलाउन तथा तिनको यात्रा अगाड़ी बढ़ाउन महत्त्वपूर्ण योगदान पुर्याएको छ। यसमा ‘शिप अफ थिसियस’ (२०१२), ‘अन्हे घोड़े दा दान’ (२०११), ‘मिस लभ्ली’ (२०१२), ‘द लन्चबक्स’ (२०१३), ‘लायर डाइस’ (२०१३), ‘कोर्ट’ (२०१४), ‘न्यूटन’ (२०१७), ‘मन्तो’ (२०१८), ‘फायर इन द माउन्टेन्स’ (२०२१), ‘गर्ल्स विल बी गर्ल्स’ (२०२४), ‘शेप अफ मोमो’ (२०२६) तथा ‘लिटिल थोमस’ (२०२६) जस्ता फिल्महरू समावेश छन्।

एनएफडीसीले हालसम्म २१ वटा क्षेत्रीय भाषाका ३०० भन्दा बढ़ी फिल्मलाई वित्तीय सहयोग समेत प्रदान गरिसकेको छ। तीमध्ये धेरै फिल्मले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय पहिचान हासिल गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande