
नयाँ दिल्ली, १४ नोभेम्बर (हि.स.)। केन्द्रिय वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयल १५ र १६ नोभेम्बरमा इजिप्टको आधिकारिक भ्रमणमा रहनेछन्। यस अवधिमा उनले भारत-इजिप्ट संयुक्त व्यापार समितिको सातौँ बैठकको सह-अध्यक्षता गर्नेछन्। भ्रमणका क्रममा दुवै देशबीच व्यापार तथा लगानी वृद्धि गर्नुका साथै औद्योगिक सहकार्यलाई सुदृढ़ बनाउने विषयमा छलफल हुनेछ। उनीसँगै १३० भन्दा बढ़ी उद्योग प्रमुख तथा स्टार्टअप प्रतिनिधिहरू सम्मिलित उच्चस्तरीय भारतीय व्यावसायिक प्रतिनिधिमण्डल पनि इजिप्ट जानेछ।
केन्द्रिय वाणिज्य तथा उद्योग मन्त्रालय अनुसार, कायरोमा १५ नोभेम्बरमा हुने संयुक्त व्यापार समितिको बैठकको सह-अध्यक्षता पीयूष गोयल र इजिप्टका लगानी तथा विदेश व्यापारमन्त्री डा. मोहम्मद फरीद सालेहले गर्नेछन्। यस समितिलाई मन्त्रीस्तरमा स्तरोन्नति गरिएको छ। बैठकमा द्विपक्षीय व्यापार तथा लगानी सम्बन्धको प्रगतिको समीक्षा गर्नुका साथै व्यापारको दायरा विस्तार र विविधीकरण गर्ने उपायहरूबारे छलफल हुनेछ।
बैठकमा बजार पहुँच, गैर-शुल्क अवरोध, व्यापार उपचार, कृषि तथा खाद्य उत्पादन, औषधि तथा स्वास्थ्य सेवा, इन्जिनियरिङ सामग्री, रसायन तथा पेट्रोकेमिकल, मलखाद, कपडा, सूक्ष्म, लघु तथा मध्यम उद्यम, भन्सार सहकार्य, सेवा क्षेत्र, नवीकरणीय ऊर्जा, हरित हाइड्रोजन, यातायात तथा लजिस्टिक्स जस्ता विषयहरू समावेश हुनेछन्।
दुवै देशबीच अप्रेलदेखि सेप्टेम्बर २०२६ सम्म वस्तुको द्विपक्षीय व्यापार ५.०४ अरब अमेरिकी डलर पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६४ प्रतिशत बढ़ी हो। आर्थिक वर्ष २०२५-२६ मा भारतले इजिप्टमा ३.८७ अर्ब डलरको निर्यात गरेको थियो भने इजिप्टबाट २.६० अरब डलरको आयात गरेको थियो। भारतका प्रमुख निर्यातमा मासु तथा कुखुराजन्य उत्पादन, पेट्रोलियम पदार्थ, जैविक रसायन, कपास र मेसिनरी समावेश छन्। त्यस्तै, इजिप्टबाट कच्चा पेट्रोलियम, मलखाद, कपास तथा खनिजजन्य उत्पादन प्रमुख रूपमा आयात गरिन्छ।
भ्रमणका क्रममा भारत–-इजिप्ट संयुक्त व्यापार परिषद्को बैठक तथा भारत-इजिप्ट व्यापार मञ्चको पनि आयोजना हुनेछ। यसमा दुवै देशका व्यावसायिक प्रतिनिधिहरूले व्यापार तथा लगानी वृद्धि, संयुक्त उद्यम स्थापना, प्रविधि साझेदारी र औद्योगिक सहकार्यका सम्भावनाहरूबारे छलफल गर्नेछन्। भारतीय प्रतिनिधिमण्डलमा विभिन्न क्षेत्रका १३० भन्दा बढ़ी प्रमुख कार्यकारी अधिकारी तथा वरिष्ठ उद्योग प्रतिनिधिहरू सहभागी हुनेछन्।
पीयूष गोयलले इजिप्टका वरिष्ठ मन्त्रीहरूसँग द्विपक्षीय बैठकहरू पनि गर्नेछन्। यस बाहेक उनले अफ्रिकी निर्यात-आयात ब्याङ्क (अफ्रेक्सिमब्याङ्क), इजिप्टको जुनियर बिजनेस एसोसिएशन तथा इजिप्ट-भारत स्टार्टअप फोरमका प्रतिनिधिहरूसँग भेटघाट गर्नेछन्। भारत-इजिप्ट स्टार्टअप फोरममा नयाँ व्यापार, लगानी तथा संयुक्त उद्यमका अवसरहरूबारे विचारविमर्श गरिनेछ।
दुवै पक्षले स्वेज नहर आर्थिक क्षेत्र, औद्योगिक विकास, उत्पादनमूलक उद्योग, पूर्वाधार, बन्दरगाह, लजिस्टिक्स तथा क्षेत्रीय आपूर्ति शृङ्खलामा सहकार्यका सम्भावनाहरूबारे पनि छलफल गर्नेछन्। इजिप्टको भौगोलिक अवस्थिति भारतीय कम्पनीहरूका लागि अफ्रिका, पश्चिम एसिया तथा युरोपका बजारसम्म पहुँच स्थापित गर्ने अवसरका रूपमा रहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी