भारतले अफ्रिका–एशियासँग कृषि सहयोग अझ् सुदृढ़ बनाउने प्रतिबद्धता दोहोर्यायो
बैठक में बोलते हुए


नयाँ दिल्ली, १४ नोभेम्बर (हि.स.)। भारतले अफ्रिका र एशियाली देशहरूसँग कृषि अनुसन्धान, आधुनिक कृषि प्रविधिको आदान-प्रदान तथा क्षमता अभिवृद्धिका क्षेत्रमा सहयोगलाई अझ् सुदृढ़ बनाउने प्रतिबद्धता दोहोर्याएको छ। जाम्बियाको राजधानी लुसाकामा १२ देखि १४ नोभेम्बरसम्म आयोजित अफ्रो–एशियन रुरल डेभलपमेन्ट अर्गनाइजेसन (एएआरडीओ) को प्राविधिक कार्यक्रम समिति (टीपीसी) को सातौँ बैठकमा भारतका तर्फबाट कृषि क्षेत्रमा अन्तरराष्ट्रिय सहयोग विस्तार गर्न विशेष जोड दिइयो।

बैठकका क्रममा भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर) र एएआरडीओबीच लामो समयदेखि हुँदै आएको सहकार्यका उपलब्धिहरूलाई पनि उजागर गरियो। आईसीएआरका सहायक महानिदेशक (अन्तरराष्ट्रिय सम्बन्ध) डा. नवीन पी. सिंहले एएआरडीओसँग आईसीएआरको १७ वर्ष लामो साझेदारी अन्तर्गत परिषद्का ११ संस्था मार्फत हालसम्म ५१ वटा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको जानकारी दिए। यी कार्यक्रमबाट एएआरडीओका सदस्य राष्ट्रका ९०० भन्दा बढ़ी सहभागी लाभान्वित भएका छन्। यो सहकार्यले कृषि क्षेत्रमा ज्ञान, सीप र आधुनिक प्रविधिको आदान-प्रदानलाई प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।

बैठकको एउटा प्रमुख आकर्षण आईसीएआर र एएआरडीओबीच प्रस्तावित समझदारीपत्र (एमओयू) रहेको थियो। यसको उद्देश्य हाल सञ्चालन भइरहेका प्रशिक्षण गतिविधिभन्दा अघि बढ़ेर आठ वटा प्राथमिकताका क्षेत्रमा सहयोग विस्तार गर्नु हो। यस अन्तर्गत संयुक्त कृषि अनुसन्धान, विशेषज्ञहरूको आदान-प्रदान, वनस्पति आनुवंशिक स्रोतहरूको साझा उपयोग, कृषि प्रविधि हस्तान्तरण तथा शैक्षिक सहकार्य जस्ता गतिविधिलाई प्रोत्साहन गरिनेछ। यसबाट दुवै क्षेत्रका देशहरूले कृषि अनुसन्धान तथा नवाचारका क्षेत्रमा एकअर्काको अनुभव र विशेषज्ञताको लाभ उठाउने अवसर प्राप्त गर्नेछन्।

आईसीएआरले यस साझेदारीलाई व्यवस्थित र परिणाममुखी बनाउन विस्तृत कार्ययोजना (रोडम्याप) पनि प्रस्ताव गरेको छ। यसमा राष्ट्रिय समन्वय केन्द्रहरूको पहिचान तथा स्थापना, संयुक्त कार्ययोजना निर्माण, साल २०२७ का लागि प्रशिक्षण कार्यक्रमको कार्यतालिका तयार गर्ने तथा सहकार्यको प्रगतिको समय-समयमा समीक्षा गर्न संयुक्त कार्य समूह गठन गर्ने विषय समावेश छन्।

आईसीएआर र एएआरडीओबीच नवीकरण गरिएको साझेदारीको व्यापक उद्देश्य भारतका कृषि नवाचारहरू, वैज्ञानिक उपलब्धि तथा संस्थागत विशेषज्ञतालाई अफ्रिका र एशियाली देशहरूसँग साझा गर्नु हो। यस मार्फत जलवायु परिवर्तन लगायत विभिन्न चुनौतीको सामना गर्न सक्षम तथा सुदृढ़ कृषि प्रणालीको विकास, ग्रामीण जीविकोपार्जनलाई मजबुत बनाउने र कृषि क्षेत्रमा दक्षिण–दक्षिण सहकार्यलाई गति दिने प्रयास गरिनेछ।

यो साझेदारी भारत तथा अफ्रिका–एशियाली देशहरूबीच कृषि अनुसन्धान, प्राविधिक नवाचार, मानव संसाधन विकास र ज्ञानको आदान-प्रदानका लागि व्यापक सहयोग मञ्च तयार गर्ने दिशामा महत्त्वपूर्ण पहल हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande