राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न नेताहरूले ‘जनजातीय गौरव दिवस’ को शुभकामना दिए
प्रतीकात्मक


नयाँ दिल्ली, १५ नोभेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति सीपी राधाकृष्णन तथा प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न नेताहरूले आइतबार ‘धरती आबा’ बिरसा मुण्डाको जयन्तीका अवसरमा देशवासीहरूलाई ‘जनजातीय गौरव दिवस’ को हार्दिक शुभकामना दिएका छन्।

राष्ट्रपति मुर्मुले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, “यो दिन हाम्रो समृद्ध जनजातीय विरासत तथा राष्ट्रप्रति जनजातीय समुदायहरूको ऐतिहासिक योगदानलाई स्मरण गर्ने अवसर हो। समावेशी विकासको मार्गमा अघि बढ्दै सबै देशवासीले हाम्रो यस अमूल्य विरासतलाई संरक्षण गर्नेछन् भन्ने मलाई आशा छ।”

उपराष्ट्रपति राधाकृष्णनले बिरसा मुण्डाले ब्रिटिस शासनविरुद्ध जनजातीय समुदायको नेतृत्व गर्दै उनीहरूको अधिकार, सम्मान तथा पहिचानका लागि सङ्घर्ष गरेको बताएका छन्। उनको ‘उलगुलान’ (विद्रोह) को आह्वानले स्वतन्त्रता र न्यायको लडाइँलाई सशक्त आवाज दिएको उनले उल्लेख गरेका छन्। यस दिन भारतको स्वतन्त्रता सङ्ग्राम तथा राष्ट्र निर्माणमा जनजातीय समुदायहरूको अमूल्य योगदानलाई स्मरण गरिने पनि उनले बताएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले ‘धरती आबा’ को अदम्य साहस, सङ्घर्ष र बलिदानले देशका प्रत्येक पुस्तालाई आत्मसम्मान, स्वतन्त्रता तथा अधिकारको रक्षाका लागि प्रेरित गरिरहने बताएका छन्। उनीबाट प्रेरणा लिँदै भाजपा सरकारले जनजातीय समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सम्मान, अवसर र समृद्धि सुनिश्चित गर्न कुनै कसर बाँकी नराखेको पनि उनले बताएका छन्।

लोकसभा अध्यक्ष ओम बिरलाले बिरसा मुण्डाको जीवन त्याग, तपस्या, सङ्घर्ष तथा जनसेवाको प्रेरणादायी गाथा रहेको बताएका छन्। यसले आगामी पुस्तालाई देशभक्ति, सामाजिक सद्भाव तथा न्यायका मूल्यहरूतर्फ सधैँ प्रेरित गरिरहने उनले उल्लेख गरेका छन्। बिरसा मुण्डाको अतुलनीय योगदान भारतीय इतिहासको अमूल्य धरोहर रहेको बताउँदै उनले उनका आदर्शले सबैलाई जनजातीय समाजको गरिमा, अधिकार तथा सर्वाङ्गीण विकासप्रति प्रतिबद्ध रहन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

रक्षामन्त्री राजनाथ सिंहले बिरसा मुण्डाको जीवन तथा उनका आदर्शले आगामी पुस्तालाई अन्यायविरुद्ध उभिन, आफ्नो संस्कृतिप्रति गर्व गर्न तथा राष्ट्रप्रतिको कर्तव्य निर्वाह गर्न सधैँ प्रेरित गरिरहने बताएका छन्।

केन्द्रिय गृह तथा सहकारितामन्त्री अमित शाहले भगवान् बिरसा मुण्डाले जनजातीय समुदायमा आत्मसम्मान र जागरूकताको भावना जगाएको बताएका छन्। आफ्नो संस्कृति तथा मातृभूमिको रक्षाका लागि ‘उलगुलान आन्दोलन’ मार्फत उनले ब्रिटिस शासनविरुद्ध क्रान्तिको आह्वान गरेको शाहले उल्लेख गरेका छन्। उनको जीवनले राष्ट्रको कल्याणका लागि एकजुट हुन तथा त्याग र समर्पणको भावना अपनाउन निरन्तर प्रेरित गर्ने पनि उनले बताएका छन्।

केन्द्रिय सडक परिवहन तथा राजमार्गमन्त्री नितिन गडकरीले राष्ट्रका महान् सपूत भगवान् बिरसा मुण्डाको जीवन वीरता र साहसको प्रतीक रहेको बताएका छन्। आफ्ना कार्य तथा दूरदर्शितामार्फत उनले समाजलाई नयाँ दिशा प्रदान गरेको गडकरीले उल्लेख गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande