अरुणाचल प्रदेशको नामसाई पुग्यो भगवान बुद्धको पवित्र अस्थी, २० नोभेम्बरसम्म श्रद्धालुले दर्शन गर्न पाउने
अरुणाचल प्रदेश के बोमडिला से नामसाई स्थित गोल्डन पैगोडा ले जाते हुए भगवान बुद्ध की पवित्र अस्थि


नयाँ दिल्ली, १५ नोभेम्बर (हि.स.)। भगवान बुद्धको पवित्र अस्थी १४ नोभेम्बर अरुणाचल प्रदेशको नामसाईस्थित गोल्डेन प्यागोडा पुगेको छ। राज्यमा यसको प्रदर्शनको यो तेस्रो तथा अन्तिम चरण हो। राज्यपाल लेफ्टिनेन्ट जनरल कैवल्य त्रिविक्रम परनाइक (सेवानिवृत्त) ले नामसाईमा पवित्र अस्थीको स्वागत गरे। श्रद्धालुहरूले २० नोभेम्बरसम्म गोल्डेन प्यागोडामा यसको दर्शन गर्न सक्नेछन्।

केन्द्रिय संस्कृति मन्त्रालयका अनुसार, नालुङ हेलिप्याडमा औपचारिक रूपमा ग्रहण गरेपछि पवित्र अस्थीलाई गोल्डेन प्यागोडा (कोङमु खाम) मा स्थापित गरिएको थियो। यस अवसरमा उपमुख्यमन्त्री चौना मिन, राज्यका मन्त्रीहरू, जनप्रतिनिधिहरू तथा बौद्ध धर्मगुरुहरूको उपस्थिति रहेको थियो। त्यसपछि राज्यपालले प्रदर्शनीको उद्घाटन गरे।

राज्यपालले पवित्र अस्थी भगवान बुद्धको जीवन, ज्ञान प्राप्ति तथा उहाँका शाश्वत शिक्षाहरूको प्रतीक रहेको बताए। सङ्घर्ष, असहिष्णुता र हिंसाको वर्तमान समयमा शान्ति, करुणा, ज्ञान तथा अहिंसाको बुद्ध सन्देश विशेष महत्त्वपूर्ण रहेको उनले बताए। उनले मानिसहरूलाई यी मूल्यहरू आफ्नो जीवनमा आत्मसात् गर्दै सद्भाव र पारस्परिक सम्मानमा आधारित समाज निर्माण गर्न आह्वान गरे।

यस अवसरमा गोल्डेन प्यागोडाको ध्यान केन्द्रमा दुईवटा विशेष प्रदर्शनीको पनि उद्घाटन गरियो। अन्तर्राष्ट्रिय बौद्ध महासङ्घद्वारा आयोजित ‘अनअर्थिङ द सेक्रेड पिपरहवा : द स्टोरी अफ द होली बुद्धा रेलिक्स एन्ड देयर डिस्कभरी’ प्रदर्शनीमा उत्तर प्रदेशको पिपरहवामा भएका पुरातात्त्विक खोज तथा बुद्धको पवित्र अस्थिधातुको ऐतिहासिक र आध्यात्मिक महत्त्वलाई प्रस्तुत गरिएको छ। यसमा पिपरहवा रत्न सङ्ग्रहको यात्रा तथा एक शताब्दीभन्दा बढी समयपछि सन् २०२५ मा त्यसलाई भारत फिर्ता ल्याइएको विषयसमेत समेटिएको छ।

त्यसैगरी, नयाँ दिल्लीस्थित राष्ट्रिय सङ्ग्रहालयद्वारा तयार पारिएको दोस्रो प्रदर्शनी ‘क्रसरोड्स अफ धम्मा : क्लासिकल लेगेसीज, लिभिङ आर्ट एन्ड एन्थ्रोपोलोजिकल पर्सपेक्टिभ्स’ मा बौद्ध धर्मको कला, इतिहास तथा सांस्कृतिक सम्पदालाई प्रस्तुत गरिएको छ।

यसअघि पश्चिम कामेङ जिल्लाको बोमडिलास्थित थुबचोग गात्सेल लिङ गुम्बामा नोभेम्बर ८ देखि १३ तारिखसम्म छदिने प्रदर्शनी आयोजना गरिएको थियो। यस अवधिमा ३५ हजारभन्दा बढी श्रद्धालुले पवित्र अस्थीको दर्शन गरेका थिए। यसअघि अक्टोबर ३१ देखि नोभेम्बर ७ तारिखसम्म तवाङ गुम्बामा आयोजित प्रदर्शनीमा ३१ हजारभन्दा बढी श्रद्धालु पुगेका थिए। यसरी तवाङ र बोमडिलामा गरी कुल ६६ हजारभन्दा बढी मानिसले दर्शन गरेका छन्।

अरुणाचल प्रदेशमा पवित्र अस्थीको प्रदर्शनी १३ वर्षको अन्तरालपछि आयोजना भइरहेको हो। नामसाईमा नोभेम्बर १४ देखि २० तारिखसम्म दर्शनका लागि राखेपछि पवित्र अस्थीलाई नोभेम्बर २१ तारिख नयाँ दिल्लीस्थित राष्ट्रिय सङ्ग्रहालयमा फिर्ता लैजाने कार्यक्रम रहेको छ।

/ बिशाल


 rajesh pande