राष्ट्रपति तथा विभिन्न नेताहरूले महापर्व छठका अवसरमा देशवासीलाई शुभकामना दिए
प्रतीकात्मक


नयाँ दिल्ली, १५ नोभेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति सीपी राधाकृष्णन तथा रक्षामन्त्री राजनाथ सिंहसहित विभिन्न नेताहरूले आइतबार महापर्व छठको पावन अवसरमा सम्पूर्ण भारतीयहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रपति मुर्मुले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, “लोकआस्थाको महापर्व छठको पावन अवसरमा म भारत तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण भारतीयहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।”

उपराष्ट्रपति राधाकृष्णनले आफ्नो सन्देशमा जनआस्था, श्रद्धा, आत्मअनुशासन तथा प्रकृतिप्रतिको कृतज्ञताको प्रतीक यस महापर्वले सेवा, समर्पण र सामाजिक सद्भावका मूल्यहरू सिकाउने बताएका छन्। छठी माताको उपासनाको यस पवित्र पर्वले सबैको जीवनमा सुख, शान्ति, उत्तम स्वास्थ्य तथा समृद्धि ल्याओस् भन्ने कामना पनि उनले गरेका छन्।

लोकसभा अध्यक्ष ओम बिरलाले यस पर्वलाई आस्था, तपस्या, अनुशासन तथा प्रकृतिप्रतिको कृतज्ञताको अद्भुत सङ्गम बताएका छन्। अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने यस परम्पराले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता तथा भारतीय संस्कृतिप्रतिको गहिरो आस्था दर्शाउने उनले उल्लेख गरेका छन्।

यस महान् पर्वले सबैलाई आत्मसंयम, पवित्रता, सामूहिक सहभागिता तथा पारिवारिक मूल्यहरूको महत्त्व स्मरण गराउने बताउँदै उनले कठोर व्रत तथा अटुट आस्थाका साथ यस अनुष्ठानको पालना गर्ने सम्पूर्ण छठ व्रतालुहरूको निष्ठाप्रति सम्मान व्यक्त गरेका छन्।

रक्षामन्त्री राजनाथ सिंहले आज आस्था, भक्ति तथा श्रद्धाको महापर्व छठको तेस्रो दिन रहेको बताएका छन्। आज साँझ अस्ताउँदो सूर्यदेवलाई अर्घ्य अर्पण गरी पूजा-अर्चना गरिने उल्लेख गर्दै उनले भगवान् सूर्य तथा छठी माताको आशीर्वाद सबैमाथि कायम रहोस् र सबैको जीवन सुख, शान्ति तथा उत्तम स्वास्थ्यले परिपूर्ण होस् भन्ने कामना गरेका छन्।

केन्द्रिय कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानले भगवान् सूर्य तथा छठी माताको आशीर्वादले प्रत्येक घर-आँगन अन्न र धनले परिपूर्ण होस् भन्ने कामना गरेका छन्। सबैको जीवनमा सुख, समृद्धि, कल्याण तथा आनन्दको वास होस्, सबैले उन्नति गरून् र सबैका मनोकामना पूरा होऊन् भन्ने प्रार्थना पनि उनले गरेका छन्।

केन्द्रिय कपडामन्त्री गिरिराज सिंहले आस्थाको यस महापर्वमा भगवान् सूर्य तथा छठी मातासँग सबैको जीवनमा सुख, शान्ति, समृद्धि तथा उत्तम स्वास्थ्यको आशीर्वाद कायम रहोस् भनी प्रार्थना गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande