

नयाँ दिल्ली, १५ नोभेम्बर (हि.स.)। केन्द्रिय वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयल भारत-इजिप्ट रणनीतिक साझेदारीलाई सुदृढ़ बनाउनुका साथै द्विपक्षीय व्यापार तथा लगानी सम्बन्ध विस्तार गर्ने उद्देश्यले १४ नोभेम्बरमा कायरो पुगेका छन्। उनीसँगै १३० भन्दा बढी उद्योग प्रतिनिधि तथा नवप्रवर्तनशील उद्यम (स्टार्टअप) को प्रतिनिधिमण्डल पनि इजिप्ट पुगेको छ।
केन्द्रिय वाणिज्य तथा उद्योग मन्त्रालयका अनुसार, भ्रमणका क्रममा गोयलले कायरोस्थित हेलियोपोलिस युद्ध समाधिस्थलमा भारतीय सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। यस समाधिस्थलमा समाधिस्थ वा स्मरण गरिएका ४ हजार सैनिकमध्ये ३ हजार ७२७ जना भारतीय थिए। तीमध्ये करिब २ हजार सैनिकले प्रथम विश्वयुद्ध र लगभग १ हजार ७०० सैनिकले दोस्रो विश्वयुद्धका क्रममा आफ्नो जीवन गुमाएका थिए।
गोयलले इजिप्टमा भारतीय समुदाय सङ्घद्वारा आयोजित कार्यक्रममा पनि सहभागिता जनाउँदै भारतीय समुदायका सदस्यहरूसँग भेटघाट गरेका छन्। उनले भारत र इजिप्टबीच करिब ६.५ अरब अमेरिकी डलरको द्विपक्षीय व्यापार यी दुई प्राचीन सभ्यताबीचको साझेदारीको शुरुवात मात्र भएको बताएका छन्।
उनका अनुसार, इजिप्टमा करिब ७० वटा भारतीय कम्पनी सञ्चालनमा छन्। यी कम्पनीहरूको कुल लगानी ५ अरब अमेरिकी डलरभन्दा बढी रहेको छ। यसबाट इजिप्टका नागरिकहरूले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरिरहेका छन्। उनले भारतीय समुदायलाई दुवै देशबीचको जीवन्त सेतुका रूपमा व्याख्या गरेका छन्।
भ्रमणका क्रममा भारत-इजिप्ट संयुक्त व्यापार समितिको सातौँ बैठक, संयुक्त व्यापार परिषद्को बैठक तथा भारत-इजिप्ट व्यापार मञ्च आयोजना गरिनेछ। संयुक्त व्यापार समितिको बैठक १५ नोभेम्बरमा कायरोमा हुनेछ। यसको सहअध्यक्षता पीयूष गोयल र इजिप्टका लगानी तथा विदेश व्यापारमन्त्री डा. मोहम्मद फरीद सालेहले गर्नेछन्।
कार्यक्रमअन्तर्गत इजिप्टका वरिष्ठ मन्त्रीहरूसँग द्विपक्षीय बैठक, प्रमुख उद्योग प्रतिनिधिहरूसँग छलफल तथा अफ्रिकी निर्यात-आयात ब्याङ्क (अफ्रेक्सिम ब्याङ्क), इजिप्ट जुनियर बिजनेसपर्सन्स एसोसिएसन र इजिप्ट-भारत स्टार्टअप मञ्चसँग पनि बैठकहरू आयोजना गरिनेछन्। यी बैठकहरूमा व्यापार तथा लगानीसम्बन्धी विषयहरूको समीक्षा गर्नुका साथै व्यावसायिक साझेदारीका नयाँ अवसरहरूको खोजी गरिनेछ।
भारत र इजिप्टबीचको सम्बन्ध ऐतिहासिक, सभ्यतागत तथा जनस्तरको सम्पर्कका आधारमा विकसित भएको हो। दुवै देशले आफ्नो साझेदारीलाई रणनीतिक स्तरसम्म पुर्याएका छन्। यस भ्रमणको उद्देश्य व्यापार, लगानी तथा औद्योगिक विकासका क्षेत्रमा आपसी सहयोगलाई थप विस्तार गर्नु रहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी