
नयाँ दिल्ली, १५ नोभेम्बर (हि.स.)। राष्ट्रिय इलेक्ट्रोनिकी तथा सूचना प्रविधि संस्थान (नाइलिट) ले १६ र १७ नोभेम्बरमा यहाँ साइबर सुरक्षा, डिजिटल फरेन्सिक र सम्बन्धी तेस्रो राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। डा. अम्बेडकर अन्तर्राष्ट्रिय केन्द्रमा आयोजना हुने यस सम्मेलनको विषयवस्तु ‘साइबर सुरक्षित भारत : भारतको डिजिटल भविष्यलाई सुदृढ बनाउनु’ रहेको छ।
इलेक्ट्रोनिकी तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत आयोजना हुने यस सम्मेलनमा सरकार, कानून कार्यान्वयन गर्ने निकाय, रक्षा, न्यायपालिका, प्रविधि कम्पनी, उद्योग तथा शैक्षिक संस्थानका प्रतिनिधिहरू सहभागी हुनेछन्। सम्मेलनको उद्देश्य साइबर खतराहरू तथा डिजिटल अनुसन्धानका चुनौतीहरूबारे छलफल गर्नुका साथै साइबर सुरक्षा र डिजिटल विधिविज्ञानको क्षेत्रमा विभिन्न निकायबीच समन्वय तथा क्षमता अभिवृद्धि गर्नु रहेको छ।
नाइलिटका अनुसार, सम्मेलनमा कृत्रिम बुद्धिमत्ता, ब्लकचेन सुरक्षा तथा साइबर गुप्तचरजस्ता उदीयमान प्रविधिहरूको प्रयोगबारे पनि छलफल हुनेछ। यसका लागि साइबर सुरक्षा, डिजिटल विधिविज्ञान, कृत्रिम बुद्धिमत्ता सुरक्षा, महत्त्वपूर्ण पूर्वाधार, साइबर खतरा गुप्तचर, ब्लकचेन तथा क्रिप्टो, ड्रोन तथा इन्टरनेट अफ थिङ्स विधिविज्ञान, डिजिटल प्रमाण, साइबर कानून र क्लाउड सुरक्षालगायत १० वटा विषय निर्धारण गरिएका छन्।
सम्मेलनका क्रममा उद्घाटन सत्र, प्राविधिक तथा व्यावसायिक सत्र, प्यानल छलफल, औद्योगिक प्रदर्शनी तथा ‘साइबर कुस्ती २०२६’ साइबर सुरक्षा एवं कृत्रिम बुद्धिमत्ता ह्याकाथन आयोजना गरिनेछ। प्राविधिक सत्रहरूमा राष्ट्रिय साइबर सुरक्षा, महत्त्वपूर्ण पूर्वाधारको सुरक्षा, साइबर आक्रमणविरुद्धको कारबाही, वित्तीय साइबर अपराध, डिजिटल अनुसन्धान, साइबर खतरासम्बन्धी जानकारी, डिजिटल प्रमाण तथा कानून कार्यान्वयन गर्ने निकायहरूको तयारीजस्ता विषयमा छलफल हुनेछ।
ह्याकाथनका लागि १ हजार ३१ वटा टोलीका ३ हजार ९३ जना सहभागीले दर्ता गराएका छन्। तीमध्ये ९२३ वटा टोलीका २ हजार ७६९ जना सहभागीलाई पहिलो चरणका लागि छनोट गरिएको छ। दोस्रो चरणका लागि ५० वटा र तेस्रो चरणका लागि १० वटा टोली छनोट भएका छन्। तीन चरणमा सञ्चालन हुने यस प्रतियोगितालाई ‘रिभ्यु’, ‘अट्याक’ र ‘डिफेन्ड’ विषयका आधारमा तयार गरिएको छ।
सम्मेलनमा भारतीय साइबर अपराध समन्वय केन्द्र, भारतीय कम्प्युटर आपत्कालीन प्रतिक्रिया टोली, दिल्ली पुलिस, साइबरपीस, मानकीकरण परीक्षण तथा गुणस्तर प्रमाणीकरण निर्देशनालय, सैन्य दूरसञ्चार इन्जिनियरिङ महाविद्यालयलगायत विभिन्न संस्थाहरू ज्ञान साझेदारका रूपमा सहभागी हुनेछन्। त्यस्तै, डिजिटल विधिविज्ञान तथा साइबर सुरक्षा क्षेत्रमा कार्यरत विभिन्न कम्पनीहरू औद्योगिक साझेदारका रूपमा सहभागी हुनेछन्।
सम्मेलनका क्रममा नाइलिट र औद्योगिक साझेदारहरूबीच समझदारीपत्रमा हस्ताक्षर पनि गरिनेछ। यसको उद्देश्य संस्थागत साझेदारी, ज्ञान आदानप्रदान, संयुक्त पहल, अनुसन्धान तथा विकास एवं साइबर सुरक्षा र डिजिटल विधिविज्ञानको क्षेत्रमा क्षमता अभिवृद्धिलाई प्रोत्साहन गर्नु रहेको छ।
नाइलिटको पहिलो राष्ट्रिय सम्मेलन २०२४ मा नागाल्यान्डको कोहिमामा आयोजना गरिएको थियो। यसको दोस्रो संस्करण २०२५ मा असमको गुवाहाटी विश्वविद्यालयमा सम्पन्न भएको थियो। तेस्रो संस्करणमार्फत यस मञ्चलाई राष्ट्रिय स्तरमा थप विस्तार गर्नुका साथै साइबर सुरक्षासँग सम्बन्धित संस्थाहरू तथा विशेषज्ञहरूबीच सहकार्य बढाउने प्रयास गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी