प्रधानमन्त्री नरेन्द्र मोदीको २५ वर्षे नेतृत्वबारे नीति आयोगले पाँच वटा राष्ट्रिय कार्यशाला आयोजना गर्ने
नीति आयोग


- नोभेम्बर २०२६ देखि सेप्टेम्बर २०२७ सम्म सञ्चालन हुने शृङ्खला, पहिलो कार्यशाला १७ नोभेम्बरमा भारत मण्डपममा

नयाँ दिल्ली, १५ नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शासन प्रमुखका रूपमा २५ वर्ष पूरा गरेको अवसरमा नीति आयोगले पाँच वटा राष्ट्रिय कार्यशालाको शृङ्खला आयोजना गर्ने भएको छ। नोभेम्बर २०२६ देखि सेप्टेम्बर २०२७ सम्म सञ्चालन हुने यस शृङ्खलामा नेतृत्व, सुशासन, समावेशी विकास, सभ्यतागत पहिचान तथा विश्वस्तरमा भारतको भूमिकासँग सम्बन्धित अनुभव र उपलब्धिहरूबारे छलफल गरिनेछ। पहिलो कार्यशाला १७ नोभेम्बरमा नयाँ दिल्ली स्थित भारत मण्डपममा आयोजना हुनेछ।

नीति आयोगद्वारा आयोजित यस शृङ्खलाको उद्देश्य गुजरातका मुख्यमन्त्री तथा देशका प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीको २५ वर्षे कार्यकालमा लिइएका महत्त्वपूर्ण निर्णयहरू र तिनका परिणामहरूको अध्ययन गर्नु रहेको छ। यस क्रममा उक्त यात्रासँग सम्बन्धित अधिकारी, संस्था तथा नागरिकहरूका प्रत्यक्ष अनुभवहरू सङ्कलन गरिनेछ। यी अनुभवहरूलाई अध्ययन सामग्री, शोधपत्र तथा केस स्टडीका रूपमा विकसित गरिनेछ, जसबाट सिविल सेवाका अधिकारी, प्रशिक्षण संस्थान, विश्वविद्यालय तथा विद्यार्थीहरूले सिक्ने अवसर प्राप्त गर्न सक्नेछन्।

कार्यशालाहरूमा पाँच वटा प्रमुख विषयमा छलफल हुनेछ। पहिलो कार्यशाला नोभेम्बर २०२६ मा ‘मिशनका रूपमा नेतृत्व’ विषयमा आयोजना हुनेछ। त्यसपछि जनवरी २०२७ मा ‘परिणाममुखी सुशासन’, अप्रेल २०२७ मा ‘समावेशी विकास’, जुलाई २०२७ मा ‘सभ्यतागत पहिचान’ र सेप्टेम्बर २०२७ मा ‘विश्व शक्तिका रूपमा भारत’ विषयमा कार्यशालाहरू आयोजना गरिनेछन्।

पहिलो कार्यशालामा नीति आयोगका प्रमुख कार्यकारी अधिकारी अनुराग जैनले सहभागीहरूलाई स्वागत गर्नेछन्। आयोगका उपाध्यक्ष अशोक कुमार लाहिड़ीले प्रारम्भिक सम्बोधन गर्नेछन्। प्रधानमन्त्रीका प्रधान सचिव डा. पीके मिश्रले उद्घाटन मन्तव्य दिनेछन् भने कोटक महिन्द्रा ब्याङ्कका संस्थापक उदय कोटकले मुख्य वक्तव्य प्रस्तुत गर्नेछन्। नीति आयोगका सदस्य डा. आर. बालासुब्रमण्यमले कार्यशालाको रूपरेखा प्रस्तुत गर्नेछन्।

कार्यशालामा चार वटा महत्त्वपूर्ण अनुभवहरूमा विशेष सत्र आयोजना गरिनेछ। गुजरात सरकारका अतिरिक्त मुख्य सचिव राजीव टोपनोले साल २००१ को भूकम्पपछि कच्छको पुनर्निर्माणसँग सम्बन्धित अनुभवहरू साझा गर्नेछन्। पूर्वकेन्द्रिय स्वास्थ्य सचिव तथा सङ्घ लोक सेवा आयोगकी पूर्वअध्यक्ष प्रीति सूदनले कोभिड-१९ महामारीका क्रममा गरिएका कार्यबारे आफ्ना विचार प्रस्तुत गर्नेछिन्। ग्रामीण विकास मन्त्रालयका पूर्वसचिव शैलेश कुमार सिंहले ‘लखपति दीदी’ योजना सम्बन्धी अनुभव साझा गर्नेछन् भने भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का पूर्वअध्यक्ष डा. एस. सोमनाथले अन्तरिक्ष क्षेत्रलाई निजी क्षेत्रको सहभागिताका लागि खुला गर्ने प्रक्रियासँग सम्बन्धित अनुभव प्रस्तुत गर्नेछन्।

‘विकसित भारतका लागि नेतृत्व’ विषयमा एक परिचर्चा पनि आयोजना गरिनेछ। नीति आयोगका पूर्वप्रमुख कार्यकारी अधिकारी बी.वी.आर. सुब्रह्मण्यमले यसको सञ्चालन गर्नेछन्। यसमा उत्तर प्रदेशका नगर विकास तथा ऊर्जा मन्त्री अरविन्द कुमार शर्मा, भारतीय व्यवस्थापन संस्थान अहमदाबादका प्राध्यापक विशाल गुप्ता, नीति आयोगकी विशिष्ट फेलो देबजानी घोष तथा हरदोईकी संयुक्त मजिस्ट्रेट नारायणी भाटिया सहभागी हुनेछन्।

क्याबिनेट सचिव डा. टी.वी. सोमनाथनले कार्यशालाको समापन गर्नेछन्। यस अवसरमा उनले आईजीओटी कर्मयोगी मञ्चमा ‘कर्मयोगी सङ्कल्प’ को शुरुआत गर्नेछन्। यस अन्तर्गत देशभरिका सरकारी अधिकारीहरूले आफ्नो नेतृत्व कार्यशैलीमा निश्चित परिवर्तन ल्याउने सङ्कल्प लिनेछन्।

यस कार्यशालामा लगभग ९०० जना सहभागी हुने अपेक्षा गरिएको छ। तीमध्ये २५० जनाले प्रत्यक्ष रूपमा विचार-विमर्शमा भाग लिनेछन्। यसमा केन्द्र तथा राज्य सरकारका १५० जना सचिव तथा वरिष्ठ अधिकारी र आकांक्षी जिल्लाका जिल्ला अधिकारीहरू सहभागी हुनेछन्। यस बाहेक प्रमुख शैक्षिक संस्थानका २५ जना विद्यार्थी तथा प्रमुख सरकारी योजनाका ५० जना सामुदायिक साझेदार र लाभार्थीहरूले पनि सहभागिता जनाउनेछन्। कार्यशालाको सम्पूर्ण कारबाही आईजीओटी कर्मयोगी मञ्चमा प्रसारण गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande