
-बागुरुम्बा र झुमुर नृत्यको प्रस्तुतिले मोहित बनाए दर्शक, विभिन्न सरकारी विभागद्वारा योजनासम्बन्धी प्रदर्शनी
बाजाली (असम), १५ नोभेम्बर (हि.स.)। असमको बाजाली जिल्लास्थित बान्धा सिधानी एमई विद्यालयमा आइतबार जनजातीय गौरव दिवस मनाइयो। जनजातीय नेता तथा स्वतन्त्रता सेनानी भगवान बिरसा मुण्डाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा केन्द्रिय बन्दरगाह, जहाजरानी तथा जलमार्ग मन्त्री सर्बानन्द सोनोवाल प्रमुख अतिथिका रूपमा सहभागी बने।
कार्यक्रमलाई सम्बोधन गर्दै सोनोवालले भगवान बिरसा मुण्डाको आदर्श, सङ्घर्ष र बलिदानको स्मरण गरे। उनले बिरसा मुण्डा राष्ट्रका लागि निःस्वार्थ बलिदानको प्रतीक रहेको र उहाँका विचार तथा आदर्श देशवासीका लागि सदैव प्रेरणाको स्रोत बनिरहने बताए।
असम सरकारकी मन्त्री तथा बाजाली जिल्लाकी प्रभारी मन्त्री नीलिमा देवीले पनि बिरसा मुण्डाप्रति श्रद्धाञ्जली अर्पण गरिन्। उनले जनजातीय समुदायको अधिकार तथा राष्ट्रका लागि बिरसा मुण्डाको योगदान र बलिदानको स्मरण गरिन्।
कार्यक्रमका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीको राष्ट्रका नाममा गरिएको सम्बोधनको प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो। यसैबीच, युवा कलाकारहरूले परम्परागत बागुरुम्बा र झुमुर नृत्य प्रस्तुत गरेर समारोहमा सांस्कृतिक रौनक थपे।
सभालाई सम्बोधन गर्दै बाजालीकी जिल्ला आयुक्त मधुमिता भगवतीले जनजातीय गौरव दिवसको महत्त्वमाथि प्रकाश पारिन्। उनले जनजातीय समुदायहरूको समृद्ध विरासत, राष्ट्र निर्माणमा उनीहरूको योगदान तथा परम्परागत संस्कृति र रीतिरिवाजको संरक्षण गर्नुपर्ने आवश्यकतामाथि जोड दिइन्।
हिन्दुस्थान समाचार / भवानी थामी