
नयाँ दिल्ली, १६ नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी १७ नोभेम्बरमा फिलिपिन्सको राजधानी मनिलामा आयोजना हुने २३औँ आसियान-भारत शिखर सम्मेलन तथा २१औँ पूर्वी एसिया शिखर सम्मेलनमा सहभागी हुन आइतबार फिलिपिन्स प्रस्थान गरेका छन्। उनी फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड आर. मार्कोस जुनियरको निमन्त्रणामा त्यहाँ जान लागेका हुन्।
प्रधानमन्त्री कार्यालयका अनुसार, आसियान राष्ट्रहरूसँगको सम्बन्ध भारतको ‘एक्ट इस्ट नीति’ को केन्द्रमा रहेको छ भने भारतको महासागरसम्बन्धी दृष्टिकोणमा पनि यसको महत्त्वपूर्ण स्थान छ। भारत र आसियान राष्ट्रहरूबीचको सम्बन्ध शताब्दीयौँ पुरानो सभ्यतागत आदानप्रदानमा आधारित छ। वर्तमान समयमा यो साझेदारी व्यापार, सम्पर्क, समुद्री सुरक्षा, प्रविधि तथा जनस्तरको सम्बन्धसम्म विस्तार भएको छ।
प्रधानमन्त्री मोदीले आसियान-भारत शिखर सम्मेलनमा व्यापक रणनीतिक साझेदारीको प्रगतिलाई अगाडि बढाउन तथा विकास, सम्पर्क र समृद्धिका साझा लक्ष्यलाई नयाँ गति दिन अन्य नेताहरूसँग मिलेर काम गर्न आफू उत्सुक रहेको बताएका छन्।
उनले पूर्वी एसिया शिखर सम्मेलन क्षेत्रीय तथा विश्वव्यापी चुनौतीहरूबारे संवाद गर्ने महत्त्वपूर्ण मञ्च रहेको उल्लेख गरेका छन्। यस सम्मेलनमा हिन्द-प्रशान्त क्षेत्रमा शान्ति, स्थिरता र सहकार्यलाई सुदृढ बनाउने विषयमा सहभागी राष्ट्रका नेताहरूसँग विचार आदानप्रदान गर्ने उनले बताएका छन्।
यस भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले फिलिपिन्समा बसोबास गर्दै आएका भारतीय समुदायका सदस्यहरूसँग पनि भेटघाट गर्नेछन्।
उनले यस भ्रमणले आसियानसँग भारतको साझेदारीलाई नयाँ ऊर्जा प्रदान गर्नुका साथै शान्तिपूर्ण, समृद्ध र सुदृढ हिन्द-प्रशान्त क्षेत्र निर्माण गर्ने साझा सङ्कल्पलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी