

नयाँ दिल्ली, १६ नोभेम्बर (हि.स.)। डाक विभागले बायोग्यास प्रविधि तथा नवीकरणीय ऊर्जाको क्षेत्रमा अग्रणी योगदान पुर्याउने वैज्ञानिक राम बक्स सिंह (१९२५–२०१६) को सम्मानमा स्मारक डाक टिकट जारी गरेको छ। उक्त टिकट १३ नोभेम्बरमा नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा जारी गरिएको हो।
केन्द्रिय सामाजिक न्याय तथा अधिकारिता राज्यमन्त्री रामदास आठवले र दिल्ली सर्कलका मुख्य पोस्टमास्टर जनरल कर्नेल अखिलेश कुमार पाण्डेयले मन्त्रीको आवासमा आयोजित कार्यक्रममा संयुक्त रूपमा उक्त डाक टिकट जारी गरे। यस अवसरमा अन्य वरिष्ठ विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।
राम बक्स सिंहले विशेषगरी ग्रामीण समुदायका लागि दिगो ऊर्जा समाधानका रूपमा बायोग्यास प्रविधिको विकास तथा विस्तारमा महत्त्वपूर्ण योगदान दिएका थिए। उनले साल १९५७ मा उत्तर प्रदेशको सीतापुरमा देशका प्रारम्भिक सफल गोबर ग्यास प्लान्टमध्ये एकको उद्घाटन गरेका थिए। त्यसपछि उनले उत्तर प्रदेशको अजीतमल स्थित एशियाकै पहिलो गोबर ग्यास अनुसन्धान केन्द्रमा १६ वर्षसम्म प्रभारी अधिकारीका रूपमा कार्य गरे। उनले १५ भन्दा बढ़ी देशमा नवीकरणीय ऊर्जा सम्बन्धी पहलहरूमा समेत योगदान पुर्याए।
उनका कार्यहरूले अन्तरराष्ट्रिय स्तरमा समेत पहिचान पाए। साल १९७५ को अमेरिकी सिनेट प्रतिवेदन तथा ‘मदर अर्थ न्यूज’ जस्ता प्रकाशनहरूमा उनको कार्यको उल्लेख गरिएको थियो। उनले बायोग्यास प्रविधि सम्बन्धी धेरै पुस्तकहरू पनि लेखे। उनको पुस्तक ‘बायोग्यास प्लान्टः जेनेरेटिङ मिथेन फ्रम अर्गानिक वेस्ट्स’ अमेरिकी लाइब्रेरी अफ कंग्रेसको सूचीमा समेत समावेश छ।
उनका अनुसन्धानपत्र तथा व्यावसायिक अभिलेखहरूलाई सेप्टेम्बर २०२३ मा राष्ट्रिय अभिलेखागारले आफ्नो सङ्ग्रहमा समावेश गरेको थियो। यी दस्तावेजहरूलाई ‘अभिलेख पटल’ पोर्टल मार्फत डिजिटल स्वरूप प्रदान गरिएको छ। उनको योगदानलाई राष्ट्रिय शैक्षिक अनुसन्धान तथा प्रशिक्षण परिषदका पाठ्यपुस्तकहरूमा समेत स्थान दिइएको छ।
डाक विभाग अनुसार, स्मारक डाक टिकट मार्फत राम बक्स सिंहको वैज्ञानिक अनुसन्धान, नवीकरणीय ऊर्जा तथा ग्रामीण विकासको क्षेत्रमा रहेको योगदानलाई सम्मान गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी