
नयाँ दिल्ली, १६ नोभेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) ले शनिवार हैदराबादमा आयोजित भारत समिटलाई देशविरोधी गतिविधिसँग जोड्दै कांग्रेस नेता राहुल गान्धीमाथि भारतविरोधी शक्तिहरूलाई एकजुट गर्न तथा अन्तरराष्ट्रिय मञ्चहरूमा देशको छवि बिगार्न लागेको आरोप लगाएको छ।
भाजपाका राष्ट्रिय प्रवक्ता गौरव भाटियाले सोमवार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री हुँदा गुजरातमा लगानी सम्मेलन आयोजना गरिने गरेको बताए। भाजपा शासित राज्यहरूमा पनि लगानी सम्मेलन मार्फत विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्ने र राज्यहरूको आर्थिक क्षमता सुदृढ़ बनाउने प्रयास गरिने गरेको उनले बताए। तर, दुर्भाग्यवश कांग्रेस शासित राज्यहरूमा यस्ता मञ्चहरूको प्रयोग देशहितभन्दा बाहिर गएर अराजकता फैलाउन र भारतलाई अस्थिर बनाउन भइरहेको उनको आरोप थियो।
उनले १४ नोभेम्बरमा हैदराबादमा आयोजित भारत समिट भारत र तेलङ्गानालाई सुदृढ़ बनाउने मञ्च बन्न सक्ने भए पनि यसको प्रयोग देशको छवि बिगार्न गरिएको आरोप लगाए। समिटमा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धी उपस्थित रहँदा पार्टी अफ युरोपियन सोसलिस्ट्सका महासचिव जियाकोमो फिलिबेकले मञ्चबाटै ‘भोट चोर, गद्दी छोड़’ भन्ने नारा लगाएको उनले बताए।
भाटियाले प्रश्न गर्दै भने, जब एक विदेशी नेताले भारतीय लोकतन्त्र र जनादेशको उपहास गरिरहेका थिए, तब राहुल गान्धीले उनलाई रोक्ने प्रयास किन गरेनन्? उनले राहुल गान्धीले भारतको लोकतन्त्र र निर्वाचन प्रक्रिया हाम्रो आन्तरिक मामिला हो र यस विषयमा कुनै विदेशी नेताले टिप्पणी गर्नु हुँदैन भनेर किन नभनेको बताए। बरु राहुल गान्धीले ताली बजाउँदै हाँसेको उनको आरोप थियो।
भाजपा प्रवक्ताले समिटसँग सम्बन्धित एउटा भीडियो क्लिपले भारतीयहरूलाई दुःखी र लज्जित बनाएको बताए। भारतीय लोकतन्त्रबारे विदेशी व्यक्तिले टिप्पणी गरिरहेका बेला राहुल गान्धीले ताली बजाउनु र हाँस्नु अत्यन्त दुर्भाग्यपूर्ण रहेको उनले बताए। केन्द्रिय गृहमन्त्री अमित शाहले पनि देशको भावनालाई स्पष्ट रूपमा व्यक्त गरेको उनले उल्लेख गरे।
भाटियाले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति गहिरो घृणा र लगातार चुनावी पराजयका कारण राहुल गान्धीले आफ्नो राजनीतिक सन्तुलन गुमाउँदै गएको आरोप लगाए। राहुल गान्धी यति कमजोर भइसकेका छन् कि उनी आफ्नै बलमा चुनाउ जित्न सक्दैनन् र उनलाई विदेशी शक्तिहरूको सहयोग आवश्यक परेको छ भन्ने उनको भनाइ थियो। उनले राहुल गान्धीलाई प्रश्न गर्दै जियाकोमो फिलिबेकले भारतको मञ्चबाट दिएको अभिव्यक्तिको समर्थन गर्नुहुन्छ कि हुँदैन भनेर सोधे।
भाटियाले भारतको लोकतन्त्र बलियो रहेको र सधैँ बलियो रहने बताए। देशमा कसको सरकार बन्ने भन्ने निर्णय भारतीय मतदाताले नै गर्ने उनको भनाइ थियो। भारतीय लोकतन्त्रलाई कुनै विदेशी नेताको स्वीकृतिको आवश्यकता नरहेको उनले बताए।
भाजपा प्रवक्ता भाटियाले भारत समिटमा भएको खर्चलाई लिएर पनि प्रश्न उठाए। भारतको छवि बिगार्ने अभिव्यक्तिहरूका लागि सरकारी राजस्वबाट कति रकम खर्च गरिएको हो? समिट आयोजना गर्न कांग्रेसले कति योगदान गरेको हो? भन्ने प्रश्न उनले उठाए। जनताको पैसाबाट आयोजना गरिने कुनै पनि कार्यक्रममा देशहित सर्वोपरि हुनुपर्ने र आयोजकहरूले खर्चको सम्पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने उनले बताए।
हिन्दुस्थान समाचार / भवानी थामी