
गान्तोक, 16 नोभेम्बर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) ले राष्ट्रिय प्रेस दिवस २०२६ को अवसरमा सिक्किमका सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेको छ।
एसडीएफले लोकतन्त्रलाई सुदृढ़ बनाउन प्रेसले पुर्याउँदै आएको अमूल्य योगदानको प्रशंसा गर्दै लोकतान्त्रिक राज्य सञ्चालनमा प्रेसको भूमिका, जिम्मेवारी र स्वतन्त्रता अपरिहार्य रहेको जनाएको छ।
विधानसभामा सरकारको कामकारबाहीमाथि प्रश्न उठाउने, निगरानी गर्ने र जवाफदेही बनाउने प्रभावकारी प्रतिपक्षी नभएको अवस्थामा अन्य लोकतान्त्रिक संस्थाहरूको भूमिका अझ महत्त्वपूर्ण हुने एसडीएफले जनाएको छ। यस्तो परिस्थितिमा लोकतन्त्रका चौथो स्तम्भमध्ये एक प्रेसप्रति जनताको आशा र अपेक्षा स्वाभाविक रूपमा बढ्ने एसडीएफले बताएको छ।
प्रेसको भूमिका घटनाहरूको समाचार सम्प्रेषणमा मात्र सीमित नरहेको उल्लेख गर्दै एसडीएफले विश्वभर सञ्चारमाध्यमले जनमत निर्माण, अन्यायको पर्दाफास, सत्तामा रहेकाहरूलाई जवाफदेही बनाउने तथा लोकतान्त्रिक मूल्य र संस्थाहरूको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जनाएको छ। सिक्किममा पनि प्रेसको यो भूमिकालाई कम आँकलन गर्न नसकिने पार्टीले बताएको छ।
राष्ट्रिय प्रेस दिवसको अवसरमा एसडीएफले सिक्किमका पत्रकार तथा सञ्चारकर्मीहरूलाई बाह्य दबाउ र प्रभावबाट मुक्त रही स्वतन्त्र, निष्पक्ष र निर्भीक रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्न आह्वान गरेको छ। साथै, पत्रकारिताको उच्चतम नैतिकता र व्यावसायिक इमानदारी कायम राख्न पनि अपील गरेको छ।
आफ्नो २५ वर्षे शासनकालमा एसडीएफ सरकारले सिक्किमको सञ्चार क्षेत्रलाई सहयोग र सुदृढ़ बनाउन विभिन्न पहल गरेको पार्टीले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ। एसडीएफले राष्ट्रिय प्रेस दिवस २०२६ मा सम्मानित तथा पुरस्कृत हुने सम्पूर्ण पत्रकारहरूलाई बधाई दिँदै स्वतन्त्र पत्रकारिताको मर्म कायम राख्न, निर्भीक र निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न तथा राज्यको लोकतन्त्र सुदृढ बनाउन निरन्तर महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गरेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल