
गान्तोक, १६ नोभेम्बर (हि.स.)। राष्ट्रिय प्रेस दिवस २०२६ आज गान्तोकस्थित मनन केन्द्रमा मुख्यमन्त्री प्रेमसिंह तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भयो। यस वर्ष राष्ट्रिय प्रेस दिवसको विषय ‘पत्रकारिता: लोकप्रियतावादी कि जिम्मेवार’ रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले राष्ट्रिय प्रेस दिवसको अवसरमा सम्पूर्ण पत्रकार समुदायलाई हार्दिक शुभकामना व्यक्त गरे। साथै, छठ पर्वको पावन अवसरमा पनि शुभकामना दिए।
उनले लोकतान्त्रिक समाजमा पत्रकारिताको महत्त्वमाथि प्रकाश पार्दै सञ्चारमाध्यमलाई सरकारको ऐनाका रूपमा वर्णन गरे। उनले सत्तामा रहेका व्यक्तिहरूका कामकारबाहीको समीक्षा गर्नु, जनताका मुद्दाहरू उठाउनु र सरकारलाई जवाफदेही बनाउनु प्रेसका महत्त्वपूर्ण जिम्मेवारी रहेको बताए।
मुख्यमन्त्रीले वर्तमान सरकारअन्तर्गत सिक्किमका पत्रकारहरूले स्वतन्त्र र सुरक्षित वातावरणमा काम गरिरहेको बताए। उनले प्रेस स्वतन्त्रताप्रति सरकारको प्रतिबद्धता दोहोर्याउँदै कुनै पनि पत्रकार वा सञ्चारमाध्यमलाई समाचार सम्प्रेषण गर्न, आफ्नो विचार व्यक्त गर्न अथवा सरकारसँग प्रश्न गर्न प्रतिबन्ध नलगाइएको स्पष्ट पारे।
पत्रकार समुदायको कल्याणका लागि सरकारले अघि सारेका पहलहरू उल्लेख गर्दै उनले प्रेस क्लब अफ् सिक्किमका लागि स्थायी भवन उपलब्ध गराइएको, पत्रकारहरूको आवतजावत सहज बनाउन १७ सिटे बस प्रदान गरिएको तथा प्रेस क्लबलाई वार्षिक २० लाख रुपियाँ अनुदान उपलब्ध गराइएको जानकारी दिए। यसका साथै, योग्य ज्येष्ठ पत्रकारहरूलाई अनुदानमार्फत मासिक १२ हजार रुपियाँ पेन्सन प्रदान गरिँदै आएको र उपचार तथा व्यक्तिगत एवं पारिवारिक आवश्यकताका लागि पनि सरकारले सहयोग गर्दै आएको उनले बताए।
भारतीय पत्रकारिताको इतिहास र जेम्स अगस्टस हिकी, लोकमान्य तिलक तथा महात्मा गान्धीको योगदानको चर्चा गर्दै मुख्यमन्त्रीले सत्तामा रहेकाहरूसँग प्रश्न गर्नु र जनकल्याणसँग सम्बन्धित विषयहरूलाई उजागर गर्नु पत्रकारिताको आधारभूत जिम्मेवारी रहेको दोहोर्याए। उनले पत्रकारहरूलाई स्वतन्त्र, जिम्मेवार र निर्भीक पत्रकारिताका मूल्य मान्यतालाई कायम राख्न आग्रह गरे।
मुख्यमन्त्रीले पत्रकार समुदायलाई सरकारको निरन्तर सहयोग रहने आश्वासन दिँदै सञ्चारकर्मीहरूको स्वतन्त्रता र सुरक्षाको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा जलवायु परिवर्तन, मानव अधिकार, महिला समस्या तथा ग्रामीण पत्रकारितासम्बन्धी समाचार सम्प्रेषणमा योगदान पुर्याउने विभिन्न पत्रकारिता पुरस्कारका विजेताहरूलाई बधाई दिए। समर्पित सेवाका लागि प्रशंसापत्र प्राप्त गर्ने सूचना तथा जनसम्पर्क विभागका अधिकारीहरूको पनि उनले सराहना गरे।
मुख्यमन्त्रीले २०२७ मा प्रेस क्लब अफ् सिक्किमको स्थापनाको २५ वर्ष पूरा हुन लागेको अवसरमा अग्रिम बधाई दिँदै रजत जयन्ती समारोहका लागि सरकारको सहयोग रहने आश्वासन दिए। उनले पत्रकारहरूलाई जनताको आवाज बनेर लोकतन्त्र र जवाफदेहितालाई सुदृढ बनाउन निरन्तर योगदान पुर्याउन आग्रह गरे।
सूचना तथा जनसम्पर्क विभागका अध्यक्ष श्री अशित राईले उत्तरपूर्वी चलचित्र महोत्सव आयोजना गर्ने प्रस्ताव राखे। उनले उत्तरपूर्वका आठवटै राज्यले पालैपालो आयोजना गर्ने गरी वार्षिक उत्तरपूर्वी चलचित्र महोत्सव शुरु गर्ने बताए। उनले यस प्रस्तावित महोत्सवले क्षेत्रीय चलचित्र, सांस्कृतिक सम्पदा तथा सिर्जनात्मक अर्थतन्त्रलाई प्रवर्द्धन गर्नुका साथै यस क्षेत्रका चलचित्र निर्माताहरूलाई साझा मञ्च उपलब्ध गराउने बताए।
मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङले आफ्नो सम्बोधनमा पत्रकारितामा एक दशक लामो यात्राका क्रममा सहयोग र सहकार्य प्रदान गर्ने सम्पूर्ण पत्रकार समुदायप्रति आभार व्यक्त गरे। पत्रकारिताबाट सार्वजनिक सेवामा प्रवेश गर्दाको अनुभव साझा गर्दै उनले सञ्चारमाध्यम र सरकारबीचको सम्बन्धका दुवै पक्षलाई नजिकबाट अनुभव गर्ने अवसर पाएको बताए।
उनले खेलकुद, कला, मनोरञ्जन, शिक्षा तथा राजनीतिलगायत विभिन्न क्षेत्रमा सिक्किमका युवाहरूलाई प्रोत्साहन गर्ने मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको योगदानको प्रशंसा गरे। मुख्यमन्त्रीलाई सञ्चारमैत्री, सहज पहुँचयोग्य र उत्तरदायी व्यक्तित्वका रूपमा वर्णन गर्दै उनले पत्रकारहरूले उठाउने चुनौतीपूर्ण प्रश्नहरूको जवाफ दिन मुख्यमन्त्रीले देखाउँदै आएको तत्परताको प्रशंसा गरे।
यसै क्रममा उनले हालै जारी गरिएको डिजिटल मिडिया सूचीकृतसम्बन्धी निर्देशिका २०२६ बारे पनि जानकारी दिए। सूचना तथा जनसम्पर्क विभागको पहलमा विगत तीन वर्षदेखि पत्रकार तथा प्रेस सङ्घसंस्थाहरूसँगको परामर्शपछि तयार गरिएको उक्त निर्देशिका नियमन गर्ने माध्यम नभई डिजिटल सञ्चारमाध्यमलाई सक्षम बनाउने रूपरेखा रहेको उनले स्पष्ट पारे। यसले पत्रकारहरूलाई आफ्नै सञ्चार उद्यम स्थापना तथा विकास गर्ने अवसर प्रदान गर्ने उद्देश्य राखेको उनले बताए।
कार्यक्रमको स्वागत मन्तव्य राख्दै सूचना तथा जनसम्पर्क विभागकी सचिव अन्नपूर्ण आलेले राष्ट्रिय प्रेस दिवसको विषयवस्तुमाथि प्रकाश पार्दै उनले विशेषगरी डिजिटल सूचनाको तीव्र प्रसार र भ्रामक सूचनाको बढ्दो चुनौतीका बीच तथ्यपरकता, निष्पक्षता, जवाफदेहिता तथा जिम्मेवार समाचार सम्प्रेषणको महत्त्वमाथि जोड दिइन्।
उनले लोकतन्त्रलाई सुदृढ बनाउन, सामाजिक सद्भाव कायम राख्न तथा सरकार र जनताबीच सेतुको भूमिका निर्वाह गर्न स्थानीय पत्रकारिताको महत्त्वपूर्ण योगदान रहेको बताइन्। विभागीय पहलहरूबारे जानकारी दिँदै उनले सूचना तथा जनसम्पर्क विभाग प्रविधिमैत्री संस्थाका रूपमा विकसित हुँदै सार्वजनिक सञ्चार र सिर्जनात्मक अर्थतन्त्रको विकासमा आफ्नो कार्यक्षेत्र विस्तार गरिरहेको बताइन्।
उनले डिजिटल माध्यम, कृत्रिम बुद्धिमत्तामा आधारित अन्तरक्रिया तथा बहुभाषिक पहुँचमार्फत सरकारी सञ्चार प्रणालीलाई आधुनिक बनाउने विभागका प्रयासहरूबारे पनि जानकारी दिइन्। प्रस्तावित पहलहरूमा दृश्य सामग्री उत्पादनका उपकरणहरूको साझा ब्याङ्क, एकद्वार अनुमति पोर्टल तथा डिजिटल सञ्चारमाध्यम, एनिमेसन, भिजुअल इफेक्ट्स र गेमिङ क्षेत्रमा अवसर सिर्जना गर्ने विषयहरू समावेश छन्।
यस वर्षको विषयवस्तु ‘पत्रकारिता: लोकप्रियतावादी कि जिम्मेवार’ माथि अतिथि वक्ता तथा ओपी जिन्दल ग्लोबल विश्वविद्यालयका सहप्राध्यापक डा. सौरभ शर्माले सम्बोधन गरे। सिक्किम विश्वविद्यालयको जनसञ्चार विभागकी प्रमुख डा. जस्मिन यिमचुङ्गरले ‘शैक्षिक दृष्टिकोणबाट सिक्किमको सञ्चारमाध्यमको परिदृश्य’ विषयमा आफ्नो विचार प्रस्तुत गरिन्।
कार्यक्रममा वरिष्ठ पत्रकार डिल्लीराम दुलाललाई वाईएन भण्डारी उत्कृष्ट पत्रकारिता पुरस्कार २०२६ ले अभिनन्दित गरियो। यसैगरी, पत्रकार सृष्टि प्रधानलाई जलवायु परिवर्तनसम्बन्धी समाचार सम्प्रेषण, जीवन लिम्बूलाई मानव अधिकारसम्बन्धी समाचार सम्प्रेषण र अर्चना प्रधानलाई महिला मुद्दासम्बन्धी समाचार सम्प्रेषणका लागि मुख्यमन्त्री पुरस्कारले सम्मानित गरियो। यसैगरी, समर्पित सेवाका लागि सूचना तथा जनसम्पर्क विभागका कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गरियो।
कार्यक्रममा फास्टेस्ट फास्ट सिक्किमका सम्पादक महेन्द्र सेवाले ग्रामीण पत्रकारिता पुरस्कार २०२६ प्राप्त गरे। उक्त पुरस्कार प्रेस क्लब अफ सिक्किमको तर्फबाट प्रदान गरिएको थियो। पत्रकारहरूलाई मुख्यमन्त्रीको बाहुलीद्वारा सम्मानित गरियो।
यस अवसरमा रचनात्मक सामग्री लेखन प्रतियोगिताका विजेताहरूलाई पनि सम्मान गरियो। यसमा एसआरएम विश्वविद्यालय सिक्किमकी पत्रकारिता तथा जनसञ्चार विषयकी स्नातक विद्यार्थी सृष्टि लोहार तथा नाम्चीस्थित सिक्किम सरकारी महाविद्यालयमा सोही विषय अध्ययनरत गोपाल राई र नारायण शर्माले पुरस्कार प्राप्त गरे।
त्यसैगरी, प्रेसको विकासक्रम, मोबाइल पत्रकारिता तथा बदलिँदो सञ्चारमाध्यमको परिदृश्यलाई विषयवस्तु बनाएर आयोजना गरिएको अनलाइन फोटोग्राफी प्रतियोगितामा प्रथम स्थान शायल गुरुङ, दोस्रो स्थान छुल्टिम वाङ्दी, र तेस्रो स्थान उमेश सुनामले प्राप्त गरे।
कार्यक्रमको शुरुवात वरिष्ठ दिवङ्गत पत्रकार विजय बन्तावाको स्मृतिमा दुई मिनेट मौनधारणबाट गरिएको थियो।
कार्यक्रममा मन्त्रिपरिषद्का सदस्यहरू, विधायकहरू, सल्लाहकारहरू, पुलिस महानिर्देशक, विभिन्न विभागका सचिव तथा प्रमुखहरू, वरिष्ठ अधिकारीहरू, प्रेस क्लब अफ् सिक्किम तथा पत्रकार सङ्घका सदस्यहरू लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / बिशाल