
नयाँ दिल्ली, 16 नोभेम्बर (हि.स.)। प्रगति मैदानमा आयोजित भारत अन्तर्राष्ट्रिय व्यापार मेला (आईआईटीएफ)- मा टिकट दिलाउने नाममा एकजना महिलालाई ठगिएको मामिला प्रकाशमा आएको छ। अभियुक्तले महिलालाई 400 रुपियाँको टिकट दिने बहानामा क्युआर कोड स्क्यान गर्न लगायो अनि उनको खाताबाट 1200 रुपियाँ निकाल्यो। ठगीको लगत्तै महिलाको आइफोन सिङ्क भएर लक भयो। उजुरी प्राप्त भएपछि द्रुत कारबाही गर्दै नयाँ दिल्ली जिल्ला पुलिसले अभियुक्तलाई पक्राउ गरेको छ जसको पहिचान उत्तर-पूर्वी दिल्लीको मौजपुर निवासी मोहम्मद फैसल (38)- को रूपमा भएको छ।
पुलिस अनुसार ती महिला गत नोभेम्बर 15- मा व्यापार मेलामा घुम्न आएकी थिइन्। दिउँसो करिब 1ः30 बजे उनले गेट नम्बर 4 नजिकैको आधिकारिक मोबाइल एप मार्फत अनलाइन टिकट किन्ने प्रयास गरिरहेकी थिइन्। यसै अवधि एकजना व्यक्ति उनी कहाँ आएर 400 रुपियाँमा टिकट दिने प्रस्ताव राख्यो। अभियुक्तले ती महिलालाई क्युआर कोड दिएको थियो। महिलाले कोड स्क्यान गरेसँगै उनको खाताबाट 1200 रुपियाँ भुक्तान भयो।
त्यसको केही समयपछि महिलाको आइफोन सिङ्क हुन थाल्यो र उनले फोन प्रयोग गर्न सकिनन्। उनलाई लगइनको असफल प्रयासको सूचना पनि प्राप्त भयो। आफ्नो पेटीएम खाताबाट 1200 रुपियाँ काटिएको थाहा पाएपछि महिलाले आफू ठगिएको महसूस गरिन्। उनले घटनास्थलमा खैलाबैला मच्चाएर पुलिसलाई जानकारी दिइन्।
सूचना पाएपछि पुलिसको टोली घटनास्थलमा पुग्यो र महिलाको पहिचानको आधारमा अभियुक्तलाई पक्राउ गऱ्यो। यस मामिलामा प्रगति मैदानको आईआईटीएफ पुलिस स्टेशनमा एफआईआर दर्ता गरी अभियुक्तलाई पक्राउ गरियो। पुलिसले भारतीय दण्ड संहिता (बीएनएस)- को धारा 318 (4)/3 (5) अन्तर्गत मुद्दा दर्ता गरेको छ।
सोधपुछमा अभियुक्तले आफू स्क्र्याप डिलरको रूपमा काम गर्ने र आफ्ना एकजना सहयोगीसँग दिल्लीमा आयोजित ठूला कार्यक्रमहरूका लागि अनधिकृत रूपमा टिकट बेच्ने गरेको खुलासा गरेको छ। उसको साथीले विभिन्न कार्यक्रमका लागि टिकटको व्यवस्था गर्थ्यो। त्यसपछि यी जोडीले सजिलै टिकट पाउन नसक्ने मानिसहरूलाई टिकट बेच्ने गर्थ्यो। यसको सट्टा नगद वा अनलाइन भुक्तान लिइन्थ्यो। पुलिस अनुसार केही मामिलामा अभियुक्त र उसको सहयोगीले पैसा लिएपछि टिकट दिँदैनथ्यो।
पुलिस अनुसन्धानमा खुलासा भए अनुसार मोहम्मद फैसल विगतमा पनि ठगीको मुद्दामा संलग्न रहेको छ। । 9 मई, 2026- मा अपराध शाखा थानामा उविरुद्ध एफआईआर. दर्ता गरिएको थियो। पुलिसले अहिले उसको भगौड़ा सहयोगीको पहिचान गर्न र पक्राउ गर्ने प्रयास गरिरहेको छ। अभियुक्तले अहिलेसम्म कति जनालाई यसरी पीडित बनाइसकेको छ भन्ने कुराको पत्तो लगाइरहेको छ। घटनाको अनुसन्धान जारी छ।
--------
/ बिशाल