

पटना, १६ नोभेम्बर (हि.स.)। लोकआस्थाको महापर्व छठ पूजाको चौथो तथा अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यदेवलाई अर्घ्य अर्पण गरेसँगै चारदिने महापर्व सम्पन्न भएको छ। यस अवसरमा पटना, भागलपुर, मुजफ्फरपुर, गयाजी र दरभङ्गासहित बिहारका विभिन्न जिल्लाका छठघाटहरूमा श्रद्धालुहरूको ठूलो भीड लागेको थियो।
महापर्वको अन्तिम दिन राजधानी पटनासहित राज्यका विभिन्न छठघाटहरूमा लाखौँ व्रतालुहरूले विधिपूर्वक पूजा आराधना गरी उदाउँदो सूर्यदेवलाई अर्घ्य अर्पण गरे।
यसै अवसरमा बिहारका मुख्यमन्त्री सम्राट चौधरीले आफ्नो गृहजिल्ला मुंगेरको तारापुरस्थित पैतृक गाउँ लखनपुरमा सोमबार बिहान परिवारका सदस्यहरूसँग परम्परागत विधि-विधानअनुसार उदाउँदो सूर्यदेवलाई अर्घ्य अर्पण गरे। उनले राज्यको सुख, समृद्धि र खुशहालीको कामना गरे।
मुख्यमन्त्रीले परिवारका सदस्यहरूसँग लखनपुर उत्तर टोलस्थित छठघाट पुगेर व्रतालुहरूसँगै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरे। महापर्वको पावन अवसरमा छठका परम्परागत गीत र भक्तिमय वातावरणले सम्पूर्ण क्षेत्र गुञ्जायमान बनेको थियो। उनले घाटमा उपस्थित स्थानीय बासिन्दा तथा श्रद्धालुहरूको अभिवादन स्वीकार गर्दै सबैलाई छठ महापर्वको शुभकामना पनि दिए। त्यसपछि मुख्यमन्त्री सम्राट चौधरीले तारापुर विधानसभा क्षेत्रअन्तर्गत रणगाउँका अधिकांश छठघाटहरूको भ्रमण गरे।
यसैगरी, भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले सोमबार पटनास्थित आफ्नो निवासमा छठ पूजा गरे।
यस अवसरमा उनले भगवान् भास्कर र छठी माताप्रति श्रद्धा व्यक्त गर्दै चार दिनसम्म चल्ने कठिन व्रत कठोर अनुशासन र शारीरिक कष्टका बावजुद सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा आभार व्यक्त गरे।
उनले भने, “म आफ्नो देश र बिहारका जनताको सुख, समृद्धि तथा कल्याणका लागि प्रार्थना गर्दछु। छठी माताको कृपा हामी सबैमाथि सधैँ कायम रहोस्, ताकि प्रत्येक वर्ष यही ऊर्जा र शक्तिका साथ यस महान् पर्वलाई मनाउन सकौँ।”
उनले बिहारबाट स्वच्छता, पवित्रता, शुद्धता र अनुशासनको सन्देश सम्पूर्ण देश तथा विश्वभर फैलिरहेको बताए। छठ महापर्वले बिहारको परम्परा र संस्कृतिलाई विश्वसामु चिनाउने काम गरिरहेको उल्लेख गर्दै उनले ‘छठी माताको जय हो, बिहारको संस्कृतिको जय हो’ भने।
हिन्दुस्थान समाचार / भवानी थामी