
-प्रदेश कङ्ग्रेसले जुबिन गर्गलाई न्याय दिलाउने मागमा आवाज उठायो
- राजीव भवनमा जुबिनको तस्वीरमा पुष्पाञ्जली र माटाका दियोहरू बालियो
-कङ्ग्रेस नेताहरूले उनलाई 'मायाबिनी' गीत गाएर स्मरण गरे
गुवाहाटी, 18 नोभेम्बर (हिस.)। असम र असमिया जनताका रुचिकर कलाकार जुबिन गर्गको जन्मदिन बुधवार गुवाहाटीको असम प्रदेश कङ्ग्रेस कमिटी (एपीसीसी) मुख्यालय राजीव भवनमा मनाइयो। प्रदेश कङ्ग्रेसले आयोजना गरेको समारोहमा कलाकारको चित्रमा पुष्पाञ्जली अर्पण गर्नका साथै माटोको दियो बालेर उनलाई श्रद्धाञ्जली अर्पण गरियो।
कार्यक्रममा पार्टीका सयौं नेता एवं कार्यकर्ताहरूले भाग लिए। तीमध्ये विधायक बेबी बेगम, प्रदेश कङ्ग्रेसका वरिष्ठ नेता तथा महासचिव बिपुल गोगोई, सञ्चार विभागका अध्यक्ष बेदब्रत बोरा, कङ्ग्रेसका वरिष्ठ नेता गुणकान्त गोगोई र मोइनाजन बेगम थिए। यस अवसरमा प्रदेश कङ्ग्रेस कार्यकर्ताहरूले जुबिन गर्गको लोकप्रिय गीत 'मायाबिनी' गाए।
आफ्नो संक्षिप्त सम्बोधनमा महासचिव बिपुल गोगोईले भने, जुबिन गर्गले असमका जनतालाई गहिरो प्रेम गर्थे तथा उनमा देशप्रेमको भावना प्रबल थियो।
यता मिडिया विभागका अध्यक्ष बेदब्रत बोराले जुबिन गर्गलाई न्याय दिलाउनका लागि एकजुट भएर आवाज उठाउने तथा न्याय नपाउञ्जेलसम्म सङ्घर्ष जारी राख्ने आह्वान गरे। राज्य सरकारको आलोचना गर्दै बोराले आरोप लगाए, कमजोर आरोप पत्र दर्ता गरिएको कारणले जुबिन गर्गको हत्याका अभियुक्तहरू एक-एक गरेर जमानत पाउन सफल भए। उनले भने, मुख्यमन्त्रीले घटनालाई हत्याको रूपमा व्याख्या गरे तापनि अभियुक्तले जमानत पाउनुले के दर्शाउँछ भने जुबिन गर्गलाई वर्तमान सरकारबाट न्याय पाउने आशा छैन।
कार्यक्रममा कङ्ग्रेसका अन्य वरिष्ठ नेताहरूले पनि आफ्नो संक्षिप्त सम्बोधनको माध्यमबाट कलाकारलाई याद गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा