उत्तर सिक्किमका हिमतालजन्य जोखिम तथा सम्भावित बाढी न्यूनीकरणका उपायबारे अन्तरविषयक टोलीद्वारा स्थलगत अध्ययन
उत्तर सिक्किमका हिमतालजन्य जोखिम तथा सम्भावित बाढी न्यूनीकरणका उपायबारे अन्तरविषयक टोलीद्वारा स्थलगत अध्ययन


गान्तोक, 18 नोभेम्बर (हि.स.)। केन्द्रिय जल आयोग (सीडब्ल्यूसी) लगायत विभिन्न वैज्ञानिक तथा प्राविधिक संस्थाका अधिकारी र विशेषज्ञहरू सम्मिलित अन्तरविषयक टोलीले उत्तर सिक्किमका हिमतालजन्य जोखिम तथा सम्भावित जोखिम न्यूनीकरणका उपायहरूको मूल्याङ्कन गरिरहेको छ। विशेषगरी हिमताल विस्फोटबाट उत्पन्न हुने आकस्मिक बाढी (जीएलओएफ) को जोखिममा केन्द्रित रहेर टोलीले १६ देखि १९ नोभेम्बर, २०२६ सम्म स्थलगत भ्रमण गरिरहेको हो।

यस टोलीमा केन्द्रिय जल आयोग, केन्द्रिय माटो तथा सामग्री अनुसन्धान केन्द्र (सीएसएमआरएस), राष्ट्रिय जलविज्ञान संस्थान, रुड्की (एनआईएच), केन्द्रिय जल तथा विद्युत् अनुसन्धान केन्द्र (सीडब्ल्यूपीआरएस), भारतीय भूगर्भ सर्वेक्षण (जीएसआई) तथा सिक्किम सरकारको विज्ञान तथा प्रविधि विभागका विशेषज्ञहरू सहभागी छन्।

विभिन्न विषयका विशेषज्ञहरू सम्मिलित यस टोलीमा जलविज्ञान, हिमनदी विज्ञान, जल संरचना तथा इन्जिनियरिङ, भूगर्भ विज्ञान र हिमतालजन्य जोखिमसम्बन्धी प्राविधिक ज्ञान समेटिएको छ।

कार्यक्रमअनुसार, टोली १६ नोभेम्बरमा गान्तोक आइपुगेको थियो भने १७ नोभेम्बरमा लाचेनतर्फ प्रस्थान गरेको थियो।

१८ नोभेम्बरमा टोलीले गुरुडोङमार तालको भ्रमण गरी तालको अवस्थाको मूल्याङ्कन गर्नुका साथै हिमताल विस्फोटबाट उत्पन्न हुन सक्ने बाढीको जोखिम न्यूनीकरणका सम्भावित उपायहरूबारे अध्ययन गरेको छ।

त्यसैगरी, १९ नोभेम्बरमा टोलीले मुगुथाङ हुँदै ल्होनाक उपत्यकास्थित क्षेत्रमा पुगेर हिमतालसँग सम्बन्धित जोखिमहरूको मूल्याङ्कन तथा सम्भावित न्यूनीकरणका उपायहरूको अध्ययन गर्ने कार्यक्रम रहेको छ।

यस स्थलगत अध्ययनको मुख्य उद्देश्य सम्बन्धित स्थलहरूको वास्तविक भौगोलिक तथा प्राकृतिक अवस्थाबारे प्रत्यक्ष जानकारी हासिल गर्नु, हिमतालजन्य जोखिमको प्रकृति बुझ्नु र विभिन्न विषयका विशेषज्ञहरूको प्राविधिक दृष्टिकोणबाट सम्भावित जोखिम न्यूनीकरणका उपायहरूको मूल्याङ्कन गर्नु रहेको छ।विभिन्न विशिष्टीकृत संस्थाका विशेषज्ञहरूको सहभागिताले वैज्ञानिक, प्राविधिक तथा स्थलगत पक्षहरूको व्यापक मूल्याङ्कन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसबाट हिमतालजन्य जोखिम र त्यसको न्यूनीकरणका रणनीतिबारे तथ्यमा आधारित निर्णय लिन मद्दत पुग्ने विश्वास गरिएको छ।यस भ्रमणले हिमाली क्षेत्रमा हिमतालसँग सम्बन्धित जोखिमहरू सम्बोधन गर्न समन्वित वैज्ञानिक तथा प्राविधिक अध्ययन, विभिन्न निकायबीचको सहकार्य र पूर्वतयारीको महत्त्वलाई उजागर गरेको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande