मधुकर ढकालको राजीनामालाई लिएर सीएपी सिक्किमको स्पष्टीकरण
Citizen action party- CAP


गान्तोक, 18 नोभेम्बर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले मधुकर ढकालले पार्टीबाट मई २०२६ मा राजीनामा दिइसकेको र उक्त राजीनामा पार्टीले औपचारिक रूपमा स्वीकार गरिसकेको स्पष्ट पारेको छ।

पार्टी मुख्यालयद्वारा आज जारी प्रेस स्पष्टीकरणअनुसार, ढकालले ९ मई, २०२६ मा राजीनामा पत्र बुझाएका थिए। पार्टीले उक्त राजीनामा स्वीकार गर्दै उनको छोटो कार्यकालमा पार्टीसँग आबद्ध रही पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरेको थियो। साथै, उनको आगामी यात्राको सफलताको कामना पनि गरेको थियो।

तर, ढकालले आज पुनः राजीनामा दिएको खबर सार्वजनिक भएपछि पार्टीले यसले सञ्चारमाध्यम तथा सर्वसाधारणमा उनको पार्टीसँगको सम्बन्धबारे अनावश्यक भ्रम सिर्जना गर्न सक्ने जनाएको छ।

पार्टीले आफ्नो धारणा स्पष्ट पार्दै मई २०२६ मै उनको राजीनामा औपचारिक रूपमा स्वीकार भइसकेकाले अहिले आएको पत्रलाई पुनः नयाँ राजीनामाका रूपमा लिन नमिल्ने बताएको छ। पार्टीसँगको उनको सम्बन्ध यसअघि नै औपचारिक रूपमा समाप्त भइसकेको पनि स्पष्टीकरणमा उल्लेख गरिएको छ।

यस विषयमा थप भ्रम नफैलियोस् भन्नका लागि सञ्चारमाध्यम तथा सर्वसाधारणलाई पार्टीले जारी गरेको स्पष्टीकरणलाई ध्यानमा राख्न र राजीनामासम्बन्धी दोहोरिएका सूचनाका कारण उत्पन्न हुन सक्ने गलत बुझाइबाट बच्न आग्रह गरिएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande