जिल्लापालद्वारा सिरवानी जीपीयूका सरकारी पूर्वाधार तथा सार्वजनिक सुविधाहरूको निरीक्षण
जिल्लापालद्वारा भ्रमण


गान्तोक, 18 नोभेम्बर (हि.स.)। साप्ताहिक स्थलगत निरीक्षण कार्यक्रमअन्तर्गत गान्तोकका जिल्लापाल अगवाने रोहन, आईएएसले आज सिरवानी ग्राम पञ्चायत एकाइ (जीपीयू) को भ्रमण गरी क्षेत्रका महत्त्वपूर्ण सरकारी पूर्वाधार तथा सार्वजनिक सुविधाहरूको अवस्था र सुरक्षाबारे निरीक्षण गरे।

भ्रमणको मुख्य उद्देश्य विद्यालय, एकीकृत बाल विकास सेवा (आईसीडीएस) केन्द्रलगायत अन्य सार्वजनिक सम्पत्तिहरूको पहिचान गर्नुका साथै तिनको सुरक्षा, पहुँचयोग्यता र समग्र अवस्थाको मूल्याङ्कन गर्नु रहेको थियो।

भ्रमणका क्रममा टोलीले सिरवानी माध्यमिक विद्यालय, दोछुम सरकारी कनिष्ठ उच्च विद्यालय, नामगेथाङ आईसीडीएस केन्द्र, साक्योङ-नामगेथाङ सरकारी कनिष्ठ उच्च विद्यालय तथा राब्दाङ–छोटाङ सरकारी प्राथमिक विद्यालयको निरीक्षण गर्‍यो। यस अवसरमा सम्बन्धित अधिकारी तथा स्थानीय प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्दै संस्थाहरूको वर्तमान अवस्था र आवश्यक सुरक्षा उपायहरूबारे समीक्षा गरिएको थियो।

यसैगरी, टोलीले सिरवानीस्थित पुरानो जीभीके क्षेत्रनजिकको झोडाको पनि निरीक्षण गर्‍यो। उक्त क्षेत्रमा भूक्षय रोकथाम तथा आसपासका बस्ती र सार्वजनिक पूर्वाधारको सुरक्षाका लागि आवश्यक तटबन्धन तथा संरक्षणका उपायहरू अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।

स्थलगत निरीक्षणका क्रममा जिल्लापालले पञ्चायत सदस्यहरूलाई आ-आफ्नो क्षेत्रमा सुरक्षा व्यवस्थाको नियमित अनुगमन गर्न तथा जनसुरक्षा सुनिश्चित गर्न निर्देशन दिए। सम्भावित जोखिमप्रति सतर्क रहन, खतराको पहिचान समयमै गर्न र आवश्यक सुधारात्मक कदमका लागि सम्बन्धित विभागहरूसँग समन्वय गर्न पनि पञ्चायत प्रतिनिधिहरूलाई आग्रह गरे।जिल्लापालले यस्ता नियमित स्थलगत भ्रमणले तल्लो तहको अनुगमन प्रणालीलाई सुदृढ बनाउनुका साथै महत्त्वपूर्ण सार्वजनिक पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न र स्थानीय समस्याहरूलाई सम्बन्धित विभागहरूबीचको समयमै समन्वयमार्फत समाधान गर्न मद्दत पुग्ने बताए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande