
गान्तोक, 18 नोभेम्बर (हि.स.)। सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभागले बुधवार गान्तोकस्थित पाल्जोर स्टेडियमको सम्मेलन कक्षमा ‘विकसित भारत युवा नेतृत्व संवाद’ (भीबीवाईएलडी) 2026 अन्तर्गत जिल्लास्तरीय छनोट चरण सफलतापूर्वक सम्पन्न गरेको छ।
छनोट प्रक्रियाको एक भागको रूपमा छनोटमा परेका सहभागीहरूले पावरपोइन्ट प्रस्तुतिमार्फत आफ्ना विचार र दृष्टिकोणहरू प्रस्तुत गरे। यस क्रममा उनीहरूले ‘विकसित भारत’ को लक्ष्य हासिल गर्न आफ्नो परिकल्पना, नवीन सोच र प्रस्तावित योगदानहरू उजागर गरे।
कार्यक्रमको शुरुआत खेलकुद तथा युवा मामिला विभाग (एसवाईएडी)-का सहायक निर्देशक छितेन भोटियाको स्वागत सम्बोधनबाट भयो, जसले विशिष्ट अतिथि, निर्णायक मण्डलीका सदस्य, विभागीय अधिकारी र सहभागीहरूलाई स्वागत गरे।
खेलकुद तथा युवा मामिला विभागका निर्देशक डा. आरबी विश्वकर्माले कार्यक्रमको अध्यक्षता गरे। कार्यक्रममा राज्य नोडल अधिकारी एसबी सुब्बा, विभागीय अधिकारीगण, निर्णायक मण्डलका सदस्य र अनलाइन प्रतिस्पर्धाबाट छनोट भएका सहभागीहरूको उपस्थिति रहेको थियो।
निर्णायक मण्डलका सदस्यहरूले तोकिएको मूल्याङ्कन मापदण्डका आधारमा प्रस्तुतीकरणहरूको मूल्याङ्कन गरे। यस क्रममा विषयवस्तुको गुणस्तर, विचारको स्पष्टता, प्रस्तुति कौशल र समग्र प्रभावकारितालाई ध्यानमा राखिएको थियो।
मूल्याङ्कनपछि छ जना सहभागी राज्यस्तरीय प्रतिस्पर्धाका लागि छनोट भए। उनीहरूले भीबीवाईएलडी 2026 को आगामी चरणमा गान्तोक जिल्लाको प्रतिनिधित्व गर्नेछन्।
यस पहलको उद्देश्य युवाहरूलाई राष्ट्र निर्माणमा सहभागी हुन प्रोत्साहित गर्नु हो। यसले युवाहरूलाई आफ्ना विचार व्यक्त गर्न, नेतृत्व क्षमता प्रदर्शन गर्न तथा देशका विकास प्राथमिकताहरू र भविष्यका आकाङ्क्षाहरूमा संलग्न हुने मञ्च प्रदान गर्दछ।
कार्यक्रमको समापनमा खेलकुद तथा युवा मामिला विभाग (एसवाईएडी)-का उपनिर्देशक (मुख्यालय) नर्बु छिरिङ भोटियाले धन्यवाद ज्ञापन गरे। उनले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग र योगदान पुर्याएकोमा अध्यक्ष, विभागीय अधिकारीगण, निर्णायक मण्डलका सदस्य र सहभागीहरूप्रति आभार व्यक्त गरे।
हिन्दुस्थान समाचार / बिशाल