
डिण्डिगुल, २० नोभेम्बर (हि.स.)। तमिलनाडुको कोडाइकनालमा विवाहपछिको स्वागत समारोह तथा गृह प्रवेश कार्यक्रममा सहभागी भएर फर्किरहेका आफन्तहरू सवार भ्यान १०० फिट गहिरो खोंचमा खसेको छ। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। दुर्घटनापछि पलानी क्षेत्रमा शोकको लहर फैलिएको छ।
डिण्डिगुल जिल्लाको पलानी स्थित मदिना नगर निवासी फूल व्यवसायी मुजीब रहमानकी छोरीको विवाह १५ नोभेम्बरमा कोडाइकनालको मुञ्जिकल निवासी एक युवकसँग भएको थियो। त्यसपछि १९ नोभेम्बरमा कोडाइकनालको मुञ्जिकल नजिकै आयोजित स्वागत समारोह तथा गृह प्रवेश कार्यक्रममा सहभागी भएर परिवारका सदस्यहरू पलानी फर्किरहेका थिए। भ्यानमा पलानीको मदिना नगर, बढ़ी मस्जिद स्ट्रीट तथा उदुमलपेटका गरी कूल १९ जना आफन्त सवार थिए।
यसै क्रममा सवरिकाडु नजिकै चालकले भ्यानमाथिको नियन्त्रण गुमाउँदा गाड़ी लगभग १०० फिट गहिरो खोंचमा पल्टियो। दुर्घटनापछि भ्यानमा सवार व्यक्तिहरू गाड़ीभित्रै फसे।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ पलानी तथा कोडाइकनालका अग्नि नियन्त्रण विभागका कर्मचारी र पुलिस घटनास्थलमा पुगे। स्थानीय बासिन्दाहरूको सहयोगमा खोंचमा ओर्लिएर ठूलो स्तरमा उद्धार अभियान सञ्चालन गरियो।
रातिको समय र घना जंगल भएका कारण उद्धार कार्यमा निकै कठिनाइ सामना गर्नुपर्यो। त्यसका बाबजुद डिण्डिगुलका पुलिस अधीक्षक जयकुमार स्वयं घटनास्थलमा पुगेर उद्धार अभियान तीव्र पार्न निर्देश दिए। अग्निशमन कर्मीहरूले प्रकाशको व्यवस्था गरी घाइतेहरूलाई बाहिर निकाले।
यद्यपि, यस दुर्घटनामा पलानीको बड़ी मस्जिद स्ट्रीट निवासी बेहुलीका हजुरबुबा निजामुद्दीन (७५), काका पर्ने भाइ शेख फरीद र ठूलोबुबा अब्बास (६१) को मृत्यु भएको छ। त्यस्तै, १२ वर्षीय बालक सहित कैयौँ घाइतेहरूलाई उद्धार गरी पलानी सरकारी अस्पतालमा भर्ती गरिएको छ। अन्य तीनदेखि चार जना घाइतेले वरपरका निजी अस्पतालहरूमा उपचार गराइरहेका छन्।
दुर्घटनाबारे जानकारी पाएपछि मृतकका परिवारजन तथा घाइतेका आफन्त सहित सयौँ मानिस पलानी सरकारी अस्पताल पुगे। यसले अस्पताल परिसरमा केही समय खैलाबैलाको वातावरण सिर्जना भएको थियो।
दुर्घटनामा घाइते भएकाहरूको अवस्था बुझ्न डिण्डिगुलका सांसद सच्चिदानन्दम, पलानीका अन्नाद्रमुक विधायक रविमनोहरन तथा तमिलगा वेत्री कषगमका पश्चिमी जिल्ला कार्यकारिणी सदस्य बालन लगायत विभिन्न राजनीतिक दलका पदाधिकारीहरू अस्पताल पुगे। उनीहरूले घाइते तथा उनीहरूका परिवारजनलाई सान्त्वना दिए।
पुलिसले यस सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ। दुर्घटनामा तीन जनाको मृत्यु भएपछि पलानी क्षेत्रमा गहिरो शोक व्याप्त छ।
हिन्दुस्थान समाचार / भवानी थामी