
मदुरै, २० नोभेम्बर (हि.स.)। तमिलनाडुमा ढुङ्गा खानीहरूमा नियम उल्लङ्घन गरी रातो माटो तथा ढुङ्गाको अवैध उत्खनन गरिएको सम्बन्धमा दर्ता मुद्दाको सिलसिलामा द्रविड़ मुनेत्र कषगम (डीएमके) का पूर्वमन्त्री मूर्तिको मदुरै स्थित निवासमा शुक्रवार बिहान पुलिसले छापा मारेको छ।
यसअघिको डीएमके सरकारमा मूर्ति वाणिज्य कर तथा निबन्धन विभागका मन्त्री थिए। मदुरै जिल्लाको अलङ्गानल्लुर र पालामेडु क्षेत्रमा रहेका ढुङ्गा खानीहरूमा निर्धारित सीमाभन्दा बढ़ी रातो माटो तथा ढुङ्गा उत्खनन गरिएको भन्ने उजुरीहरू सार्वजनिक भएका थिए।
यी उजुरीका आधारमा मदुरै जिल्ला अपराध शाखा पुलिसले पूर्वमन्त्री मूर्ति विरुद्ध मुद्दा दर्ता गरेको थियो। यही मुद्दाको सिलसिलामा पुलिसले शुक्रवार बिहान उनको मदुरै स्थित निवासमा अचानक छापा मारेको हो। छापामारीका क्रममा पुलिस अधिकारीहरूले ढुङ्गा खानीको टेन्डरसँग सम्बन्धित कागजात तथा रातो माटो र ढुङ्गा उत्खनन सम्बन्धी अभिलेखहरूको जाँच गरिरहेका छन्।
कारबाहीका क्रममा पूर्वमन्त्रीको निवासबाहिर ठूलो सङ्ख्यामा पुलिसकर्मी तैनाथ गरिएको छ। पुलिसले यस प्रकरणसँग सम्बन्धित कागजात तथा अन्य प्रमाणहरूको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी