सिक्किमका ‘म्याराथन म्यान’ अमर सुब्बा त्र्यम्बकेश्वर पुगे, ५० किलोमिटर दौडमा सहभागी हुने
‘म्याराथन म्यान’ अमर सुब्बा


गान्तोक, २१ नोभेम्बर (हि.स.)। सिक्किमका अमर सुब्बा आज महाराष्ट्रको नासिकस्थित त्र्यम्बकेश्वर पुगेका छन्। उनले भोलि, २२ नोभेम्बरमा आयोजना हुने ‘त्र्यम्बक ट्रेल रन’ को ५० किलोमिटर विधामा चुनौतीपूर्ण दौड पूरा गर्नेछन्।

१२ ज्योतिर्लिङ्गमध्ये एकका रूपमा परिचित त्र्यम्बकेश्वर पवित्र गोदावरी नदीको उद्गमस्थल पनि हो। ब्रह्मगिरि पर्वतशृङ्खलाको काखमा अवस्थित यो क्षेत्र धार्मिक आस्था, ऐतिहासिक महत्त्व र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध छ।

आईटीआरए तथा यूटीएमबीबाट मान्यता प्राप्त ‘त्र्यम्बक अल्ट्रा’ भारतका प्रतिष्ठित ट्रेल दौड प्रतियोगितामध्ये एक हो।

धावक अमर सुब्बा पूर्वोत्तर भारतमा ट्रेल रनिङका अग्रणी खेलाडीमध्ये एक हुन्। उनले २०१६ मा चीनमा आयोजित एसियाली माउन्टेन रनिङ च्याम्पियनसिपमा भारतको प्रतिनिधित्व गरेका थिए। उनले २०१७ मा एभरेस्ट म्याराथन पूरा गर्नुका साथै २०२५ मा यूटीएमबी मलेसियामा पनि भारतको प्रतिनिधित्व गरेका थिए।

उनको यस सहभागितालाई पर्यटनमन्त्री छिरिङ टी. भोटिया, प्रधानाध्यापक जीएस सुब्बा, उद्यमी तथा समाजसेवी दिलहाङ लिम्बू र गान्तोकका भानु रसाइलीले सहयोग गरेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande