
उत्तर दिनाजपुर, २१ नोभेम्बर (हि.स.)। रायगञ्ज थाना क्षेत्रको बोग्राममा माल्दाकी २० वर्षीया कलेज छात्रा नूरताज बानुको रहस्यमय अवस्थामा मृत्यु भएको छ। उनी कालियाचक क्षेत्रकी निवासी तथा स्नातक दोस्रो वर्षकी छात्रा थिइन्। शुक्रवार उनको शव फेला परेको थियो।
पुलिस अनुसार, केही दिनअघि उनी मोहम्मद सामेद अलीसँग घर छाड़ेर गएकी थिइन्। परिवारको दाबी अनुसार, उनीसँग लगभग साढ़े ६ लाख रुपियाँ नगद पनि थियो। उक्त रकम हड़प्ने उद्देश्यले उनलाई लगिएको परिवारले आरोप लगाएको छ।
मृतकका भाइ अनुसार, नूरताज र सामेद अलीबीच प्रेम सम्बन्धपछि विवाह भएको थियो। तर तीन महिनापछि सम्बन्धविच्छेद भएको थियो। हालै उनी पूर्वपतिसँगै नगद रकम लिएर फेरि बेपत्ता भएकी थिइन्। यसबारे कालियाचक थानामा हराएको उजुरी पनि दर्ता गरिएको थियो।
शुक्रवार रायगञ्ज पुलिसले परिवारलाई उनको मृत्युको जानकारी दिएको थियो। परिवारले आरोपी विरुद्ध कड़ा कारबाहीको माग गर्दै रायगञ्ज थानामा लिखित उजुरी दिएको छ।
पुलिसले अस्वाभाविक मृत्युको मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ। रायगञ्ज जिल्ला पुलिस अधीक्षक डा. सोनावाने कुलदीप सुरेशले पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने बताएका छन्। पुलिसले सबै पक्षलाई ध्यानमा राखेर अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी