खरसाङमा बहुउद्देश्यीय भवन निर्माणको मागमा 'बहुउद्देश्यीय रंगशाला निर्माण एंव जीडीएनएस देखरेख समिति खरसाङ' गठन
खरसाङमा बहुउद्देश्यीय भवन निर्माणको मागमा 'बहुउद्देश्यीय रंगशाला निर्माण एंव जीडीएनएस देखरेख समिति खरसाङ' गठन


खरसाङ, 21 नोभेम्बर (हि.स.)। गोर्खा जनपुस्तकालय खरसाङको पहलमा खरसाङमा बहुउद्देश्यीय भवन निर्माण साथै खरसाङमा रहेको गोर्खा दु:ख निवारक सम्मेलन (जीडीएनएस) भवनको जीर्णोद्वारको पहल गर्नको लागि सभा सम्पन्न भएको छ। उक्त सभा गोर्खा जनपुस्तकालय खरसाङका अध्यक्ष आईएन शर्माको अध्यक्षतामा पुस्तकालयको डा पारसमणि प्रधान प्रेक्षागृहमा सम्पन्न भयो।

सभामा खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु उपस्थित रहेका थिए। सभामा उपस्थित विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुले खरसाङको गोर्खा दु:ख निवारक सम्मेलन (जीडीएनएस) भवनको जीर्णोद्वारका साथै खरसाङमा बहुउद्देश्यीय भवन निर्माण गर्नको लागि पहल गर्नु पर्ने माग राखे।

यस क्रममा विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु क्रमैले विनोदप्रकाश शर्मा, विनोद रसाइली, राजेस गजमेर, आशा मुखिया लामा, गोबिन्दसिंह घतानी, सहदेव चामलिङ, सुरेन कटुवाल, मोहनकुमार गुरुङ, दिपक ठटाल 'जलन', प्रकाश प्रधान, रामकृष्ण शर्मा, तिलक शर्मा र सभाध्यक्ष आईएन शर्मा आदिले वक्तव्य राखेका थिए।

वक्ताहरुले खरसाङमा एउटै पनि भनेको जस्तो भवन नरहेको र एउटा बहुउद्देश्यीय रंगशाला निर्माण गरिनु पर्ने आवश्यकता औल्याए। सभामा खरसाङमा बहुउद्देश्यीय भवन निर्माणको पहल साथै खरसाङमा रहेको जीडीएनएस भवनको जीर्णोद्वारको लागि एउटा समिति गठन गरिएको छ। उक्त समितिको नाम 'बहुउद्देश्यीय रंगशाला निर्माण एंव जीडीएनएस देखरेख समिति खरसाङ' राखिएको छ।

समितिमा अध्यक्ष गोविन्दसिंह घतानी, उपाध्यक्षमा प्रकाश प्रधान र सहदेव चामलिङ, मूल सचिव विनोद रसाइली, सह सचिव रामकृष्ण शर्मा र राजेस गजमेर, कोषाध्यक्ष सुरेन कटुवाल, सह कोषाध्यक्षा सविता छेत्री, प्रचार प्रसार सचिव हनोक थापा, सल्लाहकार समितिमा तिलक शर्मा, आईएन शर्मा, आशा मुखिया लामा, बिनोद प्रकाश शर्मा लगायत 14 जनाको कार्यकारी समिति गठन गरिएको छ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande