गान्तोकमा ४९औँ योनेक्स-सनराइज जुनियर राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता भव्य समारोहबीच सम्पन्न
गान्तोकमा ४९औँ योनेक्स-सनराइज जुनियर राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता भव्य समारोहबीच सम्पन्न


गान्तोक, २१ नोभेम्बर (हि.स.)। गान्तोकस्थित पाल्जोर स्टेडियम परिसरको इन्डोर ब्याडमिन्टन हलमा १४ नोभेम्बरदेखि सञ्चालन भइरहेको ४९औँ योनेक्स-सनराइज अन्तरराज्यीय तथा अन्तरक्षेत्रीय जुनियर राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०२६ आज भव्य समापन समारोहका साथ सम्पन्न भएको छ। समापन समारोहमा सिक्किमका राज्यपाल दुष्यन्त कुमार गौतम प्रथम महिला लक्ष्मी गौतमसहित प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

प्रतियोगितामा देशका २८ राज्य र पाँच केन्द्रशासित प्रदेशका ४५० भन्दा बढी खेलाडी तथा १०० जना प्राविधिक अधिकारी सहभागी भएका थिए। राज्यस्तरीय कार्यक्रमका रूपमा आयोजना गरिएको यस प्रतियोगिताले सिक्किमको खेलकुद क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि थपेको खेलकुद तथा युवा मामिला विभागकी सचिव याङछेन डी. तामाङले आफ्नो स्वागत मन्तव्यमा बताइन्।

उनले प्रतियोगितामा १७ जना महिला प्रमुख निर्णायकहरूको टोली सहभागी भएको विषयलाई खेलकुद क्षेत्रमा महिला नेतृत्वको प्रेरणादायी उदाहरणका रूपमा प्रशंसा गरिन्। प्रतियोगिता सफल बनाउन सहयोग पुर्याएकोमा राज्यपाल, मुख्यमन्त्री, भारतीय ब्याडमिन्टन सङ्घ, ब्याडमिन्टन सङ्घ सिक्किमका अध्यक्ष जेकब खालिङ, विभिन्न विभागप्रति आभार व्यक्त गर्दै खेलाडीहरूको अनुशासन र खेलभावनाको प्रशंसा गरिन्। उनले राज्य सरकारले खेल पूर्वाधार सुदृढ गर्दै सिक्किमलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता पनि दोहोर्याइन्।

कार्यक्रममा अन्तरराष्ट्रिय खेलकुदमा देशको गौरव बढाएका प्रख्यात भारतीय धनुर्धरहरू तरुणदीप राई, धीरज बोम्मादेवरा, सिमरनजीत कौर र ओजस प्रवीण देवताले पनि उपस्थिति जनाएका थिए।

प्रतियोगिताको १९ वर्षमुनिको पाँचवटै विधाका फाइनल खेल सम्पन्न भए। पुरुष युगलतर्फ कर्नाटकका पवन एस. र पुनीत एस. ले छत्तीसगढ/मणिपुरका दिव्यांश अग्रवाल र अमरजीत सिंह ख्वैराकपामलाई १६-१४, १५-९ ले पराजित गर्दै उपाधि जिते।

महिला युगलतर्फ कर्नाटक/हरियाणाका दिवा भीमाजैया बी. र बारुनी पार्श्वालले उत्तराखण्डका आन्या बिष्ट र एन्जल पुनेरालाई १०-१५, १५-१२, १५-१२ ले हराउँदै उपाधि हात पारे।मिश्रित युगलतर्फ छत्तीसगढ/तमिलनाडुका दिव्यांश अग्रवाल र वर्णा प्रभुनन्दले कर्नाटकका अमित राज नटराज र सुहिना रोयलाई १५-१२, १५-८ ले पराजित गरे।पुरुष एकलतर्फ तेलङ्गानाका टङ्कारा ज्ञान दत्तु तलासिलाले आफ्नै राज्यका अखिल रेड्डी बोब्बालाई १९-१७, १५-११ ले हराउँदै च्याम्पियन बने। महिला एकलतर्फ कर्नाटककी शाइना मनिमुथुले आफ्नै राज्यकी लक्ष्य राजेशलाई १५-१०, १५-१२ ले पराजित गर्दै उपाधि जितिन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande