
कोलकाता, 21 नोभेम्बर (हि.स.)। चक्रवात 'अकवान' को प्रभावले पश्चिम बङ्गालको आकाशमा शनिलार बादल छाइरहने तथा दक्षिण बङ्गालका केही जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। तथापि दिन बित्दै जाँदा मौसममा केही सुधार आउने अपेक्षा गरिएको छ। मौसम विभागको पूर्वानुमान अनुसार चक्रवातको प्रभावले तटीय एवं दक्षिण बङ्गालका जिल्लाहरूमा बिहानदेखि नै बादल लाग्नको साथै केही ठाउँमा वर्षा हुनसक्छ।
मौसम सम्बन्धी पूर्वानुमान अनुसार शनिवार कोलकातामा 50 देखि 82 प्रतिशत वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। दिउँसोसम्ममा वर्षाको तीव्रता बिस्तारै कम हुने अनुमान गरिएको छ। बादलले भरिएको आकाशको कारण दिनको तापक्रम सामान्यभन्दा कम हुने सम्भावना छ। कोलकातामा अधिकतम तापक्रम 25-26 डिग्री सेल्सियस र न्यूनतम 22-23 डिग्री सेल्सियसको लगभग रहनसक्छ।
उत्तर बङ्गालका जिल्लाहरूमा पनि बिहान हल्का कुहिरो वा बादल लाग्ने सम्भावना छ। जलपाईगुडी र मालदा सहित केही क्षेत्रहरूमा हल्का वर्षा हुने अनुमान छ। यी क्षेत्रहरूमा तापक्रम 22 डिग्री सेल्सियस लगभग रहनसक्छ।
मौसमको पूर्वानुमान मुताविक दक्षिण बङ्गालको आकाश आइतवार, नोभेम्बर 22- देखि बादल हटेर घामिलो हुने सम्भावना छ। चक्रवातको प्रभाव अनि निम्न चाप समाप्त भएपछि उत्तर-पश्चिम दिशाबाट सुख्खा र चिसो हावा चल्न सक्छ। परिणामस्वरूप राती तापक्रम घट्ने र अर्को हप्ताको मध्यदेखि अर्थात मङ्गलवार एवं बुधवारदेखि हल्का चिसोको अनुभव बढ्ने सम्भावना छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा