
गान्तोक, 21 नोभेम्बर (हि.स.)। सिक्किम सरकारको कृषि विभागले कृषकहरूलाई दिगो कृषि अभ्यास, माटोको स्वास्थ्य तथा विभागीय योजनाहरूबारे जानकारी गराउने उद्देश्यले राङ्का जीपीयूअन्तर्गत फेन्जोङमा ‘खेत बचाओ अभियान’ सञ्चालन गरेको छ।
कार्यक्रममा कृषि उपनिर्देशक भरत शर्मा, कृषि निरीक्षक नसरिन थापा, कृषि सहायक तथा अन्य क्षेत्रीय कर्मचारीसहित ४० जना कृषक सहभागी थिए। सहभागीमध्ये २६ जना महिला र १४ जना पुरुष रहेका थिए।
कार्यक्रममा कृषि उपनिर्देशक भरत शर्माले माटोको उर्वराशक्ति र स्वास्थ्यको महत्त्व, प्रधानमन्त्री फसल बीमा योजना, पीएम-किसान तथा कृषि विभागका विभिन्न योजनाहरूबारे जानकारी गराए। उनले यी योजनाबाट प्राप्त हुने लाभबारे प्रकाश पार्दै कृषकहरूलाई उपलब्ध सरकारी सुविधाको प्रभावकारी उपयोग गर्न आग्रह गरे।
कार्यक्रममा जैविक खेतीलाई प्रोत्साहन तथा माटोको उर्वराशक्ति बढाउने उद्देश्यले सहभागी कृषकहरूलाई ‘ग्रिन गोल्ड’ जैविक मल वितरण गरिएको थियो। कृषक तथा क्षेत्रीय कर्मचारीहरूको सक्रिय सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको विभागले जनाएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल