मुख्यमन्त्री तामाङले विश्व मत्स्य दिवसमा ‘मुख्यमन्त्री जलकृषि उत्कृष्टता पुरस्कार’ घोषणा गरे
ps tamang


- छ विधामा वार्षिक पुरस्कार प्रदान गरिने, दिसम्बरमा सिलगढीमा मत्स्य महोत्सव आयोजना हुने

गान्तोक, २१ नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले विश्व मत्स्य दिवसको अवसरमा राज्यका माछापालक किसान, माछा मार्ने समुदाय, मत्स्य सहकारी संस्था, उद्यमी, मत्स्य विभागका कर्मचारी तथा यस क्षेत्रसँग सम्बन्धित सबैलाई शुभकामना दिएका छन्।

मुख्यमन्त्रीले शनिबार जारी आफ्नो सन्देशमा मत्स्यपालन तथा जलकृषिले खाद्य र पोषण सुरक्षा, रोजगारी सिर्जना तथा ग्रामीण जीविकोपार्जनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताएका छन्। चिसो पानीमा माछापालनका लागि अनुकूल वातावरण र प्रशस्त जलस्रोत भएको सिक्किममा इन्द्रेणी ट्राउट माछापालन, स्थानीय माछाका प्रजातिको संरक्षण तथा वैज्ञानिक र दिगो जलकृषिको विकासका लागि ठूलो सम्भावना रहेको उनले उल्लेख गरेका छन्।

उनले आधुनिक प्रविधि, माछाका भुराको सहज उपलब्धता, पूर्वाधार विकास तथा बजार विस्तारमार्फत उत्पादन र किसानको आम्दानी बढाउन सकिने बताउँदै यस क्षेत्रमा युवा, महिला तथा स्थानीय उद्यमीको सहभागितामा जोड दिएका छन्। उनले राज्य सरकारले प्रधानमन्त्री मत्स्य सम्पदा योजना (पीएमएमएसवाई) तथा मुख्यमन्त्री मत्स्य उत्पादन योजनामार्फत मत्स्य पूर्वाधार, उद्यमशीलता, प्रविधि विकास र दिगो आयआर्जनका अवसर विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।

मुख्यमन्त्रीले नदी, खोलानाला तथा जलचर जैविक विविधताको संरक्षणलाई पनि प्राथमिकता दिनुपर्ने बताएका छन्। यस वर्ष मत्स्य विभागले जलपर्यावरण संरक्षण र जनचेतना अभिवृद्धिका लागि नदी सफाई अभियान सञ्चालन गरेको छ। साथै, सिक्किमको मत्स्य क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आगामी दिसम्बर २०२६ मा सिलगढीमा मत्स्य महोत्सव आयोजना गरिने भएको छ। नदी संरक्षण तथा जिम्मेवार माछा मार्ने अभ्यासलाई प्रोत्साहन गर्ने ‘चिरबेरे नदी महोत्सव’ पनि विभागका महत्त्वपूर्ण पहलमध्ये रहेको उनले बताएका छन्।

यसै अवसरमा मुख्यमन्त्रीले मत्स्य क्षेत्रका उत्कृष्ट योगदानकर्तालाई सम्मान गर्न ‘मुख्यमन्त्री जलकृषि उत्कृष्टता पुरस्कार’ शुरु गर्ने घोषणा गरेका छन्। यस वर्षदेखि वार्षिक रूपमा प्रदान गरिने पुरस्कारअन्तर्गत छवटा सम्मान रहनेछन्। जसमा उत्कृष्ट माछापालक किसानका लागि तीनवटा, उत्कृष्ट माछा मार्ने व्यक्तिका लागि एउटा, उत्कृष्ट मत्स्य सहकारी संस्थाका लागि एउटा र उत्कृष्ट विभागीय कर्मचारीका लागि एउटा पुरस्कार समावेश छन्।

यी पुरस्कारले माछापालक किसान, सहकारी संस्था तथा विभागीय कर्मचारीको योगदानको कदर गर्नुका साथै नवीन सोच, स्वस्थ प्रतिस्पर्धा र उत्कृष्ट कार्यशैलीलाई प्रोत्साहन गर्ने मुख्यमन्त्रीले विश्वास व्यक्त गरेका छन्।

उनले सबै सरोकारवालालाई मत्स्य क्षेत्रको दिगो विकास, पर्यावरण संरक्षण तथा जलस्रोतको जिम्मेवार उपयोगका लागि सामूहिक रूपमा काम गर्न आह्वान गर्दै विश्व मत्स्य दिवसको पुनः शुभकामना दिएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande