
सिलगढ़ी, 21 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालमा वाम मोर्चा सरकारको कार्यकालमा सिलगडढ़ी महकुमा अधिनस्थ फाँसीदेवाको लिम्बुटारीमा करिब 70 एकड़ जमीनमा रवीन्द्र भारती विश्वविद्यालयको दोस्रो क्याम्पसको शिलान्यास गरिएको थियो। तर वाम सरकार सत्ताच्युत भएपछि तृणमूल कङ्ग्रेसको सरकारमा यस परियोजनालाई अगाडि बढ़ाउने दिशामा कुनै ठोस पहल भएन। अब राज्यमा नयाँ सरकार गठन भएपछि यस क्याम्पस शुरु गर्ने कार्य तीव्र भएको छ।
हालैमा सिलगढ़ी सङ्गठनात्मक जिल्ला भाजपाका अध्यक्ष अरुण मण्डलले क्याम्पस शुरु गर्ने माग गर्दै मुख्यमन्त्रीलाई पत्र लेखेका थिए। त्यसपछि उनले विधानसभाका अध्यक्ष समक्षपनि यो मुद्दा उठाए। यसै क्रममा शनिवार विधानसभा अध्यक्ष रथिन्द्र बोसले प्रशासनिक अधिकारीहरूसँग लिम्बुटारी पुगेर प्रस्तावित क्याम्पसको निरीक्षण गरे। यस अवसरमा भाजपाका जिल्ला अध्यक्ष अरुण मण्डल पनि उपस्थित थिए।
निरीक्षण अवधि अध्यक्षले क्याम्पसको वर्तमान अवस्था र यसको निर्माणको सम्भावनासित सम्बन्धित रिपोर्ट तयार गरेर चाँड़ोभन्दा चाँड़ो सुम्पिने अधिकारीहरूलाई निर्देश दिए। निरीक्षणपछि रथिन्द्र बोसले रवीन्द्र भारती विश्वविद्यालयका कुलपतिसँग यस सम्बन्धमा कुरा गरिएको र उनले सम्पूर्ण विषयमा जानकारी दिएको बताए। उत्तर बङ्गालमा कला एवं संस्कृतिको समृद्ध परम्परा छ। यहाँ विश्वविद्यालयको दोस्रो क्याम्पस खोलिएपछि यस क्षेत्रका विद्यार्थीहरूले कला, सङ्गीत एवं वाद्ययन्त्रको शिक्षाका लागि कोलकाता जानु पर्दैन।
उनले भने, यो क्याम्पस शुरु गर्न सरकार प्रतिबद्ध छ र चाँड़ै यस दिशामा काम अगाडि बढाइनेछ। यसको स्थापना हुने प्रबल सम्भावना छ। उनले यसलाई उत्तर बङ्गालप्रति वर्षौंदेखि हुँदै आइरहेको उपेक्षालाई हटाउने दिशामा नयाँ सरकारको पहलको उदाहरण बताए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा