
गान्तोक, 21 नोभेम्बर (हि.स.)। सिक्किम सुधार संकल्प यात्राको पाँचौँ वर्षगाँठका अवसरमा सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका अध्यक्ष गणेश के. राईले सुधारमुखी, पारदर्शी तथा नागरिककेन्द्रित राजनीतिक संस्कृतिको विकासप्रति प्रतिबद्धता दोहोर्याएका छन्।
२१ नोभेम्बर, २०२२ मा शुरु भएको यस यात्राको उद्देश्य जनताको आकांक्षा बुझ्ने, सामाजिक चेतना अभिवृद्धि गर्ने तथा सार्वजनिक जीवनमा जिम्मेवार राजनीतिक संस्कृतिको विकास गर्नु रहेको राईले आज जारी आफ्नो सन्देशमा बताएका छन्।
सीएपी अध्यक्षले भने, सुधारको अर्थ राजनीतिक व्यवस्थामा परिवर्तन ल्याउनु मात्र नभई संस्था, नेतृत्व, नीति तथा सामाजिक अभ्यासलाई समय र समाजको आवश्यकताअनुसार निरन्तर परिमार्जन गर्नु हो। यस यात्राबाट विकसित विचार र सिद्धान्तले सिटिजन एक्सन पार्टी, सिक्किमको राजनीतिक आधार निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरेका छन्।
पार्टी सुधारवाद, क्षेत्रीय आकांक्षाको सम्मान, लोकतान्त्रिक सहभागिता, संस्थागत जवाफदेहिता, पारदर्शिता तथा नागरिककेन्द्रित शासन प्रणालीप्रति प्रतिबद्ध रहेको उनले बताएका छन्। उनले क्षेत्रीयताको अर्थ संकीर्ण पहिचान नभई सिक्किमको विशिष्ट सामाजिक, सांस्कृतिक, आर्थिक तथा भौगोलिक पहिचान र जनताको आकांक्षाको सम्मान गर्नु रहेको स्पष्ट पारेका छन्।
साथै लोकतन्त्रलाई निर्वाचनमा मतदान गर्ने प्रक्रियामा मात्र सीमित नराखी शासन तथा निर्णय प्रक्रियामा नागरिकको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। सुधारको वकालत गर्ने राजनीतिक संगठनले आफ्नै कार्यशैली, संरचना र गतिविधिको पनि निरन्तर समीक्षा गर्नुपर्ने उनको भनाइ छ।
यस अवसरमा उनले यात्रामा साथ दिने जनता, आफ्ना विचार र समस्या साझा गर्ने व्यक्तिहरू तथा पार्टीका कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन्। भविष्यमा नैतिक आचरण, लोकतान्त्रिक मूल्य र जनउत्तरदायी सोचमा आधारित राजनीति अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले सुधार संकल्प यात्रा समाजको भविष्य निर्माण गर्ने विचार, संस्था र अभ्यासमा सकारात्मक परिवर्तन ल्याउने निरन्तर अभियान रहेको बताएका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल