
कोलकाता, 21 नोभेम्बर (हि.स.)। यौन उत्पीडनको आरोपमा घेरिएका पश्चिम बङ्गालका पूर्व मन्त्री ब्रत्य बसुले अन्ततः आफ्नो मौनता भङ्ग गरेका छन्। शनिवार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले स्पष्ट पारे, जुन विभागसित सम्बन्धित आरोप लगाइएको छ, त्यसको प्रभारी उनी थिएनन्। त्यो विभाग, पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीसित थियो। प्रश्नवाचक वाक्यमा बासुले भने, जहाँ मेरो हातमा थिएन त्यहाँ म कसरी आफ्नो प्रभाव पार्न सक्छु? त्यस विभागकी मन्त्री पूर्व मुख्यमन्त्री थिइन्।
उल्लेखनीय छ, यो आरोप मुख्यतया राज्यको सूचना तथा संस्कृति विभागविरुद्ध लगाइएको छ। यस विभागमा विभिन्न तहमा कार्यरत तीनजना महिलाहरूले उजुरी गरेका छन्। संयोगवश ममता मुख्यमन्त्री हुँदा ममता ब्यानर्जीले सूचना एवं संस्कृति विभाग सम्हालेकी थिइन् भने इन्द्रनील सेनले वर्ष 2016- देखि विभागका राज्यमन्त्री थिए। इन्द्रनील हाल पूजा-पास भ्रष्टाचार प्रकरणमा पुलिस हिरासतमा छन्।सिकायतमा ब्रत्य बसु, इन्द्रनील सेन लगायत न्यूनतम 30 जना अन्य सरकारी नोकरशाह, अधिकारी एवं कर्मचारीहरूको नाम पनि सामेल छन्।
पत्रकार सम्मेलनमा ब्रत्य बसुले दाबी गरे, सिकायत गर्ने महिलाहरूलाई उनी चिन्दैनन्, न त कहिल्यै देखेकै छन्। उनले भने, अनुचित प्रस्ताव दिनको लागि, कमसेकम आफ्नो अगाडिको व्यक्तिलाई चिन्न आवश्यक छ! उनले थपे, कसैले पनि आरोप लगाउन सक्छ, तर त्यो प्रमाणको अधिनमा हुन्छ। यस मामिलालाई म अदालतमा लिएर गइरहेको छु। मलाई कानुन र न्यायपालिकामाथि पूर्ण विश्वास छ।
यस मामिलामा सम्बन्धित तीनै जना महिलाहरूले बागुइहाटी पुलिस स्टेशनमा शून्य एफआईआर दर्ता गरेका छन् र सम्पूर्ण घटनाको बारेमा राष्ट्रिय महिला आयोग अनि राज्य पुलिस महानिर्देशक (डीजीपी)- लाई लिखित रूपमा सूचित गरेका छन्। उजुरीमा ब्रत्य बसुले विकास भवनमा एउटी महिलालाई उत्पीड़न गरेको आरोप लगाइएको छ। यसमाथि चुनौती दिँदै बासुले दाबी गरे, उनको कार्यकाल अवधि नै उनले विकास भवनमा सीसीटीभी फुटेजलाई सुरक्षित राख्ने निर्देश दिएका थिए। उनले माग गरे, जुन दिन र समय घटन भएको बताइँदैछ, त्यस दिनको फुटेजको जाँच गर्नुपर्छ।
अर्कातिर बागुइहाटी थानामा दर्ता सिकायतको सत्यता र यस पछाड़िको वास्तविक तथ्यहरूको अनुसन्धान गर्नको लागि विधाननगर पुलिस आयुक्तले प्रारम्भिक अनुसन्धान प्रक्रिया शुरु गरेका छन्। पुलिस सूत्र अनुसार उजुरीकर्ताहरूले वर्णन गरेको घटनाको समय र प्रसङ्गको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ। यसका साथै उजुरी पत्रमा नाम उल्लेख भएका सरकारी अधिकारीहरूको भूमिकाको पनि अनुसन्धान भइरहेको छ।
-------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा