विश्व मत्स्य दिवस : सिक्किममा तीन वर्षमा माछा उत्पादन १३५ प्रतिशतले वृद्धि
मन्त्री पुरण गुरुङ


गान्तोक, 21 नोभेम्बर (हि.स.)। सिक्किम सरकारका मत्स्य पालन विभागका मन्त्री पुरण गुरुङले विश्व मत्स्य दिवस २०२६ को अवसरमा राज्यका माछापालक, विभागीय अधिकारी तथा यस क्षेत्रसँग सम्बन्धित सबैलाई शुभकामना व्यक्त गरेका छन्।

मन्त्री गुरुङले आफ्नो सन्देशमा सिक्किममा माछा उत्पादन उल्लेखनीय रूपमा बढेको जानकारी दिएका छन्। उनले २०२२ मा ४५५ मेट्रिक टन रहेको माछा उत्पादन २०२५ मा बढेर १ हजार ७० मेट्रिक टन पुगेको छ जानकारी गराएका छन्। उनले तीन वर्षमा करिब १३५ प्रतिशतको वृद्धि भएको बताए।

उनले यस उपलब्धिको श्रेय राज्य सरकारको पहल, विभागीय अधिकारीहरूको प्रयास तथा माछापालकहरूको सक्रिय सहभागितालाई दिएका छन्। उनले माछाको पौष्टिक महत्त्वबारे जनचेतना फैलाउन विभागले विश्व मत्स्य दिवसका अवसरमा माछा उपभोगसम्बन्धी अभियान सञ्चालन गरिरहेको पनि बताएका छन्। माछामा उच्च गुणस्तरको प्रोटिन, ओमेगा-३, भिटामिन तथा सेलेनियमजस्ता पोषक तत्त्व पाइने भएकाले नियमित सन्तुलित आहारमा माछा समावेश गर्न उनले जनसाधारणलाई आग्रह गरेका छन्।

यसैगरी, मत्स्य उत्पादन वृद्धिसँगै जलचर जैविक विविधताको संरक्षणलाई पनि विभागले प्राथमिकता दिएको उनले उल्लेख गरेका छन्। यसअन्तर्गत नदी सफाई अभियान, परम्परागत त्सेतर अनुष्ठानका क्रममा थाई मागुरजस्ता बाह्य प्रजातिका माछा नदीमा छोड्दा पर्ने पर्यावरणीय असरबारे गुम्बाहरूमा जनचेतना कार्यक्रम तथा चिर्बिरे नदी महोत्सवमार्फत जिम्मेवार माछा मार्ने अभ्यास र नदी संरक्षणलाई प्रोत्साहन गरिँदै आएको छ।

गत वर्षको सफलतापछि यस वर्ष पनि दिसम्बरमा सिलगढीमा मत्स्य महोत्सव आयोजना गरिने उनले जानकारी दिएका छन्। यसबाट सिक्किमका मत्स्य उत्पादनको प्रवर्द्धन, बजार विस्तार तथा स्थानीय माछापालक र उद्यमीका लागि थप अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।

मन्त्रीले मत्स्य क्षेत्रको विकासमा निरन्तर सहयोग र मार्गदर्शन प्रदान गरेकोमा मुख्यमन्त्रीप्रति आभार व्यक्त गर्दै मत्स्यपालनमा उत्कृष्टताका लागि मुख्यमन्त्री पुरस्कार प्राप्त गर्नेहरूलाई बधाई दिएका छन्। साथै युवाहरूलाई मत्स्यपालन तथा जलकृषिलाई उद्यमशीलता र आर्थिक आत्मनिर्भरताको सम्भावनायुक्त क्षेत्रका रूपमा अपनाउन आग्रह गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande