(विशेष) बालेन शाहको दिल्ली यात्रा: पुरानो डोरी, नयाँ आशा
(विशेष) बालेन शाहको दिल्ली यात्रा: पुरानो डोरी, नयाँ आशा


डा. मयंक चतुर्वेदी

भारत र नेपालको सम्बन्ध कूटनीतिक सम्झौता र राजनीतिक समीकरणभन्दा धेरै गहिरो छ। अयोध्याका राम र जनकपुरकी सीता, काशीका विश्वनाथ र काठमाडौंका पशुपतिनाथ, बुद्धको जन्मस्थल लुम्बिनी र भारतको बौद्ध विरासतले दुवै देशलाई यस्तो साझा सांस्कृतिक चेतनामा बाँधेका छन्, जसका जरा शताब्दीयौँ पुराना छन्। खुला सीमा, रोटीबेटीको नाता, गोर्खा सैनिकको साझा सैन्य परम्परा र एकअर्कामा निर्भर अर्थतन्त्रले यो आत्मीयतालाई निरन्तर बलियो बनाउँदै आएका छन्।

वास्तवमा यस्तो पृष्ठभूमिमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन' को २२ नोभेम्बरबाट शुरु भएको यो दुई दिने भारत भ्रमण राजकीय औपचारिकताभन्दा धेरै माथिको छ। बदलिँदो क्षेत्रीय र विश्वव्यापी परिदृश्यमा दुई छिमेकी देशबीचको सम्बन्धलाई नयाँ दिशा दिने यो एउटा सुखद अवसर हो।

युवा नेतृत्व र 'छिमेकी पहिलो' को कूटनीति

नेपालको राजनीतिमा बालेन शाहको उदय एउटा महत्त्वपूर्ण परिवर्तनको प्रतीक हो। पेसाले इन्जिनियर, र्‍यापरका रूपमा चर्चित र काठमाडौंका मेयरका रूपमा आफ्नै पहिचान बनाएका बालेनले परम्परागत राजनीतिक व्यवस्थाभन्दा फरक नयाँ पुस्ताका आकांक्षालाई स्वर दिएका छन्। प्रधानमन्त्री बनेपछिको उनको पहिलो द्विपक्षीय विदेश भ्रमणका लागि भारतको छनोटले आफैँमा महत्त्वपूर्ण सन्देश दिन्छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुँदै गरेको यो भ्रमणमा ३४ सदस्यीय प्रतिनिधिमण्डल सहभागी छ। सोमबार दुवै देशका प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता र विभिन्न सम्झौताको आदानप्रदान हुने सम्भावना छ। ऊर्जा परियोजनाको उद्घाटन र विकास सहयोगसँग सम्बन्धित विषय पनि वार्ताको केन्द्रमा रहनेछन्। भारतका लागि यो नेपालको नयाँ नेतृत्वसँग व्यक्तिगत र संस्थागत विश्वास विकास गर्ने अवसर हो। बालेन सरकारका लागि भने भारतसँगको सम्बन्धलाई व्यावहारिक आर्थिक उपलब्धिसँग जोड्ने यो प्रत्यक्ष पहल हो।

राम-जानकीदेखि पशुपतिनाथ-काशीसम्म आस्थाको सेतु

भारत-नेपाल सम्बन्धको सबैभन्दा बलियो जग साझा धार्मिक र सांस्कृतिक विरासत हो। नेपालको जनकपुरलाई माता सीताको जन्मस्थल र अयोध्यालाई भगवान् श्रीरामको जन्मभूमिका रूपमा दुवै देशका श्रद्धालुले समान श्रद्धाले हेर्छन्। रामायणमा वर्णित विवाह प्रसंगले यी दुई नगरलाई यस्तो सांस्कृतिक सम्बन्ध दिएको छ, जो पुस्तौँदेखि लोकगीत, विवाह परम्परा र धार्मिक अनुष्ठानमा जीवित छ।

त्यसैगरी नेपालको पशुपतिनाथ मन्दिर र भारतको काशी विश्वनाथ मन्दिर शैव परम्पराका दुई महत्त्वपूर्ण केन्द्र हुन्। नेपालको मुक्तिनाथदेखि भारतको बद्रीनाथ, केदारनाथ र अन्य तीर्थस्थलसम्म श्रद्धालुको आवागमनले धार्मिक निकटतालाई फराकिलो बनाएको छ। बौद्ध परम्परामा लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर साझा आध्यात्मिक यात्राका पडाव हुन्।

यी धार्मिक सम्बन्धलाई आर्थिक अवसरसँग जोड्ने व्यापक सम्भावना पनि छ। जनकपुर-अयोध्या रेल सम्पर्क यस दिशामा महत्त्वपूर्ण पहल बन्न सक्छ। करिब ६०४ किलोमिटरको प्रस्तावित साप्ताहिक सेवाले दुवै देशका प्रमुख धार्मिक क्षेत्रलाई जोड्नुका साथै बिहार र उत्तर प्रदेशका सीमावर्ती शहरलाई पनि लाभ पुर्‍याउन सक्छ। यसले श्रद्धालुको आवागमनसँगै होटल, यातायात, भोजन, स्थानीय हस्तकला र पर्यटन व्यवसायलाई प्रोत्साहन दिनेछ।

नेपालको जनकपुरस्थित जानकी मन्दिरमा दैनिक ठूलो संख्यामा श्रद्धालु पुग्ने तथ्यले यस धार्मिक पर्यटनको सम्भावनालाई देखाउँछ। अयोध्या आउने भारतीय श्रद्धालुको सानो हिस्साले मात्र पनि जनकपुर, पशुपतिनाथ र मुक्तिनाथसम्म पुग्न थाले भने नेपालको पर्यटन क्षेत्रले उल्लेखनीय आर्थिक लाभ पाउन सक्छ। धार्मिक पर्यटन दुई देशबीचको सांस्कृतिक कूटनीतिको प्रभावकारी माध्यम पनि बन्न सक्छ।

खुला सीमा र रोटीबेटीको नाता

भारत र नेपालबीचको करिब १,७५१ किलोमिटर लामो खुला सीमा विश्वका अद्वितीय अन्तरराष्ट्रिय सम्बन्धमध्ये एक हो। १९५० को भारत-नेपाल शान्ति तथा मैत्री सन्धिले दुवै देशका नागरिकलाई आवागमन, बसोबास, व्यापार र आर्थिक गतिविधिमा विशेष सुविधा दिएको छ। नेपाली नागरिकले भारतमा रोजगारी र शिक्षाको अवसर पाउँछन्, भने भारतीय नागरिक नेपालमा व्यापार र विभिन्न आर्थिक गतिविधिमा संलग्न छन्।

यस सम्बन्धको वास्तविक शक्ति सीमावर्ती गाउँमा देखिन्छ। बिहार, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल र सिक्किमका अनेकौँ परिवारको सामाजिक र पारिवारिक नाता नेपालका विभिन्न क्षेत्रसँग जोडिएको छ। विवाह सम्बन्ध, पारिवारिक आयोजना, धार्मिक उत्सव र सांस्कृतिक परम्पराले दुवै देशका सीमालाई सामाजिक जीवनमा धेरै हदसम्म अप्रासंगिक बनाइदिएका छन्।

दिल्ली, मुम्बई, देहरादुन, लखनउ र पूर्वोत्तरका अनेक शहरमा नेपाली नागरिक रोजगारी गर्छन्। उनीहरूको परिश्रम भारतको सेवा र निर्माण क्षेत्रको महत्त्वपूर्ण हिस्सा हो। अर्कातर्फ भारतमा काम गर्ने नेपाली नागरिकको आम्दानीले नेपालका परिवारको आर्थिक अवस्था बलियो बनाउँछ। यसरी दुई देशबीचको मानवीय सम्पर्कले कुनै पनि सरकारी सम्झौताभन्दा फराकिलो सामाजिक आधार तयार गर्छ।

गोर्खा सैनिक: साझा बहादुरी र विश्वासको विरासत

भारत र नेपालबीचको सम्बन्धमा सैन्य सहयोगको स्थान पनि अत्यन्त विशिष्ट छ। भारतीय सेनाका गोर्खा रेजिमेन्टहरू दुवै देशको साझा बहादुरी, अनुशासन र विश्वासका प्रतीक हुन्। १९४७ को भारत-नेपाल-बेलायत त्रिपक्षीय सम्झौतापछि नेपाली मूलका युवाका लागि भारतीय सेनामा सेवाको अवसर उपलब्ध रहँदै आएको छ। भारतीय सेनामा गोर्खा सैनिकको वीरताको इतिहास अनेक युद्ध र सैन्य अभियानमा दर्ज छ।

नेपालमा बसोबास गर्ने भारतीय सेनाका पूर्व सैनिक र उनीहरूका परिवारको भारतसँग भावनात्मक सम्बन्ध आज पनि कायम छ। पेन्सन, चिकित्सा सुविधा र पूर्व सैनिकको कल्याणसँग जोडिएका व्यवस्थाले यस सम्बन्धलाई संस्थागत आधार दिएका छन्। नेपालमा भारतीय सेनाका एक लाखभन्दा बढी पूर्व सैनिकको उपस्थितिले यस साझेदारीको व्यापकता देखाउँछ। अर्कातर्फ, अग्निपथ योजना लागू भएपछि गोर्खा भर्ती रोकिनु दुई देशबीच संवेदनशील विषय बनेको थियो। नेपालको चिन्ता चार वर्षको सीमित सेवा अवधि र नियमित सैन्य सेवासँग जोडिएका अनिश्चितताबारे रहँदै आएको छ।

अब अग्निवीरको सेवा अवधि र थप अवसरसम्बन्धी संशोधनको चर्चाले यस विषयमा नयाँ आशा जगाएको छ। चार वर्षको सेवापछि नियमित सेवामा नछानिएका अग्निवीरलाई दुई वर्षको थप सेवाको अवसर दिने प्रस्ताव प्रभावकारी रूपमा लागू भयो भने नेपालका चिन्ता समाधानको बाटो खुल्न सक्छ। बालेनको यस भ्रमणमा यस विषयमा स्पष्टता र सकारात्मक वार्ताले दुवै देशका सैन्य सम्बन्धलाई नयाँ बल दिन सक्छ।

सीमा विवादको चुनौती र कूटनीतिक विवेकको आवश्यकता

भारत र नेपालबीच ऐतिहासिक आत्मीयता भए तापनि केही यस्ता विषय छन्, जसले समय-समयमा सम्बन्धमा तनाव ल्याएका छन्। कालापानी, लिपुलेख र लिम्पियाधुराको सीमा विवाद ती मध्ये सबैभन्दा प्रमुख हो। २०२० मा नेपालले यी क्षेत्रलाई आफ्नो राजनीतिक नक्सामा समावेश गरेको थियो, जसमा भारतले आपत्ति जनायो। भारतले यी क्षेत्रलाई उत्तराखण्डको हिस्सा मान्छ। यस विवादले दुई देशबीचको राजनीतिक संवादलाई प्रभावित गरेको छ। नेपालमा समय-समयमा उठ्ने राष्ट्रवादी भावना र भारतका सुरक्षासम्बन्धी चिन्ताले यो विषयलाई संवेदनशील बनाउँछन्। चीनसँग नेपालको बढ्दो सम्पर्कका सन्दर्भमा पनि भारतले यो सम्पूर्ण घटनाक्रमलाई रणनीतिक दृष्टिले हेर्छ। अहिले दुई देशबीचको सीमाको ठूलो हिस्सा निर्धारण भइसकेको छ। बाँकी विवादित क्षेत्रलाई पनि द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्ने राजनीतिक इच्छाशक्ति देखाउनुपर्नेछ। बालेन सरकारले पनि यस विषयमा द्विपक्षीय समाधानको कुरा गरेको छ। यो सकारात्मक संकेत हो।

आर्थिक निर्भरताबाट विकासको साझेदारीसम्म

यहाँ भन्नैपर्छ कि भारत र नेपालको आर्थिक सम्बन्धको गहिराई व्यापारका तथ्याङ्कबाट स्पष्ट हुन्छ। नेपालका लागि भारत सबैभन्दा ठूलो व्यापारिक साझेदार र प्रमुख पारवहन मार्ग हो। आर्थिक वर्ष २०२५-२६ मा दुवै देशबीच करिब ९.३८ अरब डलरको व्यापार भएको उल्लेखले यो आर्थिक निकटतालाई रेखांकित गर्छ। नेपालको निर्यातको ठूलो हिस्सा भारतीय बजारमा पुग्छ। खाद्य पदार्थ, कृषि उपज, बिजुली, औद्योगिक सामान र दैनिक उपभोग्य वस्तुको व्यापारमा दुवै देश एकअर्कासँग जोडिएका छन्।

नेपालको भौगोलिक अवस्थितिले समुद्री व्यापारका लागि उसलाई भारतका बन्दरगाह र यातायात करिडोरमा निर्भर बनाएको छ। त्यसैले सडक, रेल र सीमा व्यापारसँग जोडिएको पूर्वाधार नेपालको आर्थिक प्रगतिका लागि महत्त्वपूर्ण छ। भारतका लागि पनि नेपालको बजार, लगानीका सम्भावना र हिमाली क्षेत्रमा आर्थिक सहयोगको विशेष महत्त्व छ।

यस साझेदारीको सबैभन्दा उदीयमान क्षेत्र ऊर्जा हो। नेपालका नदीहरूमा जलविद्युत् उत्पादनको अपार क्षमता छ, जबकि भारतलाई स्वच्छ र नवीकरणीय ऊर्जाको बढ्दो आवश्यकता छ। दुई देशबीचको बिजुली व्यापारले यो सम्भावनायुक्त सम्बन्धलाई व्यावहारिक रूप दिन थालेको छ। नेपालले भारतलाई बिजुली निर्यात गरिरहेको छ र आगामी वर्षहरूमा १०,००० मेगावाटसम्म बिजुली आपूर्तिको लक्ष्यले दुवै देशको ऊर्जा साझेदारीलाई नयाँ उचाई दिन सक्छ। पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालगायत अन्य जलविद्युत् परियोजनामा प्रगति भएमा नेपाललाई राजस्व, रोजगारी र औद्योगिक विकासको अवसर मिल्न सक्छ। भारतलाई स्वच्छ ऊर्जा उपलब्ध हुनेछ।

पुनर्निर्माण, हवाई सम्पर्क र विकासका नयाँ सम्भावना

नेपाल प्राकृतिक विपत्तिप्रति संवेदनशील देश हो। भूकम्प, पैह्रो र बाढीजस्ता घटनाले त्यहाँको पूर्वाधार र अर्थतन्त्रलाई प्रभावित गर्दै आएका छन्। २०१५ को विनाशकारी भूकम्पपछि भारतले नेपालको पुनर्निर्माणका लागि एक अरब डलरको सहायता प्रतिबद्धता जनाएको थियो। यस सहयोगले दुई देशबीचको विकास साझेदारीलाई मानवीय आयाम दियो। हालैका दिनमा भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको बाढीले सडक, पुल र जलविद्युत् परियोजनामा पुर्‍याएको क्षतिले पुनर्निर्माणको आवश्यकतालाई फेरि रेखांकित गरेको छ। नेपाललाई यस दिशामा वित्तीय र प्राविधिक सहायताको आवश्यकता छ।

बालेन सरकारका प्राथमिकतामा पुनर्निर्माण र पूर्वाधार विकास समावेश छन्। यस्तो अवस्थामा भारतको तर्फबाट ऋण, अनुदान र प्राविधिक सहयोगबारे सकारात्मक निर्णय नेपालको आर्थिक स्थिरताका लागि महत्त्वपूर्ण हुन सक्छ। हवाई सम्पर्क पनि द्विपक्षीय वार्ताको एउटा महत्त्वपूर्ण विषय हो। नेपाल भैरहवा र पोखराका अन्तरराष्ट्रिय विमानस्थलको अझ प्रभावकारी उपयोग गर्न चाहन्छ। यसका लागि थप हवाई प्रवेश मार्ग आवश्यक छन्। भारतको सहमतिबाट नेपालको पर्यटन र विमानन क्षेत्रले लाभ पाउन सक्छ। भारतीय पर्यटकका लागि पनि नेपाल पुग्न सजिलो हुनेछ। त्यसैगरी सडक, रेल, सीमा एकीकृत जाँच चौकी र व्यापारिक करिडोरको विस्तारले दुई देशको आर्थिक सम्बन्धलाई अझ प्रभावकारी बनाउन सक्छ।

सांस्कृतिक पर्यटनले बढाउनेछ दुई देशको निकटता

भारत र नेपालको सम्बन्धलाई नयाँ आर्थिक उचाई दिन धार्मिक पर्यटनको महत्त्वपूर्ण भूमिका हुन सक्छ। अयोध्या र जनकपुरबीचको प्रस्तावित रेल सम्पर्क यस दिशाको एउटा महत्त्वपूर्ण उदाहरण हो। रामायण सर्किटमार्फत भारतका अयोध्या, चित्रकूट, नासिक, हम्पी र रामेश्वरमजस्ता स्थललाई नेपालको जनकपुरसँग जोड्ने व्यापक सम्भावना छ। त्यसैगरी बौद्ध सर्किटअन्तर्गत लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगरलाई एउटा व्यापक पर्यटन परिपथका रूपमा विकास गर्न सकिन्छ। यसले दुवै देशको धार्मिक पर्यटनलाई अन्तरराष्ट्रिय पहिचान दिनेछ। नेपालको होटल व्यवसाय, स्थानीय यातायात, हस्तकला, भोजन र साना व्यवसायले पनि यसको लाभ पाउनेछन्।

यस पहलको सामाजिक महत्त्व पनि कम छैन। धार्मिक यात्राले मानिसलाई एकअर्काको संस्कृति, भाषा, परम्परा र जीवनशैलीसँग परिचित गराउँछ। जनकपुरमा विवाह पञ्चमीको आयोजना होस् वा अयोध्यामा रामनवमीको उत्सव, दुवै देशका श्रद्धालुको सहभागिताले साझा सांस्कृतिक विरासतलाई जीवन्त बनाइराख्छ।

नयाँ पुस्ताका आकांक्षाअनुरूप सम्बन्धको नयाँ अध्याय

बालेन शाहको नेतृत्वले नेपालको युवा पुस्ताका ती अपेक्षाको प्रतिनिधित्व गर्छ, जसले रोजगारी, सुशासन, आर्थिक अवसर र विकासलाई प्राथमिकता दिन्छन्। यस्तो नेतृत्वसँग भारतले पनि आफ्नो परम्परागत कूटनीतिक दृष्टिकोणमा व्यावहारिकता र दूरदर्शिता समावेश गर्नुपर्नेछ। नेपाललाई ऊर्जा, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधि, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा भारतीय लगानीको आवश्यकता छ। त्यस्तै भारतका लागि नेपालसँगको बलियो आर्थिक साझेदारीले हिमाली क्षेत्रमा स्थिरता र क्षेत्रीय सम्पर्कलाई बढावा दिन सक्छ।

यस भ्रमणमा तीन विषयको विशेष महत्त्व छ। पहिलो, सीमा विवाद र अन्य राजनीतिक मतभिन्नतामा निरन्तर संवाद। दोस्रो, गोर्खा भर्ती, पूर्व सैनिकका हित र परम्परागत सैन्य सहयोगसँग जोडिएका प्रश्नको समाधान। तेस्रो, ऊर्जा, पर्यटन, व्यापार र पुनर्निर्माणका परियोजनालाई ठोस समयबद्ध नतिजासम्म पुर्‍याउनु। यस्तो अवस्थामा भन्नैपर्छ कि भारत र नेपालको मित्रताको वास्तविक शक्ति उनीहरूको साझा विरासतमा छ, जबकि त्यसको भविष्य आपसी विश्वास र आर्थिक साझेदारीमा निर्भर गर्नेछ। बालेन शाहको दिल्ली भ्रमण यो ऐतिहासिक सम्बन्धलाई नयाँ पुस्ताका आकांक्षाअनुरूप अघि बढाउने अवसर हो।

सरकार बदलिन्छन्, राजनीतिक नेतृत्व बदलिन्छ र कूटनीतिक प्राथमिकता पनि समयसँगै बदलिइरहन्छन्, तर पशुपतिनाथदेखि काशीसम्म फैलिएको आस्था, जनकपुरदेखि अयोध्यासम्म जोडिएको राम-जानकीको स्मृति र दुवै देशका परिवारबीच पुस्तौँदेखि चल्दै आएको नाता स्थायी छन्। त्यसैले यी सम्बन्धलाई अघि बढाइरहनु आज दुवै देशको साझा जिम्मेवारी हो। हामी आशा गरौँ, यदि बालेन शाहको यो भ्रमण ऐतिहासिक आत्मीयतालाई आधुनिक विकास, ऊर्जा सहयोग, व्यापार विस्तार र राजनीतिक विश्वासमा बदल्न सफल भयो भने भारत-नेपाल सम्बन्धमा नयाँ अध्यायको सशुरुवात हुनु निश्चित छ। पुरानो डोरीसँग जोडिएका नयाँ आशाको वास्तविक अर्थ पनि यही हो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande