आन्ध्र प्रदेशको ओङ्गोलमा चक्रवात ‘मुरासु’ तटमा ठोक्कियो, २१ उडान रद्द, भारी वर्षाको चेताउनी
आंध्र प्रदेश के ओंगोल शहर में मंगलवार को गंभीर चक्रवाती तूफान 'मुरासु' का जोरदार असर हुआ। तेज हवा चली। फोटो - इंटरनेट मीडिया


सांकेतिक।


ओङ्गोल (आन्ध्र प्रदेश), ०३ नोभेम्बर (हि.स.)। शक्तिशाली चक्रवाती आँधी ‘मुरासु’ मंगलबार मध्यरातपछि करिब १ बजी आन्ध्र प्रदेशको ओङ्गोल नजिक समुद्री तटमा ठोक्किन शुरु भएको छ। यस क्रममा हावाको अधिकतम गति प्रतिघण्टा ११० देखि १२० किलोमिटरसम्म पुगेको छ। चक्रवातको प्रभावले चेन्नई तथा उत्तरी तमिलनाडुका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको छ। यसका कारण विजयवाडा, तिरुपति र विशाखापट्टनम विमानस्थलबाट सञ्चालन हुने कम्तीमा २१ वटा आन्तरिक उडान रद्द गरिएका छन्।

भारतीय मौसम विज्ञान विभागको आधिकारिक बुलेटिनअनुसार, मंगलबार बिहान ३ बजीसम्म चक्रवातको उत्तरी भाग जमिनमा प्रवेश गरिसकेको थियो भने यसको मुख्य सघन बादलयुक्त क्षेत्र पनि तटतर्फ अघि बढिरहेको थियो।

विभागले सामान्य ज्वारभाटाको सतहभन्दा करिब १ देखि १.५ मिटर अग्ला समुद्री छाल उठ्न सक्ने चेतावनी दिएको छ। यसले दक्षिणी आन्ध्र प्रदेशका तटीय क्षेत्रका होचा भूभागमा डुबानको जोखिम बढाउन सक्छ। बापटला, कृष्णा र प्रकाशम जिल्लामा समुद्री छालको प्रभाव सबैभन्दा बढी पर्ने अनुमान गरिएको छ। आगामी १२ घण्टामा दक्षिणी आन्ध्र प्रदेशका तटीय क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ।

चक्रवातको प्रभावले ओङ्गोलको कोथापटनम समुद्री तट क्षेत्रमा भारी वर्षा हुनुका साथै अत्यन्त तीव्र हावा चलिरहेको खबर प्राप्त भएको छ। तटीय क्षेत्रमा हावाहुरीको प्रभाव जारी रहेको छ।

चक्रवात प्रभावित क्षेत्रका बासिन्दाले विद्युत् आपूर्ति अवरुद्ध हुने, रुख ढल्ने, पर्खाल भत्किने, जलजमावलगायतका आपत्कालीन समस्या तथा नागरिक कठिनाइबारे ह्वाट्सएप नम्बर ९५५२३००००९ मा जानकारी गराउन सक्ने व्यवस्था गरिएको छ।

यसका लागि उक्त नम्बरमा ‘Hi’ लेखेर पठाएपछि मेनुबाट ‘Services’ र त्यसपछि ‘Murasu Cyclone Issues’ विकल्प छान्नुपर्नेछ। त्यसपछि ‘Report Issue’ मा गएर पुष्टि गरी ‘Registration’ विकल्पमार्फत आफ्नो नाम, जिल्ला र मण्डललगायत आवश्यक विवरण भर्नुपर्नेछ।

चक्रवातको प्रभावलाई ध्यानमा राख्दै विभिन्न तटीय राज्यमा सतर्कता अपनाइएको छ। मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने तथा राहत र उद्धार कार्यका लागि तयारी तीव्र पारिएको छ। बङ्गालको खाडीमा बनेको चक्रवात ‘मुरासु’ शक्तिशाली बनेपछि ओडिशा सरकारले सोमबारदेखि जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कार्य तीव्र बनाएको छ।

चक्रवातका कारण २ नोभेम्बरमा चेन्नई विमानस्थलबाट आउने र जाने गरी ११ वटा उडान तथा गन्नवरम विमानस्थलबाट इन्डिगोका १० वटा उडान रद्द गरिएका थिए।

चक्रवात तटमा ठोक्किने क्रममा आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले जिल्ला अधिकारीहरूसँग दूरवार्तामार्फत छलफल गरेका थिए। उनले सबै अधिकारीलाई उच्च सतर्कतामा रहन र चक्रवातका कारण मानवीय क्षति हुन नदिन आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

मुख्यमन्त्रीले नेल्लोर, प्रकाशम र कोथापटनमका तटीय क्षेत्रमा वर्षा तथा हावाको तीव्रताबारे जानकारी लिएका थिए। उनले स्वर्ण ग्राम तथा स्वर्ण वार्ड कार्यालयका कर्मचारीलाई चक्रवातसम्बन्धी सूचना तल्लो तहसम्मका बासिन्दालाई समयमै पुर्याउन निर्देशन दिएका छन्।

यसैबीच, चेन्नई, चेंगलपट्टु र तिरुवल्लुर जिल्लाका विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ। आइतबार रातिदेखि नै लगातार वर्षा भइरहेको छ। मौसम विज्ञान विभागले चेन्नई र तिरुवल्लुरमा अत्यधिक वर्षाको चेताउनी दिएको छ भने चेंगलपट्टु, काञ्चीपुरम, रानीपेट, भेल्लोर र नीलगिरि जिल्लामा भारी वर्षा हुने अनुमान गरेको छ।

आन्ध्र प्रदेशमा सम्भावित क्षति न्यूनीकरण गर्न ऊर्जा विभागले विद्युत् वितरण कम्पनीहरूलाई उच्च सतर्कतामा राखेको छ। पूर्वाधारमा हुन सक्ने क्षति कम गर्न आवश्यक सावधानीका उपाय अपनाइएको अधिकारीहरूले बताएका छन्।

छिमेकी राज्यलाई सहयोग पुर्याउन तमिलनाडुले राष्ट्रिय आपदा प्रतिकार्य बलका ९० जना सुरक्षाकर्मीसहित तीन टोली तथा विद्युत् विभागका ५०० कर्मचारीसहित २५ टोली पठाएको छ। कर्नाटकले पनि ५०० जना दक्ष विद्युत् कर्मचारी र आवश्यक उपकरण पठाउने घोषणा गरेको छ।

चक्रवातका कारण ओडिशाका दक्षिणी जिल्लाहरू गञ्जाम, गजपति, रायगडा, कोरापुट र मलकानगिरीमा भारी वर्षा हुने सम्भावना रहेको छ। आपदा प्रबन्धन मन्त्री सुरेश पुजारीले सम्बन्धित जिल्लाका जिल्ला अधिकारीहरूलाई सतर्क गराइएको जानकारी दिएका छन्। दक्षिणी ओडिशाका केही जिल्लामा ३ नोभेम्बरसम्म विद्यालय तथा महाविद्यालय बन्द गरिएको छ।

यसअघि आइतबार बङ्गालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणाली चक्रवात ‘मुरासु’ मा परिणत भएको थियो। ‘मुरासु’ शब्दको अर्थ ‘युद्धको नगाड़ा’ हो। भारतीय मौसम विज्ञान विभागले यो चक्रवात ३ नोभेम्बरको बिहान आन्ध्र प्रदेशको ओङ्गोल नजिक नेल्लोर र नरसापुरबीचको क्षेत्रमा समुद्री तटमा ठोक्किने पूर्वानुमान गरेको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande