बंगालका युवाले ३० सेकेन्डमै रक्तस्राव रोक्ने पाउडर बनाए, युवा वैज्ञानिक सिङ्गापुरमा सम्मानित
ग्रैंड विजेता साबिर हुसैन


कोलकाता, ०३ नोभेम्बर (हि.स.)। पूर्व बर्दवान जिल्लाको खण्डघोषस्थित बादुलिया गाउँका युवा वैज्ञानिक साबिर हुसेनले आफ्नो नवीन आविष्कारमार्फत अन्तरराष्ट्रिय स्तरमा राज्य र देशको नाम उज्ज्वल बनाएका छन्। उनले विकास गरेको विशेष पाउडर ‘स्टप ब्लिड’ ले केवल ३० सेकेन्डमै रक्तस्राव रोक्न सक्ने बताइएको छ। यस आविष्कारले २९ अक्टोबर, २०२६ मा सिङ्गापुरमा आयोजित अन्तरराष्ट्रिय ‘स्लिङसट २०२६’ प्रतियोगितामा ठूलो सफलता हासिल गरेको छ। उक्त प्रतियोगितामा साबिर हुसेनलाई सर्वोच्च विजेता घोषित गरियो।

स्वास्थ्य तथा जैवचिकित्सा विधाअन्तर्गत साबिरको स्टार्टअप ‘मिराक्युलस’ ले पहिलो स्थान हासिल गर्दै सर्वोच्च विजेताको उपाधि प्राप्त गरेको हो। यससँगै उनको कम्पनीले चार लाख सिङ्गापुर डलरको अनुदान रकमसमेत प्राप्त गरेको छ।

यो स्टार्टअप राउरकेलास्थित राष्ट्रिय प्रविधि संस्थान (एनआईटी) को जैवप्रविधि तथा चिकित्सा इञ्जिनियरिङ विभागको सहकार्यमा सञ्चालन भइरहेको छ। प्राध्यापक देवेन्द्र वर्माको मार्गदर्शनमा उक्त विशेष पाउडर विकास गरिएको हो। यसको उद्देश्य दुर्घटना, चोटपटक तथा आपत्कालीन अवस्थामा हुने रक्तस्रावलाई छिटो नियन्त्रण गर्नु रहेको छ।

साबिर हुसेनको यस आविष्कारले यसअघि पनि राष्ट्रिय स्तरमा पहिचान प्राप्त गरिसकेको छ। करिब सात वर्षअघि २०१९ मा दिल्लीस्थित रक्षा अनुसन्धान तथा विकास सङ्गठन (डीआरडीओ) भवनमा उनलाई यस नवप्रवर्तनका लागि सम्मानित गरिएको थियो। त्यसबेला केन्द्रिय मन्त्री राजनाथ सिंहले उनलाई प्रशंसापत्र प्रदान गरेका थिए।

साबिरले आफ्नो प्रारम्भिक शिक्षा खण्डघोषको एक विद्यालयबाट पूरा गरेका थिए। त्यसपछि उनले बर्दवानबाट उच्च माध्यमिक परीक्षा उत्तीर्ण गरे। उनले कोलकाताको एक महाविद्यालयबाट बीटेक र एनआईटी राउरकेलाबाट जैवचिकित्सा विषयमा एमटेकको उपाधि हासिल गरेका छन्।

उनले विकास गरेको ‘स्टप ब्लिड’ पाउडरले केन्द्रिय औषधि मानक नियन्त्रण सङ्गठन (सीडीएससीओ) बाट स्वीकृतिसमेत प्राप्त गरिसकेको छ। हालसम्म २५० भन्दा बढी अस्पताल तथा कैयौँ सैन्य एकाइहरूमा यस प्रविधिको प्रयोग भइसकेको छ।

सिङ्गापुरमा प्राप्त यस अन्तरराष्ट्रिय सफलतापछि एनआईटी प्रशासनले पनि साबिर हुसेनलाई बधाई दिएको छ। एउटा सानो गाउँबाट अघि बढेर वैज्ञानिक आविष्कारका माध्यमबाट अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल साबिरको उपलब्धि पश्चिम बङ्गालका युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande