
गुवाहाटी, 06 नोभेम्बर (हि.स.)। डा. भूपेन हजारिकाको जन्म शताब्दी समारोहको भव्य समापन समारोहमा सहभागी हुन चाहनेहरूका लागि असम सरकारले अनलाइन पञ्जीकरण पोर्टल लञ्च गरेको छ। यो कार्यक्रम आउँदो नोभेम्बर 29 मा नयाँ दिल्लीको भारत मण्डपममा आयोजना हुनेछ।
मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले शुक्रवार दिसपुरको लोकसेवा भवनमा आयोजित पत्रकार सम्मेलनमा भूपेन हजारिकाको शताब्दी समारोह पोर्टल लञ्च गरे। पञ्जीकरणको प्रक्रिया नोभेम्बर 28 सम्म खुला रहनेछ भने आवेदकहरूले नोभेम्बर 12- देखि आफ्नो पञ्जीकृत पास डाउनलोड गर्न सक्नेछन्।
घोषित व्यवस्था अनुसार पञ्जीकरण प्रक्रियाको एक भागको रूपमा आवेदकहरूको पृष्ठभूमि प्रमाणिकरण गरिनेछ। समापन समारोह भारत सरकार र असम सरकारले संयुक्त रूपमा आयोजना गर्नेछ जसमा प्रधानमन्त्री नरेन्द्र मोदी मुख्य अतिथिका रूपमा उपस्थित हुनेछन्।
समारोहमा प्रख्यात गायिका उषा मङ्गेशकरलाई 'डा. भूपेन हजारिका पुरस्कार' प्रदान गरिनेछ। कार्यक्रममा श्रेया घोषाल, शङ्कर महादेवन, अङ्गराग 'पापोन' महन्त, कविता कृष्णमूर्ति, एल सुब्रमण्यम एवं महालक्ष्मी अय्यर जस्ता प्रख्यात कलाकारहरूले प्रस्तुति दिनेछन्।
यसबाहेक असमका तराली शर्मा, मौसमी सहारिया, आनन्दिता पल, जुबली बरुवा, नाहिद आफरिन, शङ्कुराज कोँवर, रूपम भुइयाँ, दिक्शु शर्मा, डावर हजारिका, मयूर हजारिका एवं अचुर्य बोरपात्र जस्ता प्रख्यात कलाकारहरूले पनि भाग लिनेछन्।
अर्को महत्त्वपूर्ण पहल अन्तर्गत असम सरकारले राज्यका लगभग 1,000 विद्यार्थीहरूको सहभागिता सुनिश्चित गर्नेछ। नयाँ दिल्लीमा हुने कार्यक्रममा सहभागी हुन असमका विभिन्न कलेजहरूबाट सांस्कृतिक गतिविधिहरूमा रुचि राख्ने विद्यार्थीहरूको चयन गरिनेछ।
आगामी 29 नोभेम्बर हुन गइरहेको सो समारोह डा. भूपेन हजारिका एवं सङ्गीत, संस्कृति तथा समाजमा उनको अमूल्य योगदानको सम्मानमा आयोजित शताब्दी समारोहको समापन कार्यक्रम हुनेछ।
--------
/ बिशाल